काठमाडौं : सरकारले २०७५ फागुन अन्तिम साता नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहलाई प्रतिबन्ध लगायो। सर्वसाधारणको ज्यान नै जानेगरी बम विस्फोट र चन्दा आतंक मच्चाएको आरोपमा विप्लव समूह प्रतिबन्धमा पर्यो। त्यसयता धमाधम नेता कार्यकर्ता धरपकड हुन थाले। केहीले संगठन छाडे। केही भूमिगत भए। अहिले यो समूहका संयोजक विप्लव आफै भूमिगत छन्। बेला बेला टावरमा बम हान्ने, सरकारी अधिकारीलाई कालोमोसो दल्ने जस्ता जनकारवाही भने गरिरहेको छ।
आइतवारमात्रै सङ्खुवासभामा विप्लव समूह प्रहरीसँग भिड्यो। चैनपुर नगरपालिका–४ मैदाने नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो। भिडन्तमा मानवीय क्षति भने भएन। प्रहरीले विस्फोटक पदार्थ र सैन्य प्रशिक्षण सामग्री भने बरामद गर्यो। यसबाटै पनि विप्लव समूह राज्यसँग लड्न तयार रहेको देखिन्छ।
राज्यले प्रतिबन्ध लगाएको र राज्यसँग लड्न खोजिरहेको उहि विप्लवसँग मंगलवार पुराना कम्युनिस्ट हस्ती मोहन वैद्य नेकपा (क्रान्तिकारी माओवादी) ले मोर्चाबन्दी गरेका छन्। उनीमात्रै होइन अहिले विभाजनको मुखमा पुगेको ने क पा लाई निर्वाचन आयोगमा चुनौती दिने ऋषिराम कट्टेल (नेकपा) र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिँदै एमाओवादी ब्युताउने विश्वभक्त दुलाल आहुती (वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल) पनि विप्लवसँग संयुक्त मोर्चा निर्माण गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमले वैद्य, कट्टेल र आहुतीलाई विप्लवसँग सहकार्य गर्न प्रेरित गरेको हो। उनीहरुले ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको उल्लेख गरेका छन्।
चारै पार्टीका नेतृत्वले मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै यसको अवधारणा, संरचना र आगामी कार्यक्रम शीघ्र घोषणा गरिने जानकारी दिएका छन्। विज्ञप्तिमा दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयास स्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इशारामा केपी सरकारले संसद विघटन गरेको उल्लेख छ।
चारै दलले ओलीको कदम निरंकुश एवं फासीवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले देश र जनताले भोगेका समस्याहरुको वास्तविक जनपक्षीय समाधान संसद पुनर्स्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र केवल सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन। यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र/वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ।’
के होला वैद्यता?
अहिलेका कम्युनिस्ट नेताहरुको गुरु मानिने मोहन वैद्य नै प्रतिबन्धित विप्लव समूहसँग मोर्चाबन्दीमा लागेपछि वैद्यको वैद्यता के होला? विप्लव समूहमाथि कारवाही गर्दा वैद्यमाथि राज्यले कस्तो व्यवहार गर्ला? सँगै आन्दोलन र संषर्घका कार्यक्रम गर्दा के होला भन्ने प्रश्न उठेको छ।
गृह मन्त्रालयका अधिकारी भने प्रतिबन्धित समूहसँग साँठगाँठ गर्ने पनि कारवाहीको भागिदार हुने बताउँछन्। गृह प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘जुन गतिविधिलाई प्रतिबन्धित गरिएको छ। त्यस्तो गतिविधिसँग साँठगाँठ गर्ने, एकता गर्ने र त्यो गतिविधिमा सहभागी हुने सबै कुरा एउटै हिसाबले लिने हो। कारवाही नै गर्ने हो।’
नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवर पनि प्रतिबन्धित पार्टीसँग सम्बन्धित गतिविधि नियन्त्रण गरिने बताउँछन्।
‘अरुको हकमा वैधानिक रुपमा कानुन बमोजिम शान्तिपूरण रुपमा आन्दोलनका कुरा विरोध गर्न पाइयो। त्यहीँ अनुसार ट्रिट हुने हो। स्वाभाविक रुपमा उनीहरु प्रतिबन्धित भइसकेको हुनाले हामीले सुक्ष्म निगरानी गरेर गतिविधि र संलग्न मानिसहरुलाई कारवाही गर्छौं,’ उनले भने।
वरिष्ठ अधिवक्त दिनेश त्रिपाठी भने यसलाई राजनीतिक मुद्दा भएको बताउँछन्। ‘यो पोलिटिकल इस्यु हो। यसमा खासै कानुनी कुरा आउँदैन। राजनीतिक रुपमा अगाडि बढ्छन्। विप्लवलाई त कारवाही गर्न सक्या छैन। अरुलाई के कारवाही गर्छ? कारवाही त्यस्तै हो। पोलिटिकल कुरामा कानुनी कारवाही गरेन सम्भव हुँदैन,’ उनले भने।
