काठमाडौं : नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसका कार्यकर्तालाई निर्वाचनका लागि तयार रहन निर्देशन दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ ले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सबै जनता जागरुक हुन आवश्यक रहेको उल्लेख गर्दै यस्तो बताएका हुन्।
'अब आउने निर्वाचनका लागि चाहे त्यो संसद पुनर्स्थापना भएको हकमा होस् या दुई वर्षमा आउने निर्वाचन होस् या नभएको अवस्थामा, तत्कालै आउने निर्वाचनका लागि हो,' सहमहामन्त्री डा महतले भने, 'यसका लागि नेपाली काँग्रेस तयार रहौं।'
लोकतन्त्रको सुरक्षित नभएसम्म देशमा विकास नहुने उनको भनाई थियो। त्यसैले कम्युनिस्टलाई देशबाटै पराजित गर्नुपर्ने महतको भनाई थियो। 'अरु देशमा जसरी सदाको लागि कहिल्यै पनि नजित्ने गरी कम्युनिस्ट पार्टीलाई पराजित जनताले गर्छन्। नेपालमा पनि कम्युनिस्टलाई पराजित नगरेसम्म समृद्धि आउँदैन,' सहमहामन्त्री महतले भने।
सुशासनको नेतृत्व काँग्रेसले गर्ने उनको दाबी थियो। 'हामी जागरुक हौं। हामी कुशासन सहदैन। राष्ट्रलाई चकनाचुर पारेको हेर्न सक्दैनौं। यो जागरण नेपाली जनतामा आवश्यक छ। यसको नेतृत्व नेपाली काँग्रेसले गर्छ,' उनले भने।
केपी ओली सरकारले संसद विघटन गरेको विषय असंवैधानिक भए पनि पुनर्स्थापना भए पनि देशले थप दुई वर्ष कम्युनिस्ट शासन व्योहर्नुपर्ने उनको दाबी थियो।
'सर्वोच्चलाई नेपालको संविधानले कानुनको अन्तिम व्याख्या गर्ने अधिकार दिएको छ। र, सर्वोच्चको निर्णय अन्तिम हुन्छ पनि भनेको छ।
कति निर्णय हामीलाई चित्त बुझ्न सक्छ। कति नबुझ्न पनि सक्छ। यो कानुनी प्रक्रिया अगाडि बढेको छ,' महतले भने, 'यदि सर्वोच्चले संसद पुनर्स्थापना गरेमा सर्वोच्चले संसद विघटन बदर गरेमा पनि यो देशले दुई वर्ष त कम्युनिस्ट शासन व्योहर्नुपर्ने हुन्छ। त्यो पनि हाम्रो लागि राम्रो कुरा होइन। कोही आएर राम्रो गर्लान् भन्ने छैन। फेरि उनीहरुले रमाइलो कुरा पक्कै गर्छन्। काम राम्रो गर्दैन।'
विघटन यथावत राखी तोकिएको समयमा निर्वाचन गराएन भने काँग्रेसले आन्दोलन गरी चुनाव गराउन बाध्य गराउने उनको दाबी थियो। 'विघटन यथावत राखे हाम्रो चिन्ता ओली सरकारले चुनाव गर्छ कि गर्दैन भन्ने हो। संसद विघटन यथावत राखेको खण्डमा समयमा चुनाव गराउने पक्षमा हाम्रो आन्दोलन हुन्छ,' उनले भने, 'जनताबाट अनुमोदन नभएसम्म सरकारले चलाउने अनुमति छैन। चुनावबिनै सत्तामा बस्ने दुस्साहस गरेमा हामी टोलटोल गाउँगाउँबाट जनता उठेर बाध्य बनाउँछौं।'
