PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओलीलाई गलाउन भोलि कस्तो होला प्रचण्ड-नेपाल समूहको आन्दोलन? उपत्यकामा यस्तो छ तयारी



प्रकाश भण्डारी

ओलीलाई गलाउन भोलि कस्तो होला प्रचण्ड-नेपाल समूहको आन्दोलन? उपत्यकामा यस्तो छ तयारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजित भइसकेको छैन। तर, प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल समूह आ-आफ्ना गतिविधिमा केन्द्रित छन्। ओली आफ्नो समूहमा नेता तान्नेदेखि सरकार बिस्तारमा केन्द्रित हुँदा उनीबिरुद्ध उत्रिएको प्रचण्ड-नेपाल समूहले सडक संघर्षलाई सशक्त बनाउँदै छ।

ओलीले गरेको संसद विघटनको निर्णय अदालतमा विचाराधीन भए पनि प्रचण्ड-नेपाल समूह अदालतप्रति ढुक्क हुन सकेको छैन। ओलीलाई सडकबाटै गलाउने रणनीतिमा छन् हाल प्रचण्ड-नेपाल। ओलीले भने आफू निकटलाई प्रचण्ड-नेपालको प्रदर्शनको अर्थ नभएको बरु चुनावमा केन्द्रित हुन निर्देशन दिइरहेका छन्।

देशब्यापी आन्दोलनमा प्रचण्ड-नेपाल

प्रचण्ड-नेपाल समूहको पुस ९ मा राजधानीमा सम्पन्न केन्द्रीय कमिटी बैठकले संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो। जस अनुसार १० गते काठमाडौंमा यो समूहले प्रदर्शन गर्‍यो।

मंगलवारको देशब्यापी प्रदर्शनको तयारीका लागि आइतवार जिल्ला भेला सम्पन्न भयो। १४ गतेको प्रदर्शन सशक्त बनाउने विषयमा भेलामा छलफल भएको थियो। मंगलवारको प्रदर्शनका लागि सातै प्रदेशमा संयोजक तोकिएको छ। प्रदेश १ मा भीम आचार्य, २ मा गणेश साह, वागमतीमा अष्टलक्ष्मी शाक्य,  गण्डकीमा हितराज पाण्डे, लुम्बिनामा ओनसरी घर्ती, कर्णालीमा जनार्दन शर्मा र सुदुरपश्चिममा भीम रावलले आन्दोलनको संयोजन गरिरहेका छन्।

आन्दोलनमा आफ्ना पार्टीका नेता कार्यकर्तासहित अरु पेशा ब्यवसायका मानिसलाई पनि सहभागी गराउने प्रचण्ड-नेपाल समूहको तयारी छ। स्थायी कमिटी सदस्य तथा वागमती प्रदेशमा आन्दोलनको संयोजक अष्टलक्ष्मी शाक्यले संसद विघटनको मुद्दा नेकपाको मात्रै नभएकाले सबैलाई आन्दोलनमा सहभागी हुन आग्रह गरिरहेको बताइन।

'यो असंवैधानिक कदमको हामीले मात्र विरोध गरेर हुने कुरा होइन। अहिले सबैले बिरोध गरी पनि रहेका छन्। मंगलबार पनि सहभागी भइदिनुस भन्ने हाम्रो आग्रह छ,' उनले भनिन्।

४० हजार मान्छे काठमाडौंको सडकमा उतार्ने तयारी

वागमती प्रदेशको आन्दोलनलाई काठमाडौंमा केन्द्रित गरिने छ। त्यही अनुसारले सबै जिल्ला र प्रदेशमा आइतवार भेला भएका थिए भने बाँकी रहेका ठाउँमा सोमवार पनि भेला भइरहेको छ। राजधानीको भृकुटीमण्डपमा आमसभा हुने शाक्यले जानकारी दिइन्। भृकुटीमण्डपमा हुने आमसभालाई प्रचण्ड-नेपालसँगै सचिवालय सदस्यले सम्बोधन गर्नेछन्। काठमाडौंमा हुने सभामा उपत्यका भित्रका विभिन्न स्थानीय तहबाट जुलुस निकाल्ने तयारी छ। त्यसकालागि पनि कार्यकर्ता परिचालन भइसकेको शाक्यले जानकारी दिइन्। काठमाडौंमा कम्तिमा पनि ४० हजार मानिसलाई प्रदर्शनमा सहभागी गराउने प्रचण्ड-नेपाल समूहको दाबी छ। 'कम्तिमा पनि ४० हजार मानिसको इस्टमेट गरेका छौं। त्यति मानिसलाई ब्यवस्थित गर्नेगरी हामीले तयरी गरिरहेका छौं,' उनले भनिन्।

ओलीलाई सडकबाटै संसद पुनस्थापन गर्न बाध्य पार्ने उद्देश्यले बिरोधका कार्यक्रम तय भएको उनले बताइन्। 'सडक संघर्ष गरेर भए पनि ओलीको कदमको विरोध गर्ने र संसद विघटन भएको छैन भन्ने हाम्रो अडान हो,' उनले भनिन्।

शाक्यले संसद विघटन नभएकाले सभामुखलाई संसद बोलाउन आफूहरुले आग्रह गरिरहेको जानकारी दिइन्।

'मधेशमा ओलीलाई कठिन छ'

प्रदेश २ को आन्दोलनको संयोजन गरिरहेका प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश साहले आफ्नो क्षेत्रमा आन्दोलनका सम्पूर्ण तयारी पूरा भएको बताए। उनले मधेशमा ओलीको शैलीको पहिलेदेखि नै विरोध भइरहेको र अहिलेको घटनाक्रमले झनै उनीबिरुद्ध माहोल बनेको बताए।

'अहिलेमात्रै होइन मधेशमा पहिला पनि ओलीको बिरुद्ध नै माहोल थियो। अहिले झन् संसद बिघटन संविधान विरुद्धको काम हो भनेर बुझाएका छौं। त्यसैले ओलीलाई अब मधेशमा कठिन छ,' उनले भने।

उनले देशब्यापी हुने प्रदर्शनले ओलीको विपक्षमा पार्टीभित्रकै कति मानिस रहेछन् भन्ने देखाउने बताए। पार्टी विभाजनको अवस्थामा ओलीले सिर्जना गरेकाले अब सरकार छोडनुको विकल्प प्रधानमन्त्रीसँग नभएको उनको भनाई छ।

'खासमा पदबाट सुरु भएको लडाई अहिले विभाजनको अवस्थामा छ। यसको सबै जिम्मेवारी ओलीमै जान्छ,' उनले भने।

पुसपछि कस्तो होला प्रचण्ड-नेपालको रणनीति?

प्रचण्ड-नेपाल समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २ हजार ५ सय १ जनाको संघर्ष समिति बनाएको छ। पुस १० देखि २५ गतेसम्म दबावमूलक विभिन्न आन्दोलनका कार्यक्रम घोषणा भइसकेका छन्। केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले सामान्य खालको आन्दोलनबाट ओली नचेत्ने बताएका थिए।

'साथीहरुलाई के कतिको डर लागेको छ। फेरि पनि जेल नेल भोग्न हामी तयार हुनुपर्छ। ओलीले सामान्य खालको दबाबाट चेत्नेवाला छैनन्। हामीले राजधानीमा अझ बढि सशक्त आन्दोलन गर्नुपर्ने छ। यो पहिलो चरणको हो। दोस्रो चरणको अझै उच्चस्तरीय आन्दोलन हुनेछ,' उनले भनेका थिए।

संसद विघटन सम्बन्धि मुद्दाको सुनुवाई पुस २२ गतेदेखि सुरु हुँदै छ। पुस अन्तिमसम्म अदालतलाई कुर्ने र नभए देशब्यापी आन्दोलनको तयारी गर्ने प्रचण्ड-नेपाल समूहको रणनीति छ। त्यसका लागि प्रचण्ड-नेपाल समूहले ओलीको कदमको विरोध गरिरहेका राजनीतिक दलसँग मोर्चाबन्दी गर्ने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell