काठमाडौं : कुनै बेला निर्णय लिन नसक्ने पार्टीका रुपमा स्थापित थियो नेकपा एमाले। वामपन्थी नेता चित्रबहादुर केसीले एमालेको ढुलमुले चरित्रलाई लिएर भनेका थिए - एमाले भनेको हिलोको किलो भएको छ। कहिले यता ढल्किन्छ कहिले उता।
नेता केसीको त्यो अभिव्यक्ति यतिखेर ठ्याक्कै नेपाली काँग्रेसमा लागू हुन्छ। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चित्रबहादुर केसीले भनेको हिलोको किलो बनिरहेको छ। काँग्रेसका नेताहरु देउवा झै लरबरिन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा हत्या गर्ने निर्णय र त्यसलाई रबर स्ट्याम्पका हैसियतमा सदर गर्ने राष्ट्रपतिको कदमविरुद्ध नेपाली काँग्रेसको बोली परस्पर बाझिनेखालको छ। प्रधानमन्त्री ओलीको हठ मुलुकको स्थायित्वमाथि कुठाराघात सावित भइसकेको छ। नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादमा समग्र मुलुकलाई मुछेर उनले आफ्नै समृद्धिको नारा कुल्चिएका छन्। ओलीका अहमताले भरिएका निर्णयहरुमाथि निरीह र लाचार भएर बसेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूह ढिलो गरी विद्रोहमा उत्रिएको छ। ओलीलाई समयमा नै काबुमा राख्न सकेको भए संविधानमाथिको उदण्डताको स्थिति नेपाली जनताले बेहोर्न पर्ने थिएन।
प्रधानमन्त्री बन्न कार्यकालको भागवण्डा गर्दै एक भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ताको लुछाचुडीको असर पार्टी विभाजन अप्रत्यासित होइन। स्वार्थले जुटेको गठबन्धनको गाँठो कुनै बेला फुस्किनु नै थियो। तर, यो फुटको संघारमा नेपाली काँग्रेस निर्णयहीन भएर मझधारमा उभिएको छ। मुलुकको अराजनीतिक कदमलाई अदालतको व्याख्या कुर्नु आफैँमा विचारहीनताबाट गुज्रिनु हो। विभाजनको बाटोमा हिँडेको नेकपामा जुन स्वार्थ केन्द्रित चरित्र छ, यतिखेर नेपाली काँग्रेसभित्र पनि तिनै तत्वहरु प्रभावी बन्दै गइरहेका छन्। प्रधानमन्त्री ओलीको प्रमुख प्रतिक्षी दलका नेता देउवासँगको सानिध्यता स्थापित हुँदै गइरहेको छ। ओली सत्ताको दासका रुपमा काँग्रेसले आफ्नो पहिचान बनाउने हो भने बेग्लै, अन्यथा सरकारको कदमको विरोधमा उत्रिनुको विकल्प थिएन। तर, दुर्भाग्य काँग्रेस आफैँमा रुमलिइरहेको छ।
काँग्रेसले हिजो देशव्यापी आन्दोलन गर्यो। आन्दोलनको राप धेरैले अनुमान गरेको हुनुपर्छ। ओलीको कदमलाई प्रतिगामी भन्दै भाषण गर्ने काँग्रेसी नेताका अभिव्यक्तिमा चुनावी अभियानमा जुट्ने संदेश जोडिएर आउनुको अर्थ के हो? संविधानको अपव्याख्याको विरुद्धमा आन्दोलन केन्द्रित गर्नुको साटो चुनावमा भाग लिने रणनीतिले के ओलीको कदम ठीक हो भन्ने स्थापित गर्दैन? जनताले ५ वर्ष कम्युनिस्टहरुलाई रोजेका हुन्, त्यसमध्ये ३ वर्ष सकियो। अब दुई वर्ष कुरेर ताजा अभिमत लिन जानुको साटो 'तातै खाउँ जल्दी मरूँ' किन गर्न पर्यो काँग्रेसले? जनताको चाहनाले चुनाव खोजेको होइन अहिले, ओलीको अहमताले गरेको निमन्त्रणामात्र हो। त्यसमा अदालतले के फैसला दिन्छ प्रतीक्षाकै विषय छ। तर त्यसअघि नै अदालतले ओलीको कदमलाई साथ दिने अपेक्षासहित काँग्रेसले के चुनावमा जान जनतासँग म्यान्डेट लिएको हो? काँग्रेसको चुनावी अभियानले अदालतको फैसलालाई असर पार्दैन? काँग्रेसले यसबारे जनस्तरमा कुनै छलफल चलाएको छ? ओलीसँग देउवाको गठजोडलाई किन काँग्रेस शीर्ष तहले साथ दिँदैछ?
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निक्कै रणनीतिक छन्। कार्यकाल लम्ब्याएर अधिवेशनको भेलमा जानुपर्ने समय उनी मस्त रहे। पदाधीकारी नियुक्ति र पार्टी भातृ संगठनहरुको अधिवेशनमा समेत उनको ध्यान पुगेन। कार्यकाल पूरा भएर थपिएको समयमा महाधिवेशनको मिति तय हुँदामात्रै पदाधिकारी थप्ने उनको शैलीलाई काँग्रेसीले प्रतिवाद गर्न सकेनन्। देउवा नेतृत्वमा काँग्रेसले आफूलाई जनतामा पुर्याउन सकेन। न संगठन विस्तारका कुनै गतिविधि नै हाँक्न सक्यो। डुक्रिँदै बित्यो सभापति देउवाको कार्यकाल। महाधिवेशनले झक्झकाएपछि उनी व्युँझिए। फेरि सभापति बन्ने उनको रहरमा उपसभापति रहेका विमलेन्द्र निधिको आकांक्षाले उनलाई अत्यायो। पूरै कार्यकाल देउवाको गतिविधिमाथि मौन रहेका पार्टीको उपल्लो तहका नेताहरुमा पनि सभापति हुने रहर थपियो। त्यसपछिमात्र उनीहरु देउवाको गतिविधिको आलोचनामा उत्रिए। तर, देउवा इतर समूहको धरातल पनि उस्तै रह्यो। जनतासँग उनीहरु पनि जोडिन सकेनन्। यतिखेर देउवाले ओलीको रणनीतिलाई साथ दिँदा त्यसको प्रतिकारमा उभिन नसक्नुले सिंगो काँग्रेस अवसरवादभन्दा माथि उठ्न नसक्ने देखाएको छ।
हिजो नेपाली काँग्रेसका अधिकांश नेताहरु विरोध सभामा उत्रिए। यो विरोधसभा थियो कि आगामी निर्वाचनको प्रतीक्षाको खुशीयाली? विरोधाभाषपूर्ण देखियो नेताहरुको अभिव्यक्ति। ओलीको कदमको विरोधभन्दा चुनावमा जान पाए नेकपा फुटेको फाइदा लिने लोभमा र्याल काडिरहेका काँग्रेसी नेताहरुको अभिव्यक्ति अलिकति पनि जनता तान्ने खालको थिएन। प्रधानमन्त्री ओलीको अहंकारबाट आजित जनता प्रचण्ड र माधवकुमार नेपालको लालच नबुझ्ने छैनन्। त्यहीँ काँग्रेसीले देखाएको चरित्र पनि उनीहरुका लागि नौलो होइन - जनतामा जान नसक्ने र अरुको फुटमा जितको च्याँखे थाप्ने शैलीले काँग्रेस स्थापित हुन सक्दैन। यतिखेर हिलोमा गाडिएको किलो नभइ जनताका पक्षमा उत्रिनु र असंवैधानिक कदमको कडा प्रतिवादमा लाग्नुबाहेक काँग्रेसले आफ्नो अस्तित्व रक्षाका लागि लिने रणनीति दीर्घकालीन राजनीतिका लागि फाइदाजनक हुनेछैन। जनता चुनावका लागि आतुर छन् कि छैनन् भन्ने समेत बुझ्न काँग्रेसले चाहेको छैन। चाहेको छ त - आरजु राणा, प्रकाशशरण महत, शेखर कोइराला, रामचन्द्र पौडेल, विमलेन्द्र निधिहरुको हारको बदला लिन। त्यो पनि काँग्रेस बलियो भएर होइन, नेकपा फुटको आडमा। जनताको आकांक्षा नहेर्ने र फुटमा जितको खोजी गर्ने हो भने काँग्रेस पनि सग्लो नरहन सक्छ।
देउवाले प्रधानमन्त्री ओलीको कदम अदालतमा गइसकेकाले नबोल्न निर्देशन दिए हिजो सार्वजनिक रुपमै। अझ यो पुरानै चलन भएकोसमेत भन्न भ्याए देउवाले। त्यहीँ नै उनी कति हिलोमा गाडिएको किलो बनेका छन् सजिलै बुझ्न सकिन्छ। उनले भने झैं अदालतमा गइसकेको विषय नै भन्नु थियो त किन विरोध सभा गरिरहेको? विरोध गरेजस्तो पनि गर्ने र ओलीको कदममा काँधमा काँध मिलाउने उनको रणनीति यतिविघ्न छरपष्ट भइसक्दा पनि उनीप्रति काँग्रेसका नेताहरु त्वमं शरणम किन गरिरहेका छन्?