PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पदमुक्त मन्त्री आङ्बो भन्छन् : मुख्यमन्त्रीले नेतृत्व गरेकै मन्त्रालयबाट वित्तीय अनुशासन भङ्ग गरियो



अनन्तराज न्यौपाने

पदमुक्त मन्त्री आङ्बो भन्छन् : मुख्यमन्त्रीले नेतृत्व गरेकै मन्त्रालयबाट वित्तीय अनुशासन भङ्ग गरियो
फाइल फोटो।

विराटनगर : प्रदेश नम्बर १ को आर्थिक मामिला तथा योजना मन्त्रीबाट पदमुक्त गरिएका इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईले आफैँले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा आफ्ना विश्वासपात्रलाई नियुक्त गरेपछि प्रदेश सरकारले आर्थिक अनुशासन गुमाएको बताएका छन्।

मुख्यमन्त्री राईले निर्माण व्यवसायीको विवादास्पद पृष्ठभूमि भएका वखलढुङ्गाका सांसद् अम्बिरबाबु गुरुङलाई गत माघ ५ गते राज्य मन्त्रीमा नियुक्त गरेका थिए। भौतिक पूर्वाधार मन्त्रालयको मुख्य जिम्मेवारी भने मुख्यमन्त्री राई आफैँले लिएका छन्। यस मन्त्रालयले शहरी विकास, ऊर्जा, सिँचाइ, सडक, पुल, तटबन्धजस्ता ५ मन्त्रालयको एक्लै काम गर्नुपर्ने दायित्व छ।

‘मुख्यमन्त्रीजीले राज्यमन्त्रीमा आफ्ना विश्वासपात्रलाई ल्याएपछि प्रदेश सरकारको सुशासनमा ह्रास आउन थाल्यो’, आइतवार विराटनगरमा स्थानीय संवाददातासित निवर्तमान मन्त्री आङबोले भने, ‘सरकारले मितव्ययिता गुमाउँदै जान थाल्यो र वित्तीय असन्तुलन शुरु भयो। वित्तीय अनुशासन भङ्ग हुन थाल्यो।’

उनले भौतिक पूर्वाधार विकास मन्त्रालयमा नयाँ राज्यमन्त्री थपिएपछि कार्यक्रम संशोधन गरेर प्रक्रिया नपुर्‍याई झन्डै पौने ४ अर्ब रुपैयाँ खर्च गरेको र १ अर्ब जति गैर बजेटरी खर्च गरिसकेको जानकारी दिए।

‘यसैबीच भौतिक पूर्वाधार विकास मन्त्रालयले नै स्रोत सुनिश्चितता नभई ६ अर्ब बराबरको बहुवर्षीय आयोजना ल्यायो, यसलाई थेग्न सक्ने हाम्रो अवस्था थिएन’, उनले सुनाए, ‘हामीले यसलाई धान्न सकिँदैन भन्यौँ। यसपछि मुख्यमन्त्री कार्यालयले हामी कसैलाई थाहै नदिई हाम्रो मन्त्रालयका बजेट विज्ञ उपसचिव हरिहर पौडेलको सरुवा गरिदियो। यसका कारण हामीले ज्यादै मुस्किलले चालु आर्थिक वर्षको बजेट बनाउनु पर्‍यो। बजेट बनाउन सक्ने विज्ञ कर्मचारी कोही थिएन। एक सामान्य अधिकृतका भरमा हामीले बजेट बनायौँ।’

उनले भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यक्रम संशोधन नगरी कहीँ धेरै र कहीँ गैर बजेटरी खर्च ठूलो मात्रामा गर्दा आफ्नो मन्त्रालयले खबरदारी गरेको दावी गरे।

‘मुख्यमन्त्रीजीहरू प्रक्रिया नपुर्‍याई भुक्तानी गर्न दबाब दिनुहुन्थ्यो, हामी प्रक्रिया पुर्‍याउनु पर्ने कुरामा अडान लिन्थ्यौँ’, आङ्बोको भनाइ थियो, ‘यसका कारण पटकपटक मतभेदका स्थितिहरू पनि सृजना भए।

उनले मुख्यमन्त्री राईले नेतृत्व गरेकै मन्त्रालयबाट वित्तीय असन्तुलन र अनुशासनहीनता शुरु गरिए पनि प्रदेश सरकार असहज अवस्थामा नभएको दावी गरे।

उनले सह्मालिएर जानसक्ने अवस्था प्रशस्त भएको स्पष्ट पार्दै वित्तीय अनुशासन र सुशासन कायम गर्ने हो भने विकास निर्माणका कामहरूले प्रदेशमा गति पाउने विश्वास व्यक्त गरे।

उनले आफूले एक अल्पकालीन र ३ वटा पूर्ण बजेटको निर्माण गरेको जानकारी दिँदै यसअघिका २ वटा पूर्ण बजेट सफल भएको अनुभूति गरेको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell