PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भष्मासुर र साँढे भन्दै ओलीमाथि विरोध खतिवडाका १० प्रहार : ओलीको नेतृत्वमा निर्वाचनमा गए १२ सिट पनि पाउँदैन



पहिलोपोस्ट

भष्मासुर र साँढे भन्दै ओलीमाथि विरोध खतिवडाका १० प्रहार : ओलीको नेतृत्वमा निर्वाचनमा गए १२ सिट पनि पाउँदैन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता विरोध खतिवडाले केपी ओलीको धुन्धुकारी र भष्मासुर प्रवृत्तिले अहिलेको संकट आएको आरोप लगाएका छन्। प्रचण्ड-नेपाल पक्षको जिल्ला कार्यकर्ता भेलालाई आइतवार मकवानपुरको हेटौडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ओलीको राष्ट्रवादको घुम्टो उत्रिसक्यो

कार्याकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले ओलीको राष्ट्रवादको घुम्टो उत्रिसकेको दाबी गरे। उनले भने, 'र का प्रमुखलाई भेटेर राष्ट्रवाद उत्रिसकेको छ। भाजपा नेतालाई सेना प्रमुखलाई भेटेर।'

भारतीयहरुसँग राति १२ बजेसम्म एक्लै बसेर गनगन गरेको थियो उल्लेख गर्दै ओलीले उनीहरुसामु सुनाएको फेहरिस्तसमेत खतिवडाले सुनाएन भ्याए।

'चुच्चे नक्सा उहाँलाई ल्याउने मन थिएन। पार्टीले बाध्य बनाएर हाल्नुपरो। म त उही हो नि १ खर्ब २० अर्बवाला। यहाँ त ल्याउन खोजेकै थिएन,' ओलीले र प्रमुखसँग व्यक्त गरेको भनाई यही भएको उल्लेख गर्दै खतिवडाले भने, 'त्यो भनेको दुई महिनामा संसद चट्। राष्ट्रवादको घुम्टो उड्यो। अलिकति बाँकी जनकपुरमा रेलमा ओढेको छ रे। त्यो पनि कुन दिन उत्रने हो।'

बजारमा बिक्री हुने कुरा एउटा नक्सा अर्को राष्ट्रवाद भएकोमा त्यो अब बिक्न छाडेको उनको भनाई थियो।

७० करोड नहुँदा मन्त्री बन्न पाइनँ

अहिले पार्टीमा कसैले कसैलाई धम्की नदिनसमेत खतिवडाले अपिल गरे। ओलीमाथि व्यङ्ग्य गर्ने क्रममा उनले गोकुल बास्कोटाको प्रसंगसमेत जोड्न भ्याए। पूर्वमन्त्री बास्कोटाको टेप प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो। त्यसै सन्दर्भ जोडेर उनले आफूले ७० करोड बुझाउन नसक्दा मन्त्री बन्न नसकेको बताए।

'सत्तरी करोडभन्दा माथिको त मन्त्री हुनै पाउँदैन रे। त्यसैले म यसैगरी बसेँ,' उनको दाबी रह्यो।

बालुवाटारको पछाडिबाट भाग्नुपर्छ ओली

खतिवडाले यस्तै प्रवृत्ति चालिरहे ओली बालुवाटाको पछाडिबाट भाग्नुपर्ने दिन आएरै छाड्ने दाबी गरे। पार्टीको झगडामा संसद भंग गर्नु अपराध  भएको उल्लेख गर्दै उनले प्रश्न गरे, 'पार्टीको झगडा मिलाउन नसकेपछि संसदलाई दण्ड हान्ने? मेरो पद कसैले खाइदेला भन्ने डरमा संसदमाथि हान्ने?'

