PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

नेकपाभित्रको शक्ति संघर्षः जिल्लामा वर्चस्व बनाउन दौडधुपमा केन्द्रीय नेता, ‘सूर्य’मा दुवै पक्षको दावी



पी बी खड्का

नेकपाभित्रको शक्ति संघर्षः जिल्लामा वर्चस्व बनाउन दौडधुपमा केन्द्रीय नेता, ‘सूर्य’मा दुवै पक्षको दावी

सुर्खेतः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष चलिरहेका बेला आ–आफ्ना गुट बलियो बनाउन केन्द्रीय नेताहरु जिल्ला दौडाहामा छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षका र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधव नेपाल पक्षका नेता कर्णालीमा केन्द्रित बन्न थालेका छन्। सोमबार ओली पक्ष र प्रचण्ड पक्षका नेताहरुले आ–आफ्ना विचार राख्दै नेकपा पार्टी र चुनाव चिह्न सूर्य भएको दुवै पक्षका ले दावी गरे।

प्रधानमन्त्री ओली पक्षले प्रतिनिधिसभा विघटनको समर्थन जनाएका छन्। प्रधानमन्त्री ओलीको समर्थनमा ओली पक्षका समर्थक सडकमा उत्रिएका छन्। जाजरकोट, कालीकोट, रुकुम पश्चिम र सुर्खेतका राष्ट्रिय युवा संघका युवाहरुले समर्थनको ¥याली निकालेर सभा गरेका छन्।

सभालाई सम्बोधन गर्दै नेकपा नेता महेश बस्नेतले सरकारलाई असफल बनाउने कसरतमा जुटेपछि संसद् विघटन गरेको भन्दै ओलीको समर्थन गरेका छन्। आगामी हुने निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा पार्टी बहुमत मात्रै नभए दुई तिहाइ ल्याउने उल्लेख गरेका छन्।

‘जनताको बहुदलीय जनवादको मार्गदर्शनलाई अघि बढाउन, सरकारमा गएर लोकप्रिय कार्यक्रम कसरी बनाउन सकिन्छ, निर्वाचनको माध्यम प्रतिस्पर्धाबाट हराउन कसरी सकिन्छ।’ उनले भने, ‘केपी ओलीमार्फत जनताको बहुदलीय जनवादको प्रयोग गर्न चाहान्छौँ। रक्षा गर्न चाहान्छौँ। देशको विकास गर्न चाहान्छौँ। यही जिम्मेवारी बोकेर युवा जनताको घर–घर जानुहोला।’

प्रचण्ड र नेता नेपाल पक्षमा बहुमत संख्या नभएको बस्नेतको दाबी छ।

त्यस्तै, जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अध्यक्ष प्रचण्ड र नेता नेपाललाई अझै केही नबिग्रिएको भन्दै एक हुन आग्रह गरे।

 

‘प्रधानमन्त्री ओली नेतृत्वको पार्टी नेकपा हुन्छ। चुनाव चिह्न सूर्य हुन्छ,’ राज्यमन्त्री रावतले भने, ‘सवै नेता कार्यकर्ता युवा साथी निर्वाचनको तयारीमा जुट्नुस्।’

त्यस्तै, सोमबार वीरेन्द्रनगरमा अध्यक्ष प्रचण्ड र नेता नेपाल पक्षका नेताले पार्टीको विधि, पद्धति र विधान विपरीत हिँड्ने ओलीको कदमलाई ठेगान लगाउन आफूहरु जिल्ला तहमा पुगेको बताएका छन्।

‘पार्टीको विधि र विधान नहेरेर अघि बढ्ने, गणतन्त्रमाथि धावा बोल्ने, जनताको भावनामाथि खेलबाड गर्ने व्यक्तिवादी चिन्तन बोकेर ओलीको रक्षा गर्न दिएका अभिव्यक्ति सच्याउनुहोस्।’ नेता नेपाल निकट केन्द्रीय सदस्य निरज आचार्यले भने।

आचार्यले आधिकारिक नेकपा पार्टी आफ्नो पक्षको भएको दावी गरेका छन्। अध्यक्ष प्रचण्ड र नेता नेपाल पक्षमा बहुमत सदस्य संख्या भएकाले सूर्य चिह्न पनि आफ्नै पक्षको हुने आचार्यले दावी गरे।

अर्का केन्द्रीय सदस्य एवं नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पार्टीभित्र बहस, छलफल नगरेरै व्यक्तिवादी सोच, चिन्तनले देश अप्ठ्यारोमा परेको बताए।

अध्यक्ष प्रचण्ड पक्ष र नेता नेपाल पक्षको विरोध प्रदर्शन मंगलबार तय गरिएको छ।

कांग्रेसको विरोध

प्रतिनिधिसभा विघटनपछि देशभर विरोध र प्रदर्शन भइरहेको छ। कांग्रेसले सोमबार सुर्खेत १ मा विरोध सभा गरेको छ। कांग्रेसले आफ्ना भातृ संघ–संगठनसहित जिल्ला तहका नेताहरु विरोध सभा गरेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell