ठूलो बजेट, मल्टिस्टार, करिश्मा मानन्धर पुत्री र शिव श्रेष्ठ पुत्रको डेब्युले चर्चा कमाएको फिल्म 'एउटा यस्तो प्रेम कहानी'को आइटम गीत सार्वजनिक गरिएको छ।
झन्डै बर्ष दिन अगाडि 'नेपाली फिल्मको व्यापार ओरालो लागिरहेको देखेर फिल्म रिलिजको जोखिम लिन नसकेको' बताउने निर्माताले कोभिड १९ का कारण नेपाली फिल्म उद्योग इतिहासकै दयनीय भएका बेला फिल्म रिलिजको तयारी गरेका छन्।
यसै बर्ष जाडोमा फिल्म रिलिज गरिने बताउँदै कठ्याङ्ग्रीदो माहोलमा फिल्मको आइटम गीत 'हलाल' रिलिज गरिएको हो। फिल्म ‘लुट’बाट आइटम गर्लको छवि स्थापित गर्न सफल सुष्मा कार्कीको नाचलाई फिल्म प्रवर्द्धनको हतियार बनाइएको छ।
बिबी थापाको शब्द रहेको आइटम गीतमा गायिका मिना निरौलाको स्वर रहेको छ।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्ममा शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ। फिल्मको निर्देशन दिपेस सापकोटाले गरेका छन्।
फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन्। खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु रहेका छन्।