संसद विघटनलाई सर्वोच्चले सदर गरे ओलीलाई जनताले नछाड्ने उनको ठोकुवा थियो। 'यदि सर्वोच्चबाट यो सरकारको कदम सदर गरेमा केपी ओली बालुवाटारको अगाडिको ढोकाबाट निस्कन पाउँदैनन् पछाडिको ढोकाबाट भाग्नुपर्छ,' खतिवडाले भने, 'तलमाथि भयो भने जनता पावरफुल हुन् जसले राजालाई पनि दरबारबाट निकाले।'

राष्ट्रपतिको काम : केपी ओलीको चिठी कुरेर बस्ने

प्रधानमन्त्री आफै कुर्सीको लडाइमा लागेको र हाँस्यास्पद भाषणमा लागेको उनको भनाई थियो। योहो टेलिभिजनमा जीवराम भण्डारीसँग लिएको वार्ताबारे उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तल्लोस्तरको भाषण गरेको खतिवडाले आरोप लगाए।

'कुर्सीको लडाई गरे भनेर प्रधानमन्त्रीजस्तोले भाषण गर्छन्। योहो टिभीमा अन्तर्वार्ता हेर्नुभएको होला। अविश्वासको प्रस्तावबारे ओली कमरेडले कसरी भन्नुभयो,' खतिवडाले भने, 'राष्ट्रपतिले केपी ओलीले कहिले चिठी पठाउँछन् र सही गर्छु भनेर शीतल निवासको ढोकामा कुरी बस्याछन्। महिला हिंसासम्बन्धी विधेयक १६-१६ दिन पास भएन। तर पास गर्न नहुने विधेयक तुरुन्तै पास गरे।'

ओलीको पार्टीले १२ सिट पनि पाउँदैनन्

सभामा खतिवडाले ओलीको नेतृत्वमा निर्वाचनमा गए १२ सिट पाउन मुस्किल हुने दाबी गरे। प्रधानमन्त्रीले बहुमतको सरकार चलाउन १२० सिट चाहिएको भनाई आफूले सुनेको उल्लेख गर्दै पछाडिको शून्य हटायो र त्यति सिट आए पनि जनतालाई धन्यवाद दिनुपर्ने उनको भनाई थियो।

'दुईटा पार्टी मिल्दा पनि नपाएको १२०। १६५ सिटमा। प्रत्यक्षमा सिट र ५० लाख भोट अहिले उहाँलाई चाह्यो रे। जबकि दुईटा पार्टी मिल्दा पनि यति भोट आएको थिएन यो पनि पानी जहाज र रेलकै ताल होला,' उनले थपे, 'मेरो मुखमा सरस्वती बसेको हुन्छ भन्छन्। कालजिब्रे पनि भन्छन्। १२० बाट शुन्य हटाइदिनुस्। त्यति आए धन्य। हैन तलबाट तपाईहरुले माया गरे शुन्य त हट्छ हट्छ। २ लाई अगाडि लान सकिएला कि। चुनावपछि कुरा गरौला।'

पार्टीमा १०० सदस्य लिएर ११०० सदस्य थपेर १२ सयको केन्द्रीय सदस्य बनाएकोमा समेत आफू चकित परेको उनको भनाई थियो।

गफ दिने बानी गएन

ओलीले प्रत्येक विषयमा गफ दिने गरेको खतिवडाको भनाई थियो। महाकाली सन्धीमा पनि प्रशस्त पैसा आउँछ भनी जनतालाई ढाँटेको उनले बताए। भने, 'महाकाली सन्धी भएपछि एक खर्ब २० अर्ब आउँछ भनेको उहाँले प्रत्येक वर्ष। गफ दिने बानी।'

पाका भएपछि चेत्नुपर्नेमा ओली अझै नसुध्रेको उनको भनाई थियो। उनले भने, 'हन्डर ठक्कर खाएपछि सुध्रिएला भनेको सुध्रिएन।'

गिदी नभएको टाउको, ओली असनको साँढेजस्तो

नेपालबाट कम्युनिस्ट पार्टीलाई कथित विभाजनको स्थितिमा पुर्‍याउने ओली नै भएको उनको भनाई थियो। खतिवडा भन्दै थिए, 'मेचीदेखि महाकालीसम्मका मान्छेहरु एउटै पार्टीमा कसरी बस्छन्? न एउटै स्कुल पढेका हुन्। न नातागोता मिल्छ। सबै पार्टीमा किन बस्छन्? यो त विचारले हो नि। यसको सञ्चालन विधि विधान र नियम हुन्छ। घर चलाएजस्तो पार्टीमा हुँदैन।'

वडाध्यक्षको प्रसंग निकाल्दै उनले गोबर भरिएको टाउकोले केही नहुने बताए। 'जनताले जिताएको वडाध्यक्षले जनताको कुरा सुनेर काम गर्ने कि मलाई त पाँच वर्षको लागि जिताएको भनेर केही नसुन्ने?' खतिवडाले भने, 'केही नुसने त्यस्को के हालत होला। गिदी भरिएको टाउको चाहिएन? गोबर भरिएको टाउकोले के गर्ला?'

पार्टीको नियन्त्रणमा हुनुपर्ने प्रधानमन्त्री जितेको भोलिपल्टबाट कसैले नियन्त्रणमा राख्न नसक्नु नै छाडातन्त्र भएको उनको भनाई थियो।

'असनको साँढेजस्तो छाडा भएर हिँड्छ भने किन चाहियो पार्टी?' खतिवडाको थप प्रश्न थियो, 'भोकभोकै जनताले जिताए। पसिना बगाएर जिताए। भोलिपल्टबाट साँढे?'

जनताले व्यक्तिलाई भन्दा पार्टीलाई चुनेको उनको भनाई थियो। 'जनताले चुनेको प्रधानमन्त्रीलाई चलाउन नपाइने रे। के मलाई चै भेँडाले चुनेको? प्रचण्डलाई चितवनका जनताले जिताए। ओलीलाई झापाका जनताले,' खतिवडाले भने।

खतिवडाको थप प्रश्न थियो, 'केपी ओलीलाई भोट हाल्ने को हो? त्यो त नेपाल कम्युनिस्ट पार्टीलाई हालेको हो नि! मकवानपुरमा कुनै सभामा केपी ओली आएको देख्नुभयो। प्रचण्ड आएको देख्नुभयो? यहाँका पार्टीका नेताहरु देखेर हालेको होइन भोट?'

ओली कुन अधिवेशनबाट अध्यक्ष चुनेका? विष्णु पौडेललाई कताबाट हुलेका?

ओलीलाई अधिवेशनबाट आएको अध्यक्ष भन्दै अहिले भ्रम फैलाइएको विरोध खतिवडाको दाबी थियो।

'अधिवेशनबाट चुनेको अध्यक्ष हटाउन पाइँदैन रे। त्यसो भए अधिवेशनबाट चुनेको इश्वर पोखरेल खोई? विष्णु पौडेल ल्याएर हुल्न मिल्ने? उपाध्यक्ष भीम रावल थिए। खै उनी? केन्द्रीय कमिटीमा उपाध्यक्षमा वामदेवलाई ल्याउन मिल्ने?' उनले प्रश्न गरे।

घेराबन्दीबाटै प्रधानमन्त्री भएका व्यक्ति अहिले भने भागेकोमा जनता चकित भएको उनको भनाई थियो। खतिवडाले ओलीमाथि प्रश्न गरे, 'घेराबन्दी पारेकोले संसद भंग गरेको रे! त्यही स्थायी कमिटीले घेराबन्दी गरेर काँधमा राखेर प्रधानमन्त्री बनाएको होइन?'

दुई पार्टीको मिलनपछि अधिवेशनको कुरै नआउने उनको भनाई थियो

'अहिले जबज र गजब छुट्याउने रे! पूर्व एमाले, एमाले भनेर अर्को कार्ड फाल्यो। त्यो कार्ड पनि काम लागेन। एकताको २४ घण्टाअघि सम्म पनि साइँसुई दिएन। अंशबण्डा गरे। देखाउने कागज गरे नदेखाउने कागज गरे। के के गरे गरे। त्यसपछि न गजब न जबज। यसरी एकाएक ल्याइयो। जनताको बहुदलीय जनवाद छैन त भने पार्टी एकता विरोधी भन्ला भन्ने डर हामीलाई,' खतिवडाले थप प्रश्न गरे, 'दुई जना बसेर त्यसरी जबज हटाउने। हामीलाई ताली बजाउन लगाउने। लाजशरम लाग्दैन अहिले?'

साधुको कथा र भष्मासुर ओली

नेपाली जनताले यसपटक नेकपालाई ठूलो अवसर दिएको उल्लेख गर्दै खतिवडाले ओलीकै तालले खेर गएको दाबी गरे। भने, 'जनताले पार्टीलाई अवसर दिएकै हुन्। कमरेड ओलीका कारण यो अवसर सदुपयोग गर्न सकेनौ।'

साधुको कथा सुनाउँदै खतिवडाले जनता देवता भएको बताए। 'जनता भनेका देउता हुन्। एउटा साधुको कथा सुनाउँछु म। धुरन्धर साधु थिए। ध्यानमा बसे। पानी पर्न थालेपछि एक जना गाउँलेले पानी पर्न लाग्यो। जाउँ भन्दा मलाई भगवानले बचाउँछन् भन्दै बसे। बयलगाडा आउँदा पनि त्यसै भने। डुंगा आइपुग्दा पनि त्यसै भने। पानी पर्दा भगवानले बचाउँछ भनेरै बसे। अन्त्यमा उनको प्राण गयो,' उनले भने, 'माथि पुगेपछि भगवानलाई सोधेको २० वर्षसम्म तपश्य गर्दा पनि मेरो संरक्षण किन नगरेको? तैले अवसर गुमाईस्। गाउँले, बयलगाडा र डुंगाको रुपमा म आएको थिएँ। तर तैले बुझिनस्।'

ओलीको भष्मसुर पाराले नै नेकपालाई खरानी बनाउन खोजेको उनको आरोप थियो। उनले भने, 'अहिले भष्मासुर केपी ओलीको कारणले गर्दा नेकपामाथि हात हालेर नेकपालाई खरानी बनाउन खोजिएको छ। तर हामी त्यही खरानीभित्र जीवन खोज्छौ।'

हामी जिउँदै छौं, तर धुन्धुकारीबाट डर छ

खतिवडाले प्रधानमन्त्री ओलीले आफ्नो पक्षकालाई मरिसकेको भनी आरोप लगाए पनि जिउँदै भएको देखाउन निर्वाचन आयोग र सर्वोच्च गएको बताए। उनले भने, 'केपी ओलीले मरे भने। हामी जिउँदै छौ भनेर निर्वाचन आयोग गयौं।'

जिउँदै बिरामीलाई डाक्टरले मरेको घोषणा गरेको प्रसंग सुनाउँदै उनले गफाडी डाक्टरले प्रचण्ड नेपाल पक्षलाई पनि त्यस्तै गरेको दाबी गरे। 'एउटा बिरामीलाई मर्‍यो भनेर डाक्टरले मुर्दाघर पठाएछ। पालेले हेर्दा बिरामीले म जिउँदै छु भनेछ। पालेले भनेछ - चुप डाक्टरले मर्‍यो भनेपछि मर्‍यो। डाक्टरभन्दा त जाँन्ने। हामीलाई पनि गफडिया डाक्टरले मर्‍यो भन्दियो। हामी जिउँदै छौं। संविधानको कुनै धाराले हामीलाई मार्न सक्दैन।' खतिवडाले बहुमत भएको पार्टीलाई नै चुनाव चिन्ह पाउनेछ भनी दलसम्बन्धी नियमले स्पष्ट उल्लेख गरेको बताए।

ओलीजस्तो धुन्धुकारी सत्तामा भएकाले केही डर भने बाँकी नै रहेको उनले आशंका गरे। 'कुनै पक्षमा सर्वोच्च जान्छ कि जाँदैन। निर्वाचन आयोग जान्छ कि जाँदैन,' उनले भने, 'अब शंका के छ पावरमा भएको मान्छे धुन्धुकारी भएकोले मान्छे डराएका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell