PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओलीको विरोध गर्न रत्नपार्कमा उभिएका बाबुरामलाई चाहियो पानी, महतोले खोजे कार्यकर्ताको हात



प्रकाश भण्डारी

ओलीको विरोध गर्न रत्नपार्कमा उभिएका बाबुरामलाई चाहियो पानी, महतोले खोजे कार्यकर्ताको हात

काठमाडौं:  प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि देशभर त्यसविरुद्ध आन्दोलन भइरहेको छ। ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड- माधव नेपाल समूह समेत सडक संघर्षमा ओर्लिको छ। ओलीको कदलाई असंवैधानिक भन्दै दिनहुँजसो काठमाडौंका सडकमा विरोध प्रदर्शन भइरहेको छ। 

सरकारको उक्त कमदको विरोधमा आइतवार जनता समाजवादी पार्टीले राजधानीमा र्‍याली निकालेपछि दिउँसोको समयमा ट्राफिक व्यस्थापनमा समेत चुनौती देखिएको थियो।

रत्नपार्कबाट पुतलीसडक जाने आकाशेपुलमा पनि भिड थियो - जसपाको विरोध प्रदर्शन हेर्नेको। महानगरीय प्रहरी परिसर रानिपोखरी अगाडीको भाग मोटरसाइकल पार्किङले भरिएको थियो। बायाँतिरको भागमा सवारी साधन यात्रु कुरिरहेका। दायाँतिर शान्ति बाटिका अगाडी भिडभाड। जसकारण सवारीसाधनलाई डाभर्ट गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको थियो।

सरकारविरुद्ध पर्चा पम्पलेट बोकेका मानिसहरुको संख्या जति थियो झण्डै त्यही संख्यामा टाढैबाट हेर्नेहरु थिए।

भीडको बीचमा जसपाका शीर्ष नेताहरु उभिएका थिए। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, उपेन्द्र यादव तथा वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई लगायतका नेता सहभागी थिए विरोध प्रदर्शनमा।

कार्यकर्ताको हात समाएर उक्लिए महतो

शीर्ष नेतामध्ये सुरुमा बोल्ने पालो आयो जसपाका वरिष्ठ नेता महतोको। र्‍यालीमात्रै भएकाले जसपाले मञ्च बनाएको थिएन। एउटा गाडीको पछाडीका भागमा उभिएर भाषण गर्ने व्यवस्था थियो। माथि गएर भाषण गर्नुपर्ने भएकाले महतोलाई उक्लन सहज भएन। कार्यकर्ताले हात तानेपछि उनी माथि उक्लन सफल भए।

कार्यकर्ताको हात समातेर माथि उक्लिएका महतोले भाषण भने सुरु देखि नै आक्रामक गरे। उनले भाषणको सुरुवातमा कसैलाई सम्बोधन गरेनन्, बरु नारा लगाए-प्रतिगमन मुर्दावाद!

संविधानप्रति आक्रामक देखिएका महतोले संविधान निर्माणप्रक्रिया देखि नै त्रुटी भएको तर्क गरे उनले। संविधान नश्लवादीले बनाएको र तराईमा तत्कालीन अवस्थामा गोली हानेर संविधान घोषणा गरिएको उनले आरोप लगाए। 

'कहिलेसम्म प्रतिगमन। सात/सात पटक त भइकसक्यो। फेरी प्रतिगमन भयो रे। यो के हो?,' उनले प्रश्न गर्दै भने।

महतोले प्रधानमन्त्री केपी शर्मा ओली प्रति पनि आक्रोश व्यक्त गर्दै भने, 'यो टिक्नेवाला छैन्। राणाशासन फालेको बिर्सियो ? नश्लवादीले गर्ने भनेकै प्रतिगमन हो,' उनको भनाई थियो।

छोटो मन्तव्य राखेका महतोले संविधान विभेदकारी भएको आरोप दोहोर्‍याए। उनले संविधान विघटनको विरोध भन्दा पनि संविधानकै विरोध गर्नमा आफ्ना शब्द खर्चिए।

'महेन्द्र भन्दापनि दमनकारी ओली'

महतो पछिका वक्ता थिए, जसपाका वरिष्ठ नेता आशोक राई। उनले राजा महेन्द्र भन्दा पनि ओली दमनकारी भएको आरोप लगाए।

संविधानमाथि खड्गप्रसाद ओलीले खडग प्रहार गरेको राईको आरोप थियो।

'संविधानमा खडग प्रहार भयो। संविधान पूर्ण थिएन। विभेदकारी थियो। तर संसद बोलाउदा प्रधानमन्त्रको कुर्सि असुरक्षित हुने भएपछि ओलीले संसद नै विघटन गरे, ' उनले भने।

उनले २०४७ सालको संविधानमा संसद विघटनको व्यवस्था भएपनि अहिले संविधानमा संसद विघटन गर्नसक्ने व्यवस्था प्रधानमन्त्रीलाई नभएको राईको तर्क थियो। सुरुमा भाषण गरेका महतोले धेरै समय संविधान विभेदकारी भएको भन्दै भाषण गरेपनि राईले भने ओलीको कदमको चर्को विरोध गरे।

उनले ओलीको संसद विघटनको कदमलाई २०१७ सालमा राजा महेन्द्रले गरेको कू सँग तुलना गरे र त्यो भन्दा पनि ओली दमनकारी भएको टिप्पणी गरे। '२०१७ सालमा पनि अहिलेकै जस्तो भएको थियो। तैपनि त्यो त्यतिबेलाको संविधान सम्मत थियो। तर ओलीले संविधाको मर्म विपरित संसद विघटन गरे,' उनले भने।

बाबुरामलाई चाहियो पानी

सञ्चारकर्मी र आफ्नै कार्यकर्ता तथा सुरक्षाकर्मीले घेरिएका थिए डा.बाबुराम भट्टराई। अन्तिम वक्ताहरु रुपमा मञ्चमा आएका उनीमाथि नै धेरैका आँखा थियो। भट्टराईले बोल्न सुरु गरेपछि केही बेर नेता कार्यकर्ता र सञ्चारकर्मीको ठेलमठेल भयो, भाषण सुन्न।

उनले अन्य नेताहरुको भन्दा बढी समय लिए, भाषण गर्न। करिब आधा घण्टा भाषण गर्न भ्याए।

भाषणको सुरुमै उनलाई केही असहज भयो। घाटीमा केही अप्ठेरो भएपछि उनले माइक अलि पर गर्दै भने-पानी छैन्,खै पानी ल्याउनुस। सायद उनको नजिक रहेकाले सुनेन्। कसैले नसुनेपछि बाबुरामले दोहोर्‍याए,' खै मेरो पानी कता छ ल्याउनुस त।'

दोस्रो पटकको अनुरोधमा उनको पानीको आग्रह कार्यकर्ताले सुने र उनलाई बोतलमा पानी दिए। पानी पिइसकेपछि भट्टराईले पानी पिउनुको कारण प्रस्ट्याए, 'कोरोनाका केही केही असर पछि सम्म पनि रहने रहेछन्। मलाई पानी चाहिन्छ।'

भट्टराईले भाषणको अधिकांश समय प्रधानमन्त्री ओलीको शैलीको विरोध गरे। आफ्नै पूर्व सहकर्मीलाई समेत उनले गाली गर्न भ्याए।

'हामीले साउनमै भन्यौं। ओलीलाई ठेगान लगाउनुस भनेर। तर उहाँहरुले सुन्नु भएन। त्यसैले अहिले पलेटी कसेर सडकमा बस्नु भएको छ। पहिला हामीलाई पलेटी कस्न लगाउनुभएको थियो अहिले प्रचण्ड-माधवले कस्नुभएछ,' उनले भने। भट्टराईले ओलीविरुद्ध मोर्चाबन्दी गरेकोमा प्रचण्ड-नेपाललाई धन्यवाद समेत दिएका थिए।

भट्टराईले ओलीले प्रचण्ड-नेपाल माथि अहिलेको भन्दा पनि ठूलो प्रहार गर्ने दाबी गरे। भने,'केपी ओलीले अब टाउकोमा प्रहार गर्न मात्रै बाँकी छ। कित्ता क्लियर गर्नुस चाँडो। फेरी पनि माफी मागेमा स्वागत गर्छौ' उनले आक्रोश व्यक्त गर्दै भने।

उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा पनि संसद विघटन गरेको  स्मरण गरे। तर त्यो कसरी गर्नुपर्यो भन्ने बिस्तारमा कुरा आफूले अहिले गर्न नचाहेको बताए।

उनले सभामुख अग्नि सापकोटालाई तत्काल बैठक बोलाउन आग्रह गरे। उनले अदालतप्रति समेत आफूलाई भरोसा नभएको बताए। आफूले संवैधानिक अदालतबारे बेलाबेलामा चर्चा गर्ने गरेको भएपनि संविधान कार्यान्वयन नचाहनेले त्यसको विरोध गरेको भट्टराईको आरोप थियो।

बोलेनन् उपेन्द्र

बाबुराम भट्टराईको भाषण सुरु हुन्जेलसम्म शीर्ष नेताहरुसँगै रहेका राजपाका अध्यक्ष उपेन्द्र यादव कार्यक्रम नसकिँदै बाहिरिए। र्‍यालीका क्रममासँगै रहेका अधिकांश शीर्ष नेताहरु भने भट्टराईको भाषण सुनिरहेका थिए। तर उपेन्द्र भने भट्टराईले भाषण सुरु गरेकै केही बेरमै निस्किए।

उनले र्‍यालीलाई सम्बोधन समेत गरेनन्।  बाबुराम पछि भाषण गर्न आउछन् भन्ने कार्यकर्ताको अनुमान भएपनि यादवले भने सम्बोधन नै गरेनन्। उनले नत सञ्चारकर्मीलाई नै कुनै प्रतिक्रिया दिए।

उपेन्द्र यादव अहिलेकै सरकारमा उपप्रधानमन्त्रीको रुपमा सहभागि थिए। उनलाई ओलीले स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिएका थिए। ओलीसँग असन्तुष्ट बनेपछि राजीनामा दिएर यादवले मन्त्रीपद छाडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell