PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

राष्ट्रिय उद्धार कार्यक्रम : प्रदेश १ बाट २ सय ५४ जना बेसहारा आश्रममा, ७ जनाको पारिवारिक मिलन



फूलमाया पुरी

राष्ट्रिय उद्धार कार्यक्रम : प्रदेश १ बाट २ सय ५४ जना बेसहारा आश्रममा, ७ जनाको पारिवारिक मिलन

विराटनगर: प्रदेश १ को तीन जिल्लाबाट २ सय ५४ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरिएको छ। सामाजिक विकास मन्त्रालयको नेतृत्वमा स्थानीय तहको समन्वय र मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो।

सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा २०७८ अभियान अन्तगर्तको मेची महाकाली यात्रामा पहिलो चरणमा प्रदेश १ मा गरिएको हो। सोही अनुसार गत बिहिवार झापा जिल्लाबाट ७६ जना सडकमा आश्रित व्यक्तिहरुको उद्धार गरिएको थियो। साथै उक्त दिन झापा जिल्लालाई सडक मानव मुक्त जिल्ला घोषणा पनि गरिएको थियो।

त्यस्तै शुक्रवार सुनसरीबाट र आइतवार मोरङबाट सहयोगापेक्षी सडक आश्रितहरुको उद्धार गरिएको छ। जसको व्यवस्थापन मानवसेवा आश्रम विराटनगरले गरेको छ।

झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडकआश्रित मानवहरु अब सडकमा नदेखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। सडक मानवको उद्धारकार्य अत्यन्तै जटिल भएको उनको भनाई छ।

प्रदेश सरकारले आगामी बैशाख भित्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिसकिने उनको दावी छ। ‘प्रदेश सरकारले मानवसेवा आश्रम, स्थानीय तहसँगको सहकार्यमा उद्धार कार्य निरन्तर रुपमा गर्दै आएको छ’, उनले भने।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मानवसेवा आश्रमको अभियानका कारण सडक आश्रितहरुको व्यवस्थापनमा सहज भएको बताए।

शारीरिक मानसिक रुपले विक्षिप्त भएकाहरुको उद्धार कार्य मानव जीवनकै सर्वोत्तम कार्य भएको उनको भनाई छ।

पराजुलीका अनुसार बेसहारा मुक्त पाटीपौवा मठमन्दिर सडक र राष्ट्र निर्माणका लागि सहयोगापेक्षी सडक मानव मुक्त मेची महाकाली यात्रा शुरुवात भएको उनले बताए।

विराटनगरका चोक र मन्दिर अगाडि बसेर मागेरै जीवन बिताउन बाध्य भएकहरु

मेचीबाट शुरु भएको अभियान महाकालीमा माघ ७ गते सम्पन्न हुने मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

प्रदेश १ सरकारले मानवसेवा आश्रमको यस किसिमको कार्यलाई लिएको अपनत्व र विराटनगर महानगरपालिका लगायतका सबै पालिकाहरुले खेलेको समन्वयकारी भूमिकाप्रति उनले धन्यवाद ज्ञापन गरे।

अधिकारीका अनुसार विराटनगर महानगरपालिकामा अवस्थित आश्रमका दुई वटा सेन्टरको घरभाडा महानगरपालिकाले तिर्दै आएको छ।

आगामी २०८२ भित्रमा नेपाललाई शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भइ खुला आकाशमुनी रात विताउन विवश घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरु रहित राष्ट्र नेपाल निर्माण गरिनेउद्देश्य रहेको उनको भनाइ छ।

बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले सडकमा बेसहारा, असहायहरु अवदेखि नहुने र त्यसका लागि स्थानीय सरकार निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन्।

मानव सेवा आश्रमले  पुस ७ गतेदेखि शुरु भएको मेची/महाकाली अभियानमा झापाबाट ७६, सुनसरीबाट १११ र मोरङबाट ६७ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालय, सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन्। उद्धार गरिएका मध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति रहेको उनले बताइन्।

उद्धार गरिएका ९ जना बालबालिकालाई काठमाडौं पठाइएको र बाँकीलाई इटहरीमा राखिएको सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति सुमन अधिकारीले जानकारी दिए।

त्यसो त विहीवार झापाबाट उद्धार गरिएकामध्ये ५ जनालाई शुक्रबार नै पारिवारिक मिलन गराएको मानव सेवा आश्रमकी सुर्खेत संयोजक तथा परामर्शदाता सिर्जना ओलीले बताइन्। थप २ जना आश्रममा पहिलेदेखि नै सेवा लिइ घर फर्किएका थिए।

उद्धार गरेर ल्याएको भोलिपल्टै उनिहरुलाई पारिवारिक मिलन गराउन निकै चुनौती बनेको ओलीको अनुभव छ। ‘हामीले उद्धार गरेर ल्याएका सडक आश्रितहरुको पारिवारिक पुनर्मिल गराउन चुनौती नै बन्यो’, उनले भनिन्, ‘कतिपयका परिवारले सहर्ष स्वीकार गरे भने कतिले हाम्रो केही लाग्दैन भन्ने जवाफ पनि दिए’।

सहयोगापेक्षी सडक आश्रिहरुको उद्धार गरिएकाहरुमा ५ देखि ८० बर्ष उमेर समूहका रहेको मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताए।

उनका अनुसार शुक्रवार उद्धार गरिएका ६० जना पुरुषलाई विराटनगरको सगरमाथा पार्टी प्यालेसमा राखिएको छ। भने बाँकीलाई आश्रमै राखिएको छ।

आइतवार मोरङको विराटनगर महानगरपालिकामा उद्धार गरिएका सहयोगापेक्षी सडक आश्रितहरुको सरसफाइ र स्वास्थ्य परीक्षण पनि गरिएको छ। महानगरपालिकाको स्वाब भेन र स्वास्थ्य टोलीद्वारा पीसीआर परीक्षणका लागि सबै जनाको स्वाब संकलन पनि गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell