काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेपाल शक्ति राष्ट्रको चलखेलको अखडा बनेको बताएका छन्।
५ नम्बर निर्वाचन क्षेत्रमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पूर्वपरराष्ट्र मन्त्री समेत रहेका महतले कम्युनिस्ट सरकारले नेपालको राष्ट्रलाई छियाछिया पारेको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओलीले जनता होइन विदेशी शक्तिलाई आफ्नो शक्ति ठानेको भन्दै महतले उनकै कारण विदेशीको चलखेल र प्रतिस्पर्धा बढेको बताए।
‘नेपाल शक्ति राष्ट्रको चलखेलको अखडा बनेको छ। ओलीले नेपालको राष्ट्रियता कम्युनिस्टले मात्र बचाउँछ भनेर गफ दिए। तर आज दु:ख लाग्दो र लाजमर्दो अवस्था आएको छ। भारत र चीनको प्रतिस्पर्धा चलेको छ, नेपालाई कसको प्रभावमा राखने भनेर,’ उनले भने, ‘हामीले जहाँ जे कुरा राख्ने हो राख्यौ। तर यो सरकार जहाँ भन्नुपर्ने त्यहाँ बोल्नै सक्दैन। नेपालको आवश्यकता र स्वार्थ भारत र चीनलाई भन्न सक्दैन। त्यसकारण विदेशीहरु तिमीहरु हाम्रो पक्षमा हो कि अर्को भनेर सोध्न आउँछन्। यो सरकार यहीँ बाटोमा हिँडेको छ।’
प्रधानमन्त्री ओलीले सुशासन, स्थिरता, समृद्धि र ५० वर्ष शासन चलाउने, भ्रष्टाचार छउमै आउन दिन्न भनेर ५ वर्षे म्यान्डेट पाएको भन्दै महतले ३ वर्ष नपुग्दै संविधान विपरीत संसद विघटन गर्नु असफलताको प्रमाण भएको बताए। ‘ओलीजीले ५ वर्ष पनि पूरा गर्न सकेनन्। प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरु भ्रष्टाचार बाहेक केही देख्दैनन्। जनता देख्दैनन्। कोभिडबाट पीडित भएका जनता देख्दैन। उहाँहरुको मुख्य चासो कमिसनमा छ। कुनै पनि लाइसेन्स दिँदा मेरो कमिसन कसरी भनेर प्रस्तुत हुन्छन्। कम्युनिस्टको विकल्प खोज्ने बेला आयो,’ उनले भने।
नेता महतले गफ चुटेर देश नबन्ने पनि बताए। ‘गफ ठूल्ठूलो दिने। काम केही नगर्ने?’ उनले प्रश्न गरे, ‘नेपाली कांग्रेस काम गर्ने पार्टी हो। हामी गफ दिँदैनौं। तर उनीहरु नगरेका कुराहरु पनि भन्छन्। हामीहरु भनेका कुरा पनि गर्दैनौं। भ्रष्टाचार कमिसनभन्दा उहाँहरुले अर्को शब्द जानेको छैन।’
