PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वीरगंजको सभामा कमल थापाले भने : सरकारले गरेको ताजा जनादेशको पहल हाम्रो लागि अवसर



राधेश्याम पटेल

वीरगंजको सभामा कमल थापाले भने : सरकारले गरेको ताजा जनादेशको पहल हाम्रो लागि अवसर

वीरगंज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्चमा विचाराधीन भएकोले संवैधानिक, असंवैधानिक भन्नेबारेमा आफूले टिप्पणी नगर्ने बताएका छन्। वीरगंजको गहवामाई मन्दिर अगाडि आयोजित सभामा बोल्दै उनले सर्वोच्च अदालतलाई सबैले मान्नु पर्ने धारणा राखे।

उनले भने, ‘मैले बोल्न मिल्दैन, तर यदि असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन भएको छ भने अदालतले सधै संवैधानिक फैसला नै गर्ने हो, त्यस्तै नतिजा आउने छ।’

अध्यक्ष थापाले बदलिँदो परिस्थितिमा ताजा जनादेशको लागि जनताले राप्रपालाई पत्याएको खण्डमा हिन्दू राष्ट्र घोषणा गर्ने, राजतन्त्रसहितको लोकतन्त्र स्थापना गर्ने र देशलाई समृद्धितर्फ अग्रसर बनाउने प्रतिबद्धता जाहेर गरे। उनले सनातन हिन्दू धर्मको बर्खिलाप १४ वर्षअगाडि षड्यन्त्र गरिएको र राजतन्त्रसमेत मान्ने काम भएकोले अहिले देश अभिभावकविहीन अवस्थामा पुगेको टिप्पणी गरे।

हिन्दू राष्ट्रमा सबै धर्मको सम्मान हुँदै आएको तर विदेशी चलखेलमा धर्मनिरपेक्ष घोषणा गरिएको उनले बताए। २००७ सालमा २४ जना ख्रिष्टियन देशमा रहेकोमा अहिले ४० लाख पुग्नुले नेपालीहरूलाई जबरजस्ती धर्म परिवर्तन गराइएको तथ्य उजागर भएको बताए। उनले आफ्नो पार्टी सबै धर्मको सम्मान गर्ने भए पनि सनातन हिन्दू धर्मविपरीत कार्य सह्य नहुने बताए।

वर्तमान सरकारले ताजा जनादेशको लागि गरेको पहल आफ्नो लागि अवसर भएको बताए। जनताले दिएको अभिमतको रक्षा गर्न नसक्नुले पनि नेपाली कांग्रेस, नेकपा र मधेसवादी दलहरू असफल भएको पुष्टि भएको उनले बताए। १४ वर्षअघि भएको परिवर्तनपछि जनताले थुप्रै आशा र विश्वास लिए पनि यी पार्टीहरूले जनविश्वासका काम गर्न नसकेको र भागवन्डामा लिप्त भएको कारण भ्रष्टाचार मौलाएको अध्यक्ष थापाले आरोप थियो।

अहिले नेपालमा विदेशी शक्तिहरूको चलखेल बढेकोले यो सबैको निर्मुल गरी देशमा जनताको शासन हुने गरी राजतन्त्र स्थापित गर्नू पर्ने, हिन्दू राष्ट्र बनाउनुपर्ने उनले जिकिर गरे। सभामा राप्रपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री राजीव पराजुलीले जनताको अभिमतको रक्षा गर्न नसकेको र सरकार भागवन्डा, भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए। वाइडबडी विमान घोटाला, मेलम्ची खानेपानी, सेक्युरिटी प्रेस खरीदजस्ता घटनामा सरकारले अर्बौँ भ्रष्टाचार गरेको आरोप लगाए।

सभापछि राप्रपा पर्सा अध्यक्ष सुमेश्वर उपाध्यायको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई ज्ञापनपत्र बुझाएको थियो। राप्रपाले आज ७७ जिल्लामा सभा र प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell