काठमाडौं: कञ्चनपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच झडप भएको छ। साविकको एमाले रहेको पार्टी कार्यालयमा प्रचण्ड र नेपाल समूहले विस्तारित बैठक बोलाएपछि ओली समूहले अवरोध गरेको थियो।
ओली समूहले पार्टी कार्यालय प्रयोग हुन नदिन मुख्य गेट र कार्यालयमा तालासमेत लगाएका थिए। प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता मुख्य गेटको ताल तोडेर भित्र प्रवेश गरेपछि झडपको स्थिति सिर्जना भएको घटनास्थलमा रहेका पत्रकार मोहन विष्टले जानकारी दिए।
कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमर बहादुर थापाले पनि सामान्य झडप भएको जानकारी दिए। ‘सामान्य धकेलाधकेल भएको हो। असहज परिस्थितिमा कार्यक्रम नगर्ने भनेर समझदारी भएको छ। अहिले स्थिति सामान्य हुँदैछ,’ घटनास्थलमा आफै खटिएका थापाले भने। थापाका अनुसार कार्यालयमा लगाएको ताला समझदारीपछि ओली समूहले आफै खोलेको छ।
दुई पक्षबीच झडप भएपछि नेकपा सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ पार्टी कार्यालय पुगेका थिए।
पार्टी कार्यालयमा झडप भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रचण्ड नेपाल समूहले बोलाएको विस्तारित बैठकका लागि नेकपाका जिल्ला सचिवसमेत रहेका तामाङसहित पूर्वमन्त्री उर्वादत्त पन्त, संविधानसभा सदस्य टिकेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्यहरु लाल बहादुर खड्का, प्रकाश राजव, मानबहादुर सुनार, कुलबीर चौधरी, नेताहरु ईश्वरीप्रसाद खरेल, रण बहादुर महरा लगायतका स्थानीय तहका जनप्रतिनिधि कार्यालय पुगेका थिए।
बैठक बस्न नपाएपछि पूर्वमन्त्री पन्तले लोकतन्त्रमा सडकमा त आउन पाइन्छ भने आफैंले बनाएको कार्यालयमा बैठक किन बस्न नपाउने भनी प्रश्न गरे। उनले निषेधको राजनीति नगर्न सबैलाई आह्वान गरे।
सबै तस्बिर : लक्ष्मण तिवारी ।
