PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

लगाएको दौरा सुरुवाल नै फुकाल्नु परेपछि...



कमलराज भट्ट

लगाएको दौरा सुरुवाल नै फुकाल्नु परेपछि...

काठमाडौं : पुनर्गठन हुन लागेको मन्त्रिपरिषदको सदस्य बन्न तयार रहनु भन्दै खबर आइसकेको थियो। तयारी अवस्थामा रहन खबर गर्ने अरु कोही थिएनन्, परराष्ट्र मन्त्री तथा नेकपाका नेता प्रदीप ज्ञवाली ने थिए। सात मन्त्रालय खाली हुनु सानो कुरा थिएन। त्यसमध्येको एउटा भाग करिब करिब भएकाले उनले दौरा सुरुवाल पनि ठीक पारे। तीन बज्दा त लुगा लाइवरी ठिक्क पनि भए।

तर, न बोलावट भयो न कुनै जानकारी। दिउँसो मन्त्री बन्न तयार हुनु भनेका थिए, साँझ सपथ लिनेहरु अरु नै पो देखिए। त्यसपछिमात्रै उनले ज्ञवालीलाई फोन लगाए। नेकपा प्रवक्ता ज्ञवालीले 'सरी' भनेपछि यसपाला पनि उनको मन्त्री बन्ने सपना तुहियो।

उनी अर्थात्, मोहन बानियाँ। घर मुगु।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरे। ८ मन्त्री र एक राज्यमन्त्री थपिए। दुई जना मन्त्री पदबाट आउट भए। जिम्मेवारी पनि हेरफेर भयो।

साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख अग्निप्रसाद सापकोटाको समेत उपस्थितिमा उनीहरुलाई सपथ खुवाइन्। सपथमा केही मन्त्री त अनौपचारिक पोशाकमै देखिए। मन्त्री हुने पत्तै नपाउँदै सोझै सपथ लिन पुगे केही। त्यसरी छानिँदा दौरा सुरुवालमा सजिसकेका मोहन बानियाँ भने हेरेको हेर्‍यै।

उनका लागि दिउँसोसम्म आँगनमै आएको मन्त्री पद साँझ सपथका बेला अर्कैले चिप्ल्यायो। ओलीको क्याबिनेटमा कर्णाली प्रदेशकै प्रतिनिधित्व नभएको गुनासो सुरुदेखि नै रहँदै आएको छ। ओलीले पनि पटकपटक बानियाँलाई मन्त्री बनाउने आश्वासन दिँदै आएको उनी निकट नेताहरु बताउँछन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन हुँदा होस् वा उपेन्द्र यादव सरकारबाट बाहिरिँदा नै, अथवा गोकुल बास्कोटा बहिर्गमनकै बेला किन नहोस्, जतिजति बेला मन्त्रालय खाली हुन्थे ओलीले बानियाँलाई बोलाएर तयार रहनुस् भन्थे। तर अन्तिममा चाहिँ हात लाग्यो शून्य। मन्त्री हुन्थे अरु नै कोही।

यसपालि एकैपटक ७ मन्त्रालय खाली भएको अवस्था थियो। बानियाँ पनि कर्णालीको प्रतिनिधित्व गरेर मन्त्रिपरिषदमा आफूले ठाउँ पाउनेमा अलि बढी नै आशावादी थिए। उनको नाम ओलीको टिमले फाइनल पनि गरिसकेको थियो। शुक्रवारको दिन दिउँसो बानियाँलाई परराष्ट्रमन्त्री एवं ओली समूहका पार्टी प्रवक्ता ज्ञवालीले टेलिफोन गरेर तयार रहन निर्देशन दिएका पनि थिए।

बानियाँको निजी सचिवालय स्रोतका अनुसार ३ बजेदेखि नै उनी तयार थिए। तर बालुवाटारबाट आउने खबरको प्रतिक्षा खेर गयो।

'मन्त्री नबनाइएपछि टेलिफोनबाटै 'समस्या पर्‍यो। व्यवस्थापन गर्न गाह्रो भयो' भने। केही समयपछि हेरफेर गर्ने भनेका छन्। अलिपछि केही मन्त्रीलाई हेरफेरको आश्वासन दिइयो,' बानियाँ निकट स्रोतले भन्यो।

बानियाँ पनि प्रचण्ड र नेपाल समूहबाट मन्त्री हुन धेरै मान्छे आउँदा व्यवस्थापन गर्न गाह्रो भएको खबर पाएको बताउँछन्।

'पूर्व माओवादीबाटै ५ जनाको नाम आयो। माधव नेपाल गुटका पनि आएकाले हाम्रो नाम काटिएछ,' उनले भने।

ओलीले मन्त्री नबनाएपछि बानियाँलाई पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सुरेन्द्र पाण्डेले बोलाएका थिए। तर, उनी गएका छैनन्। ओली समूहमा उनी लामो समयदेखि संलग्न छन्।

'हाम्रो हाउसमा जो मान्छे राम्रो छैन। जो मान्छेहरु देश र जनताको बारेमा बोल्दैन। ति मान्छेहरुले नै अवसर पाए। यो दुर्भाग्य हो। निष्ठाको राजनीति गर्ने राम्रा मान्छेले विरलै मौका पाउँछन्,' बानियाँले भने। उनी निर्देशन दिएर मन्त्री नबनाएको दु:खी त छन् नै त्यसभन्दा पनि पार्टीमा धेरै योगदानै नभएकाले अवसर पाउँदाको पीडा भोगिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell