काठमाडौं : प्रहरीको उलन कपडाको पाइन्ट खरीदमा ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिक संचालक पर्सा वीरगंज उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्का र कम्पनीका प्रतिनिधि चितवन माडी नगरपालिका वडा नम्बर ८ घर भएका ४६ वर्षीय नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको हो।
प्रहरी प्रधान कार्यालय नक्सालले आर्थिक वर्ष २०७३/७४मा प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा बीस हजार मीटर खरीद गर्न बोलपत्र आह्वान गरेको थियो।
क्राउन टेक्सटाइल्सले प्रति मिटरको १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको कर बाहेकमा दुई करोड़ सोह्र लाख चालिस हजार खरीद गर्ने सम्झौता भएको थियो।
सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयबाट सम्बन्धित आपूर्तिकर्ता फर्म क्राउन प्रतिनिधी नरेन्द्रनाथ पौडेललाई साछी राखेर राखी नमूना निकाली परीक्षण गर्न साउन ३० गते भारत पठाइएको थियो।
तर, दुईदिनपछि टेक्सटाइल्सका पौडेलले नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाइल नम्बर तथा इमेल ठेगाना समेत उल्लेख गरी भारतको सोही ल्याबमा आफूखुशी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरेकाले नियन्त्रणमा लिएको व्यूरोका डीआइजी सहकुल थापाले जानकारी दिए।
अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
