काठमाडौं : प्रहरीले महालक्ष्मी विकास बैंकमा भएको घोटला प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को टोलीले सोमबार चन्द्रागिरी नगरपालिका बस्ने ६७ वर्षीय पद्मा ज्ञवालीलाई नियन्त्रणमा लिएको हो।
उनी घोटला प्रकरणको मुख्य योजनाकार भएको प्रहरीले जानकारी दिएको छ। बैंकका कर्मचारीसँग मिलेर उनीहरुले कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरी बढी ऋण दिलाउने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। यस प्रकरणमा सात करोड बयालिस लाख एकसठ्ठी हजार सात सय त्रिचालिस रुपैयाँको बैंकिङ कसुर भएको देखिएको छ।
'उनी सुन जाँचकी हुन्। उनको योजनामा नै घोटला भएको देखिन्छ, ' व्यूरोका प्रमुख डीआइजी सहकुल थापाले भने।
पुस ४ गते प्रहरीले बैंकका शाखा प्रमुख सहित ६ जनालाई बैंकिङ कसुर अभियोगमा नियन्त्रणमा लिएको थियो।
बैकका शाखा प्रमुखहरु मोरङको विराटनगर घर भएका अनिस सिंह सिजापती, पोखरा महानगरपालिका घर भएकी पिंकु पालिखे र स्मृती राना रहेका थिए।
त्यस्तै ऋणीहरुमा खोटाङ साकेला गाउँपालका वडा नम्वर २ घर भएका पुर्ण राई,देवानन्द राई र धनकुटाका सन्दिप लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ।
