PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

खुमलटार पुगेका चिनियाँ टोलीको जोड, 'नेकपा एकताबद्ध हुनुपर्छ'



पहिलोपोस्ट

खुमलटार पुगेका चिनियाँ टोलीको जोड, 'नेकपा एकताबद्ध हुनुपर्छ'
फाइल फोटो: २०७४ सालमा नेपाल भ्रमणका क्रममा तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्दै चिनियाँ विदेश विभागका उपमन्त्री

काठमाडौं : आइतवार नेपाल आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोली सोमवार बिहानै खुमलटार पुगेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गर्नका लागि टोली खुमलटार पुगेको हो।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टीमा दुई समानान्तर कमिटी सञ्चालन हुन थालेका छन्- बालुवाटार र खुमलटारबाट। आइतवार राति नै नेकपाको एक शक्ति बालुवाटार पुगेका चिनियाँ नेता कुओ सोमवार बिहानै खुमलटार पुगेका हुन्।

आइतवार नै उनले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका हुन्। त्यस्तै आइतवार राती नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन्।

प्रधानमन्त्रीसँग बालुवाटारमा दुई घण्टा भेट गरेका उनले नेकपाको विभाजनको विषयमा चासो राखेको स्रोतले बताएको छ।

नेकपा एकताको हुनुभन्दा अगाडिसमेत नेपाल आएका उनको यो भ्रमणलाई नेकपाको एकतालाई जोगाउने चिनियाँ कसरतको रुपमा हेरिएको छ।

प्रचण्डसँगको भेटमा पनि उनले यसै विषयमा चासो राखेको भेटबारे जानकार स्रोतले बतायो। 'नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध छ। यस्तोमा नेकपामा विभाजन देखिँदा चिनियाँ कम्युनिस्ट पार्टीले चासो देखाउनु स्वभाविक हो,' नेकपाको विदेश विभागका एक नेताले भने, 'उहाँहरुको चाहना अझै पनि नेकपा एकवद्ध हुनुपर्छ भन्ने हो। हाम्रो नि त्यही हो।'

आजै यो टोलीले नेकपाका अर्का अध्यक्ष माधव नेपालसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell