PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान



पहिलोपोस्ट

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

काठमाडौंः संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीच झडप भएको छ। 

चैनतपुर नगरपालिका ४ मैदानेमा विप्लवका कार्यकर्ता तथा नेतालाई पक्राउ गर्न पुगेको टोलीमाथि समूहले आक्रमण गरेपछि जवाफी फायरिङ भएको प्रहरीले जानकारी दिएको छ। 

स्थानीय युवराज राईको घरमा विप्लवका कार्यकर्ता तथा नेता रहेको विषेश सूचना पाएपछि दिउँसो सवा ३ बजेतिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मैदाने पुगेको थियो। राई विप्लव समूहका जिल्ला इञ्चार्ज भएको खुलेको छ।

'विषेश सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए। प्रहरी पुगेपछि उनीहरु जंगलतिर भागेर फायरिङ खोले त्यसैमा प्रहरीले जवाफी फायर गरेको हो,' प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले भने।

प्रहरीले राईको घरबाट केही विष्फोटक पदार्थ समेत बरामद गरेको जानकारी दिएको छ। दुई पक्षको फायरिङमा कुनै पनि पक्षको मानवीय क्षति भने भएको छैन। अहिले त्यहाँको अवस्था सामान्य रहेको आचार्यले जानकारी दिए।

एक वर्षअघि पनि संखुवासभाको लिचोङ गाउँपालिका १ सिसुवाखोला हेयाङलामा दुई पक्षबीच भीडन्त भएको थियो। त्यस्तै मंसिर २३ गते विप्लव समूहले मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खे भन्ने जंगलमा स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell