PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नेकपाको विरोध सभा सुरु, ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन



पहिलोपोस्ट

नेकपाको विरोध सभा सुरु, ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज राजधानीमा विरोधसभा गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर नेकपाको यो समूह आन्दोलनरत छ। राजधानीका १३ स्थानबाट नेकपाका नेता तथा कार्यकर्ताहरुले जुलुस निकाल्दै विरोध र्‍यालीको आयोजना गरेका थिए। र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको हो। सभामा विभिन्न वक्ताहरुले बोल्नेक्रम जारी छ :

गणतन्त्र विरुद्ध खिसिट्युरी गर्ने ओली कामचलाउ भइसके : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र विरोधी भएको बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनीमार्गमा भइरहेको विरोधसभालाई सम्बोधन गर्दै नेपालले जनआन्दोलनको क्रममा ओलीले गण्तन्त्रविरुद्ध आन्दोलनको खिसिट्युरी गर्ने गरेको सुनाए।

'ओलीले गण्तन्त्रविरुद्ध खिसिट्युरी गर्ने गरेका थिए। उनी भन्ने गर्थे - बयलगाडा चढेर वासिङटन पुग्न सकिँदैन। सडकमा सानो स्वरले कराएर, राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिँदैन भनेर महामहिम ओलीले भनेका थिए। त्यसैले ओली संघीयता र गण्तन्त्रविरुद्ध प्रतिकदम चाले। त्यसैले जनता सडकमा ओर्लिए,' नेपालले भने।

ओलीमा कम्युनिष्टमा हुनुपर्ने गुण नभएको भन्दै नेपालले उनलाई अझै अनुशासित बन्ने अवसर भएको बताए।।

भने, 'ओलीलाई अनुशासनको कारवाही मात्रै गरेका छौं। पार्टीबाट हटाएका छैनौं। ओलीलाई अन्तिम मौका दिएका छौं। सुध्रिनुहुन्छ कि भनेर।'

तर नेपालले ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको बताए।

भने, 'बालुवाटारको बालुवा पेल्दा पेल्दा तेल निकाल्छ सक्छ भनेर म स्याबास भन्छु। बांगो पुच्छरलाई सोझो बनाउने सकिन्छ भनेर कसैलाई लाग्छ भने म स्याबास भन्छु।'

नेपालले नेकपा र सूर्य चिह्न नेकपाको भएको बालुवाटारको गुटको नभएको बताए।

'भ्रममा नपर्नुस्। बालुवाटारमा भएको भेला गुटको भेला हो। त्यो नेकपाको बैठक होइन। नेकपा हामी हौं सूर्य चिह्न हामी सँग छ। बालुवाटारमा छैन।'

प्रधानमन्त्रीलाई प्रतिनिधसभा विघटन गर्ने कुनै अधिकार नै नभएको भन्दै नेपालले ओलीले संविधानविरोधी काम गरेको बताए।

नेपालले प्रतिनिधिसभा विघटन भएपछि प्रतिनिधिसभा सदस्य नभएको सदस्य व्यक्ति प्रधानमन्त्री हुन सक्दैन व्यवस्था भएको भन्दै ओलीले आफैलाई कामचलाउ प्रधानमन्त्री बनाएको बताए। तर, ओली कामचलाउ भनेर कतैबाट कुनै आदेश विज्ञप्ति ननिकालेको भन्दै आलोचना गरे। ओलीले पदको ललिपप बाड्दै हिँडेको आरोप पनि लगाउ।

 'ओलीले नियुक्ती दिन्छु टिकट दिन्छु भनेर लोभलालच बाड्दैछन्,' उनले भने।  ओलीले वामदेव गौतम, प्रचण्ड र आफूलाई छुट्टाछुट्टै बोलाएर फकाउने गरेको उनले बताए।

नेपालले केपी वंश र प्रवृत्ति बाट मुक्ति पाउने बेला भएको भन्दै ओलीमा रहेको व्यक्तिवाद निरंकुशतावादविरुद्ध आन्दोलन गर्ने बताए।  

'खुट्टाले संविधान कुल्चिएर प्रतिनिधिसभाको विघटन गरियो।  निरंकुश बाटोमा लागेका केपी ओली र प्रोपर्टीको आयु पुग्यो। अब जनता सडकमा ओर्लिसक्यो ' उनले भने।

अदालतमा अहिलेको यो मुद्दा विचाराधीन भएको भन्दै संविधानको पक्षमा फैसला हुनेमा उनले विश्वास व्यक्त गरे।

'चिन्तित हुनुपर्दैन। टाउको समाएर बस्नु पर्दैन। आन्दोलन गरेर सडक तताउनुपर्ने समय हो। गलत कदमको जवाफ दिन जनता तयार छन्,' नेपालले भने।'यहि प्रवृत्ति थियो राजामा। गिरिजाको विरुद्धमा मलाई उकास्के काम गर्थे। म हिँडेपछि गिरिजालाई बोलाएर कम्युनिष्टलाई सकाउनुपर्छ भन्थे। दुईजना भेट्दा पोल खोलाखोल भयो। अहिले ओलीमा पनि त्यही प्रवृत्ति देख्न थालेको छ' उनले भने।

'केपी बा' प्रवृत्ती अब समाप्त हुने भन्दै नेपालले प्रतिनिधिसभालाई पुन: स्थापना गर्न आह्वान समेत गरे।

 

 

पार्टीलाई भर्‍याङ बनाएर पोजिसनमा पुगेका ओलीले गफ हाँकेर ३ वर्ष बिताए : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि सडकमा आउन बाध्य भएको बताएका छन्।

‘हरेक पटक सडकमा आउने रहर होइन। तानाशाही केपी ओलीले संविधान लोकतन्त्रमा प्रहार गर्दा सडकमा आउन बाध्य भयौं। सडकमा जनता उत्रिए। असंवैधानिक, प्रतिगामी, प्रतिक्रान्ति कदमविरुद्ध हामी सडकमा उत्रियौं,’ उनले मंगलवार आयोजित विरोधसभामा नेता खनालले भने

बालुवाटार बस्ने तानाशाही र पार्टीविरोधी गुट भएको बताउँदै खनालले ओलीले जनमतको घात गरेको आरोप लगाए। उनले बहुमतको विजय केपी ओली होइन नेकपाको भएको पनि स्ष्ट पारे। ओलीले जनमतको दुरुपयोग गरेर संविधानमाथि हमला गरेको भन्दै उनले त्यसलाई जनताले स्वीकार नगर्ने उल्लेख गरे। ‘आज उपत्यका गर्जमान भएको छ। प्रतिगमनविरुद्ध देशभर नारा उठेको छ,’ उनले भने।

नेता खनालले नेकपा नै देशको आधिकारिक पार्टी भएको र पार्टी मात्रै होइन सूर्य चिन्ह पनि यहीँ पार्टीको भएको दावी गरे। यहीँ पार्टीले देशमा नयाँ ढंगले संसद पुनर्स्थापना गर्ने उनको भनाई छ।

ओलीले पार्टीलाई भर्‍याङजस्तै बनाएको नेता खनालले आरोप लगाए। ‘पार्टीलाई भर्‍याङ बनाएर पोजिसनमा पुगेर पार्टी नीति बिर्सनुभयो। एकलौटी ढंगले क्याविनेट, प्लानिङ कमिसङ, नीति कार्यक्रम ल्याए। पटक पटक सुझाव दिँदा पनि मानेनन्। पुँजीवादी नीति ल्याए। समाजवादमा जान सकिँदैन भन्यौं। एकपटक पनि सुनेनन्। दिनदिनै कार्यक्रम ल्याउनुभयो। गफै गफ हाँकेर ३ वर्ष विताउनुभयो,’ उनले भने।

नेता खनालले गफ र उखान टुक्काबाट देश नचल्ने पनि बताए। ‘पानीजहाजको कुरा गरे। घरघरमा चुलो पुर्‍याउने भने। खै घरघरमा चुलो? आफ्नै घरमा पुर्‍याए होलान। जनताको घरमा त छैन। गफ र उखान टुक्काबाट देश चल्दैन। सहि भिजन नीति चाहिन्छ। ३ वर्ष खेर गयो,’ उनले भने।

नेता खनालले मरिचमान र नगेन्द्र रिजाले गरेजति पनि काम ओलीले गर्न नसकेको टिप्पणी गरे। ‘उहाँ भन्नुहुन्छ विश्वचकित परेको छ भन्नुहुन्छ। उहाँले पुल सडकमा समाजवाद देख्नुभयो। केपी ओलीले रानीपोखरी र धरहरा बनाएको हो? सिकर्मी, कालिगड र इन्जिनियरले बनाएका हुन्। तुइन उन्मुलन गर्छु भने तर अहिले पनि तर्न बाध्य छन्। खोलामा खसेर मरिरहेका छन्। हाम्रो देश अग्रगतितिर जान सकेन,’ उनले भने।

नेता खनालले नेकपालाई एकीकरण गर्ने काममा पनि ओलीले बाधा खडा गरेको आरोप लगाए। ‘ओलीकै सहयोगले ३ वर्ष वित्दा पनि एकीकरणको काम सकिएन,’ उनले भने।

खनालले देशमा नयाँ जनआन्दोलनको सिर्जनमा गरेर संविधानलाई ठिक ठाउँमा ल्याउनुपर्ने धारणा राखे। ‘प्रगतिशील संविधान स्थितरताको आधार हो। कुनै पनि प्रधानमन्त्रीले सनकका आधारमा संसद विघटन गर्न पाउने अधिकार संविधानमा राखेनौं। आफैले बनाएको संविधानमाथि विश्वासघात गर्ने र बलात्कार गरेर प्वाल पार्ने काम गरेका छन्। अस्थिरताको अर्को श्रृखंलातिर जाने खतरा बढेको छ। ति अस्थिरताका प्वाललाई टाल्नुपर्ने छ,’ उनले भने।

खनालले जबसम्म संसदको पुनर्स्थापना हुँदैन, संविधान ठिक ठाउँमा आउँदैन तबसम्म आन्दोलनको आधिबेहरी ल्याउनुपर्ने धारणा राखे। ‘राष्ट्रव्यापी रुपमा आन्दोलन उठाएर अगाडि बढ्नुपर्ने ठाउँमा जनता पुगे,’ उनले भने।

सडकबाटै जनताले राजा फाले, अब केपी ओली शासन पनि ढल्नेछ : अष्टलक्ष्मी शाक्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान माथि कू गरेर जनताको अधिकार खोसेको बताएकी छिन्।

प्रदर्शनीमार्गमा भइरहेको विरोधसभालाई सम्बोधन गर्दै शाक्यले जनताले राजाको निरंकुश शासन सडकबाटै फालेको भन्दै ओली शासनलाई पनि फाल्ने बताइन्।

'हामी राजाविरुद्ध सडकमा ओर्लिएका थियौं। अहिले ओलीविरुद्ध सडकमा छौं। जनताको शक्तिको अघि कस्ता कस्ता तानाशाह त ढले भने ओलीको शासनपनि ढल्नेछ।'

शाक्यले ओली कमरेड नभइ निरंकुश शासक भएको भन्दै भनिन्, 'जनताको अधिकार खोसेर ओली कमरेड रहेनन्। उनी निरंकुश सामन्ती शासक ओली बने। जनताको खोसिएको अधिकार प्राप्त गर्ने आन्दोलन राजाले रोक्न सकेन भने ओलीले पनि सक्दैन।'

गणतन्त्र संघीयत र लोकतन्त्र आएपछि राजनीतिक अधिकार स्थापित भएकोमा नेपालीहरुले गर्व गरिरहेको बेला ओलीले संविधान र जनताको इच्छामाथि नै प्रहार गरेको उनले बताइन्।

संविधान निर्माणपछि राजनीतिक स्थायित्व कायम हुन्छ भनेर जनताले नेकपालाई अभिमत दिएर सम्मान गरेर भन्दै उनले ओलीले जनताको विश्वास तोडेको बताइन्।

'ओली प्रधानमन्त्री भएपछि गण्तन्त्र नेपाल बलियो हुन्छ भन्ने लागेको थियो। तर ओलीले संवधानमाथि कू गरेर जनताको लोकतान्त्रिक अधिकार खोसेको छ' उनले भनिन्।

नारायणकाजी श्रेष्ठ : जनताको साथमा हामी सडकमा ओर्लियौं 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले राजधानीमा विरोध सभा गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरिरहेको हो।

सभामा सम्बोधन गर्दै पार्टी नेता नारायणकाजी श्रेष्ठले ओलीको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध जनता सडकमा ओर्लिएको बताए।  

'संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार छन्,' उनले भने।

देशका सबै राजनीतिक पार्टी देखि नागरिक समाज, विद्यार्थी सबै समूह ओलीको कदमविरुद्ध सडकमा ओर्लिएको भन्दै उनले सरकारको असंवैधानिक कदमलाई असफल पार्न एकताबद्ध भएर जान आह्वान समेत गरे।

श्रेष्ठले आफूहरुको विरोध सभा शान्तिपूर्ण र मर्यादित हुने भन्दै आफूहरुको संघर्षमा घुसपैठ हुन सक्ने उनले बताए। त्यसैले सभा र प्रदर्शन विरुद्ध हुने षड्यन्त्र विरुद्ध सचेत हुनुपर्ने उनले बताए।

प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहने श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell