PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

केपी ओली श्री ३ महाराज जंगेको लाइनमा, आफूले कलंकको टीका लगाए, हामीलाई हिरो बनाइदिए : प्रचण्ड



पहिलोपोस्ट

केपी ओली श्री ३ महाराज जंगेको लाइनमा, आफूले कलंकको टीका लगाए, हामीलाई हिरो बनाइदिए : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा सरकार गठन हुने विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन्। तर, अहिले ओलीले स्थायित्वका लागि परिकल्पना गरेको विषय लत्याउँदै संविधानको विरुद्ध हुनेगरी प्रतिनिधिसभा विघटन गरेको आरोप उनले लगाए।

'तीन करोड नेपालीको सार्वभौमिकतामाथि केपी ओलीले जो प्रहार गरेको छ त्यस विरुद्ध लाग्नुपर्छ,' जनसांस्कृतिक महासंघ नेपालको भेलामा बोल्दै उनले भने, 'सांस्कृतिककर्मी पनि संघर्षमा उत्रिनुपर्छ।'

उनले सदन विघटन नभएको समेत दाबी गरे। 'सदन विघटन भएको छैन। विघटन भएको भनेको केपी ओलीको सरकार हो। उसले जसरी प्रतिनिधिसभाको हत्या भयो भनेको छ, त्यस्तो होइन। प्रतिनिधिसभा जिवित छ,' उनले भने।

उनले संविधानलाई व्याख्या गर्ने अदालतले भएको भन्दै अदालतले छिटोभन्दा छिटो संसदको बैठक सुरु गर्न आदेश दिने विश्वास व्यक्त गरे।

उनले पार्टीभित्र अन्तरसंघर्ष लामो समयदेखि चलेको पनि बताए।

'सही र गलतको बीचमा अन्तर्संघर्ष चलेकै हो। पार्टी एकताको विधान र राजनीतिक प्रतिवेदन अनुसार चल्नुपर्छ भन्ने र व्यक्तिवादी ढंगले चल्न पाउनुपर्छ भन्ने बीचको,' उनले भने।

केपी ओली इतिहासमा कलंकित भएको प्रचण्डको आरोप थियो।  'केपी ओली पराजित हुनुभयो। इतिहासमा उहाँ कलंकित हुनुभयो। कलंकको टीका लगाउनुभयो। हामी विजय भयौँ,' उनले भने।  

प्रचण्ड र माधव नेपाल सडकमा पलेँटी कसेर बाटोमा जाँदा ल यिनीहरु सडकमा पुगे भनेर हाँसो उडाएको भन्दै उनले भने, 'हामी सडकमा पुगेको होइन। हामी जनतामा गएका हौँ। केपी ओली श्री ३ महाराज जस्तो जंगेको बाटोमा हिँड्नुभयो। हामीलाई जनताको बीचमा जाने वातावरण मिल्यो। जनताको हिरो बन्ने बाटो मिल्यो।'

उनले अहिले पूर्व माओवादीका नेताहरु ओली पक्षमा लागेको प्रति व्यङ्ग्य गर्दै वैशाख पछि फर्किएर आउनेसमेत बताए। 'केही साथी उता गए भनेर चिन्ता लिनुपर्दैन। हिजो पनि यस्तो हुन्थ्यो। उनीहरु फर्किन्छन्,' उनले अगाडि भने, 'हेर्नुहोला वैशाखपछि उनीहरु फर्किन्छन्। अन्त जाने ठाउँ हुन्न। अनि हामी अलि फराकिलो दिल भएका माफी दिइहाल्छौँ। स्वागत गरिहाल्छौँ।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell