PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पार्टीलाई भर्‍याङ बनाएर पोजिसनमा पुगेका ओलीले गफ हाँकेर ३ वर्ष विताए : झलनाथ खनाल



पहिलोपोस्ट

पार्टीलाई भर्‍याङ बनाएर पोजिसनमा पुगेका ओलीले गफ हाँकेर ३ वर्ष विताए : झलनाथ खनाल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि सडकमा आउन बाध्य भएको बताएका छन्।

‘हरेक पटक सडकमा आउने रहर होइन। तानाशाही केपी ओलीले संविधान लोकतन्त्रमा प्रहार गर्दा सडकमा आउन बाध्य भयौं। सडकमा जनता उत्रिए। असंवैधानिक, प्रतिगामी, प्रतिक्रान्ति कदमविरुद्ध हामी सडकमा उत्रियौं,’ मंगलवार आयोजित विरोधसभामा नेता खनालले भने।

बालुवाटार बस्ने तानाशाही र पार्टीविरोधी गुट भएको बताउँदै खनालले ओलीले जनमतको घात गरेको आरोप लगाए। उनले बहुमतको विजय केपी ओली होइन नेकपाको भएको पनि स्ष्ट पारे। ओलीले जनमतको दुरुपयोग गरेर संविधानमाथि हमला गरेको भन्दै उनले त्यसलाई जनताले स्वीकार नगर्ने उल्लेख गरे। ‘आज उपत्यका गर्जमान भएको छ। प्रतिगमनविरुद्ध देशभर नारा उठेको छ,’ उनले भने।

नेता खनालले नेकपा नै देशको आधिकारिक पार्टी भएको र पार्टी मात्रै होइन सूर्य चिन्ह पनि यहीँ पार्टीको भएको दावी गरे। यहीँ पार्टीले देशमा नयाँ ढंगले संसद पुनर्स्थापना गर्ने उनको भनाई छ।

ओलीले पार्टीलाई भर्‍याङजस्तै बनाएको नेता खनालले आरोप लगाए। ‘पार्टीलाई भर्‍याङ बनाएर पोजिसनमा पुगेर पार्टी नीति बिर्सनुभयो। एकलौटी ढंगले क्याविनेट, प्लानिङ कमिसङ, नीति कार्यक्रम ल्याए। पटक पटक सुझाव दिँदा पनि मानेनन्। पुँजीवादी नीति ल्याए। समाजवादमा जान सकिँदैन भन्यौं। एकपटक पनि सुनेनन्। दिनदिनै कार्यक्रम ल्याउनुभयो। गफै गफ हाँकेर ३ वर्ष विताउनुभयो,’ उनले भने।

नेता खनालले गफ र उखान टुक्काबाट देश नचल्ने पनि बताए। ‘पानीजहाजको कुरा गरे। घरघरमा चुलो पुर्‍याउने भने। खै घरघरमा चुलो? आफ्नै घरमा पुर्‍याए होलान। जनताको घरमा त छैन। गफ र उखान टुक्काबाट देश चल्दैन। सहि भिजन र नीति चाहिन्छ। ३ वर्ष खेर गयो,’ उनले भने।

नेता खनालले मरिचमान र नगेन्द्र रिजाले गरेजति पनि काम ओलीले गर्न नसकेको टिप्पणी गरे। ‘उहाँ भन्नुहुन्छ विश्वचकित परेको छ। उहाँले पुल र सडकमा समाजवाद देख्नुभयो। केपी ओलीले रानीपोखरी र धरहरा बनाएको हो? सिकर्मी, कालिगड र इन्जिनियरले बनाएका हुन्। तुइन उन्मुलन गर्छु भने तर अहिले पनि तर्न बाध्य छन्। खोलामा खसेर मरिरहेका छन्। हाम्रो देश अग्रगतितिर जान सकेन,’ उनले भने।

नेता खनालले नेकपालाई एकीकरण गर्ने काममा पनि ओलीले बाधा खडा गरेको आरोप लगाए। ‘ओलीकै असहयोगले ३ वर्ष वित्दा पनि एकीकरणको काम सकिएन,’ उनले भने।

खनालले देशमा नयाँ जनआन्दोलनको सिर्जना गरेर संविधानलाई ठिक ठाउँमा ल्याउनुपर्ने धारणा राखे। ‘प्रगतिशील संविधान स्थिरताको आधार हो। कुनै पनि प्रधानमन्त्रीले सनकका आधारमा संसद विघटन गर्न पाउने अधिकार संविधानमा राखेनौं। आफैले बनाएको संविधानमाथि विश्वासघात गर्ने र बलात्कार गरेर प्वाल पार्ने काम गरेका छन्। अस्थिरताको अर्को श्रृखंलातिर जाने खतरा बढेको छ। ति अस्थिरताका प्वाललाई टाल्नुपर्ने छ,’ उनले भने।

खनालले जबसम्म संसदको पुनर्स्थापना हुँदैन, संविधान ठिक ठाउँमा आउँदैन तबसम्म आन्दोलनको आधिबेहरी ल्याउनुपर्ने धारणा राखे। ‘राष्ट्रव्यापी रुपमा आन्दोलन उठाएर अगाडि बढ्नुपर्ने ठाउँमा जनता पुगे,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell