काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेताहरुलाई प्रयोग नगरेको तर उनीहरुले आफूलाई प्रयोग गरेको दावी गरेका छन्।
प्रचण्डले नेताहरुको प्रयोग गर्ने र फाल्ने गरेको गुनासो रहेको प्रश्नमा प्रचण्डले आक्रोशित हुँदै त्यो सबै झुटो भएको बताएका हुन्। कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा प्रचण्डले प्रधानमन्त्री मनखुसी रुपमा संसद् विघटन गरेको समेत बताए।
मोहन बैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्द 'विप्लव' र वामदेव गौतम अहिले प्रचण्डसँग नहुनुको कारण सोधिएको प्रश्नमा प्रचण्डले त्यसलाई अन्यायपूर्ण र गलत विश्लेषण भएको बताएका हुन्।
‘नेताहरुको प्रयोग गर्ने र फाल्ने गरेकोले नेकपामा यस्तो स्थिति आएको भन्नु गलत हो। यो अन्यायपूर्ण र गलत विश्लेषण हो। कसले के भन्यो भन्दा कसले के गर्यो भन्ने महत्व हो। ओली संसद् विघटन गर्ने, म सडकमा बसेर खबरदार गर्ने अनि म नै गलत ?’ प्रचण्डले भने।
प्रचण्डले संविधान बनाउछु, सेना समायोजना गर्छु भन्दा वैद्य नमान्नु आफ्नो गल्ती कसरी भयो भन्दै प्रचण्डले प्रश्न गरे। यस्तै, आफूले संविधान बनाउन मिहिनेत गरेको तर बाबुराम हिँडेर जानुमा आफू कसरी दोषी भएको उनको प्रश्न थियो।
प्रचण्डले बरु नेताहरुले आफूलाई ‘युज एन्ड थ्रो’ गरिएको दाबी गरे।
‘यहाँ युज एन्ड थ्रो मलाई गरिएको छ। झगडा गरे सबैलाई मिलाउने मान्छे हो म। अहिले केपी जस्तो पात्र पर्यो। अली सरल पात्र भएको भए मिलाउँथेँ।’ उनले भने।
प्रचण्डले संविधान निर्माणको समयमा केपी शर्मा ओली र सुशील कोइराला सहज ढंगले संविधान बनाउने पक्षमा नभएको बताएका छन्।
‘मैले हेर्दा उहाँहरु सहज ढंगले संविधान बनाउने पक्षमा देखिनँ। यो एतिहासिक तथ्य हो। त्यसैले केपी ओलीलाई संविधान बनाउन सहयोग गर्नुस्। म तपाईंलाई प्रधानमन्त्री बनाउँछु भनेपछि संविधान बन्यो। १६ बुँदे सहमति गर्दाको कुरा हो यो। यस्तै, सुशील कोइरालालाई राष्ट्रपतिमा जानुहुन्छ भने मेरो सहमति भनेपछि संविधान बन्यो।’ उनले भने।
संविधान निर्माणको काम पूरा गर्न ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्नु आफ्नो गल्ती नभएको उनले बताए।
यस्तै, प्रतिनिधिसभा विघटन गरेर केपी शर्मा ओलीले हारेको र आफूले जितेको प्रचण्डको भनाइ थियो।
‘केपी ओलीले पश्चाताप गरेर आए र पार्टी एकता कायम गर्छु भने मेरो समर्थन छ। तर केपी ओली त्यो गर्नु हुन्न। त्यो भ्रम नपरोस्। तत्काल एकताको सम्भावना छैन। दुई चार वर्षपछि भन्न सक्दिनँ। तर अहिले ओलीले जे गर्नुभयो। संसद् भंग गरेर उनले इतिहासमा कलंकको टीका लगाउनु भयो।’
प्रचण्डले संसद भंग संविधानले कल्पना नै नभएको बताए। प्रधानमन्त्रीलाई संसद भंग गर्ने विशेषाधिकार हटाइएको बताए। आक्रोसित रुपमा प्रचण्डले प्रधानमन्त्रीले देश विघटन गर्छु भने मान्ने भन्दै प्रश्न गरे।
आक्रोश व्यक्त गर्दै प्रचण्डले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले जे पायो त्यही गर्ने? नेपाल भन्ने देश आवश्यक देखिनँ विघटन गर्ने भनेर प्रधानमन्त्रीले भन्ने मान्ने? दिउँसो छ, केपीजीले प्रस्ताव पास गरेर रात पर्यो भनेर प्रस्ताव पारित गरेर राष्ट्रपतिकोमा पठाउनुभयो भने हामी रात भयो भनेर सुत्न जाने? मिल्छ? संविधानले कल्पना नै गरेको छैन विघटनको । चार वटा विकल्प प्रयोग गरेर नभए मात्र विघटन भनेको छ । उहाँ बडो मनखुसी गर्ने?’
प्रधानमन्त्रीले चुनाव गर्नेमा आफूलाई विश्वासै नभएको प्रचण्डको दावी छ। प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको सकारात्मक बुद्धि नभएको प्रचण्डको भनाई छ।
‘सकारात्मक बुद्धि हो यो? संसदमा नै गएर विश्वासको मत लिएको भए ओली इतिहासमा स्थापित हुन्थे। तर उनले कलंकको टीका लगाए।’
