
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा दुई भागमा बाँडिएको छ र अहिले द्वन्द्व चलिरहेको छ वैधानिकताको। प्रचण्ड-माधव नेपाल समूहले ओलीको कदम असंवैधानिक भएको भन्दै सडकमै उत्रिएर बिरोध गरिएको छ भने ओली समूह प्रधानमन्त्रीको बचाउमा उत्रिएको छ। नेकपाको टकराव अहिले यसको भातृसंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयू) मा पनि छरपस्ट छ।
केही दिन अघि अखिलका सह-संयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै अखिलका संयोजक ऐन महरलाई कारवाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेका थिए। उता, ओली समूहका ऐन महरको नेतृत्वमा पुस १० गतेदेखि १२ गतेसम्म अनेरास्ववीयूले दोस्रो पूर्ण बैठक सम्पन्न गरेर केन्द्रीय कमिटीको संख्या १ हजार ९९ पुर्यायो। यसमा ऐन समूहले ३ सय ३५ केन्द्रीय सदस्य मध्ये १ सय ७५ जना सदस्यको बहुमतमा वैधानिक हिसाबले बैठक बसेको र विधान बमोजिम केन्द्रीय सदस्य बढाएर १ हजार ९९ पुर्याएको दाबी गरेको छ।
नेकपामा प्रधानमन्त्री ओलीले विवादका बिच केन्द्रीय कमिटी सदस्य थपेको शैलीमा महर नेतृत्वको अखिलले केन्द्रीय कमिटी सदस्य थपेको हो।
'अनेरास्ववीयूकोको २०७६ पुस २७ र २८ गते सम्पन्न प्रथम पूर्ण बैठकबाट पारित भइ लागू भएको अन्तरिम विधान २०७६ को भाग ९ धारा ५७ मा भए बमोजिम विधानको धार १५ संशोधन गरी अनेरास्ववीयू केन्द्रीय कमिटी १ हजार ९९ सदस्यीय हुने ब्यवस्था गरिएको छ,' ऐन महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै संयोजक महरले आफ्नो पक्षमा बहुमत भएको भन्दै अर्को समूहमा गएकाहरुलाई पनि आफ्नो समूहमा आउन आग्रह गरेका थिए।
त्यस्तै, महर समूहबाट केन्द्रीय उपाध्यक्ष रहेका महेशकुमार बर्तौलाले दाबी गरे : हामीसँग ५८/६० प्रतिशतको हाराहारीमा बहुमत छ।
'दोस्रो पूर्ण बैठकमा केन्द्रीय कमिटीको ३ सय ३५ सदस्यमध्ये १ सय ७२ जना उपस्थित हुनुहुन्थ्यो,' उनले भने, 'एकता पूर्व ८७ प्रतिशतमा थियौं। करिब १३ प्रतिशत माधव नेपाल समूह थियो। एकता पछि क्रान्तिकारी ४० प्रतिशत आउँदा ५३ प्रतिशत हुने उनको तर्क छ। 'तर क्रान्तिकारीका ५/७ प्रतिशत र माधव नेपालको पनि ३/४ प्रतिशत हामीकहाँ आएकाले हामी करीब ५५/६० प्रतिशत हुन्छौं,' उनले भने।
यता प्रचण्ड-माधव समूहका अखिलका सहसंयोजक रञ्जित तामाङ उनको दावी स्वीकार्न तयार छैनन्।
'तत्कालीन एकता हुँदाको ३ सय ३५ सदस्यीय कमिटीमा उहाँलाई ४० प्रतिशत पुर्याएर देखाउन आग्रह गर्छु,' उनले चुनौती दिए।
१ सय ७५ जनाको बहुमत पुर्याएर बैठक बसेको दाबीलाई चुनौती दिँदै तामाङले भने, 'नाम लिस्ट देखाउनुस्। म १ सय ९८ जना साथीहरुको हस्ताक्षर अहिले उपलब्ध गराउन सक्छु।'
तामाङले जिल्ला समितिको तथा स्ववियु सभापतिहरु पनि धेरैजसो आफ्नो समूहमा भएको दाबी गरे। त्यस्तै, झण्डा र पार्टी कार्यालय पनि बहुमत भएकाले स्वत: आफ्नै भएको उनले दावी गरे।
'संगठनको तत्कालीन कार्यालयलाई नै हामीले केन्द्रीय कार्यालय बनाएको हो। उहाँहरुको कार्यालय नै थिएन। कार्यालय हामीसँगै छ। म कार्यालयमै छु,' तामाङले भने, 'देशभरिका कार्यालयहरु बहुमत जता छ त्यतै हुन्छ। संगठनको नाम, संगठनको झण्डा सबै आज हामीसँग छ।'
महर समूहको केन्द्रीय कमिटीको दाबीलाई तामाङ स्वीकार्न तयार छैनन्। केन्द्रीय समितिमा ८१ प्रतिशतको महर पक्षको दाबीलाई ब्यङ्ग्य गर्दै तामाङले भने : ८१ प्रतिशत भन्नु भएको होइन होला, ८१ जना भन्नु भएको होला।
'हामीले एकता गर्दा १ सय ८० र १ सय ५५ संख्या बाँडेको हो। तत्कालीन क्रान्तिकारीको १ सय ५५ र तत्कालीन अनेरास्ववियुको १ सय ८०,' केन्द्रीय कमिटीको समीकरणबारे स्पस्ट पार्दै अध्यक्ष तामाङले भने, 'त्यसमध्येमा सुदेश पराजुली, आरती लामा, वसिम आलम लगायतको आज ४५ जना साथीहरु मसँग हुनुहुन्छ, अनेरास्वियुको पृष्टभूमिबाट। ४५ जना केन्द्रीय सदस्यहरु। १ सय ५५ जनाबाट थप ४५ जना। त्यसमा तीनजना ऐनजी तर्फ जानु भएको छ।'
त्यस्तै, महर समूहका केन्द्रीय उपाध्यक्ष महेश कुमार बर्तौला एउटा समूह चोइटिएर गएको हिसाबले पछिल्लो घटना क्रमलाई बयान गर्छन्।
'जहाँसम्म पार्टी एकता पछी क्रान्तिकारी आयो र अहिले विभाजित या अर्को धारमा गयो। र, पूर्व अनेरास्ववियुमा पनि माधव नेपालको समूह अर्को गुटमा मिसिँदा फरक पर्छ कि भन्ने चिन्ता देखिएको छ। त्यो बिल्कुल होइन। १२/१५ प्रतिशत हो जम्मा उहाँहरु। त्यति विद्यार्थीहरु जानुभयो भने त्यसमा पनि केही साथीहरु हाम्रै पक्षमा हुनुहुन्छ। हाम्रो साथीहरु घट्नु भएको छैन,' उनले भने, 'मूल प्रवाह हामी नै हौं। संस्थापन हामी नै हौं। वहाँहरु सानो आकारमा चोइटेर जानु भएको हो। जहाँसम्म पूर्व क्रान्तिकारीहरुको कुरा छ वहाँहरु पनि एक ढिक्का हुनुहुन्न। क्रान्तिकारीको केन्द्रीय सचिव डीबी साउद लगायतको पङ्क्ति हामीसँगै छ। संगठनको मूल नेतृत्व भनेको ऐन महर नै हो।'
त्यस्तै कार्यालय, झण्डालगायत सबै संस्थापन भएकाले आफूसँगै रहने बर्तौलाको दाबी छ। भने, 'रत्नपार्कमा गएर कसैले माग्दैमा दिने कुरा आउँदैन।'
प्रचण्ड-माधव समूहको अखिलले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर मात्र 'मसाल राख्ने' बताएको छ भने केपी ओली पक्षको अखिलले प्रधानमन्त्रीको कदमलाई स्वगत गर्दै स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा केन्द्रित हुने बताएको छ।