PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौं आएलगत्तै चिनियाँ टोली राजनीतिक भेटघाटमा सक्रियः राष्ट्रपतिसँग छलफल, सोमबार प्रधानमन्त्रीदेखि शीर्ष नेतासम्म भेटको सूचीमा



पहिलोपोस्ट

काठमाडौं आएलगत्तै चिनियाँ टोली राजनीतिक भेटघाटमा सक्रियः राष्ट्रपतिसँग छलफल, सोमबार प्रधानमन्त्रीदेखि शीर्ष नेतासम्म भेटको सूचीमा

काठमाडौंः नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले काठमाडौँ उत्रिएसँगै राजनीतिक भेटघाट सुरु गरेको छ। पुस ५ गते हठात भएको प्रतिनिधिसभा विघटनपछि आन्तरिक राजनीतिक तरंगित छ। कानुनी रुपमा बाहेक पार्टी विभाजन भइसकेको अवस्थामा उत्तरी छिमेकबाट राजनीतिक भ्रमण भएको हो।

आइतबार कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आइपुगेको हो। 

आइतबार दिउँसो नेपाल आएको प्रतिनिधिमण्डलको भेटघाटको तालिकालाई गोप्य राखिएको छ। नेपालका तर्फबाट कुनै पनि आधिकारिक निकायले भेटबारे औपचारिक रुपमा कुनै पनि जानकारी तथा टिप्पणी गरेका छैनन्।

प्रतिनिधिमण्डलले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेको छ। चिनियाँ टोलीले भेटमा राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षीको सन्देशबारे जानकारी गराएको स्रोत बताउँछ। यद्यपि भेटवार्ताका क्रममा भएका छलफलबारे औपचारिक रुपमा दुवै निकायबाट जानकारी भएको छैन।

आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि प्रतिनिधिमण्डलले भेट गर्ने तयारी गरे पनि रातिसम्म भेट भएको छैन। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार सोमबारका लागि भेट तय भएको छ।

यस्तै, स्रोतहरुका अनुसार प्रतिनिधिमण्डलले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुसँग पनि सोमबार नै भेट गर्नेछन्। नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार खुमलटारमा भेटको कार्यक्रम रहेको स्रोत बताउँछ। यस्तै, नेता माधवकुमार नेपालसँग पनि निवास कोटेश्वरमा नै भेट हुनेछ। वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि चिनियाँ टोलीले भेट गर्ने सम्भावना रहेको स्रोत बताउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell