PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

रजनीकान्तले फिर्ता लिए राजनीतिमा आउने निर्णय, किन मागे जनतासँग माफी?



पहिलोपोस्ट

रजनीकान्तले फिर्ता लिए राजनीतिमा आउने निर्णय, किन मागे जनतासँग माफी?

भारतका सुपरस्टार रजनीकान्तले राजनीतिमा आउने निर्णय फिर्ता लिएका छन्।

उनी लामो समयदेखि सक्रिय राजनीतिमा आउने तयारी गरिरहेका थिए। तमिलनाडु विधानसभा चुनावमा लड्ने घोषणा पनि गरेका थिए। तर अब भने रजनी राजनीतिमा आउने छैनन्। मंगलवार रजनीकान्तले ट्वीट गर्दै यो फैसला आफूले स्वास्थ्यका कारणले लिएको उल्लेख गरेका छन्।

पछिल्लो समय रजनीकान्त हैदरावादमा फिल्म ‘अन्नाथे’को शुटिंगमा थिए। १२० जनाको युनिटमा ४ जनालाई कोरोना देखियो। शुटिङ स्थगित भयो। सबैको कोरोना टेस्ट गरियो। रजनीकान्तको नेगेटिभ आयो। तर ४ दिनअघि शुक्रवार रजनी हैदराबादस्थित अपोलो अस्पतालमा भर्ना भए। ब्लड प्रेसरको समस्याले अस्पताल पुगेका रजनी सोमवारमात्रै डिस्चार्ज भएका थिए।

अस्पतालबाट डिस्चार्ज भएपछि रजनीले ट्वीटरमा लामो विज्ञप्ति सार्वजनिक गर्दै आफूले राजनीति र पार्टी सुरु गर्न नसकेकोमा पछुतो लागेको बताएका छन्।

‘मैले जनवरीमा पार्टी शुरू गर्ने घोषणा गरेको थिए। तमिलनाडुमा चुनाव लड्ने पनि भनेको थिए। तर चुनावका क्रममा कैयौ बैठकमा जानुपर्नेछ। र्‍यालीमा जानुपर्नेछ। लाखौ मानिसँग भेट्नुपर्नेछ। यस्तो गरेर म मानिसहरुलाई जोखिममा पार्न सक्दिन्,’ कोभिड महामारीतर्फ संकेत गर्दै रजनीले भनेका छन्।

आफ्नो राजनीतिक करियरका लागि अरुलाई आफ्ठ्यारोमा पार्न नसक्ने उनको भनाई छ। राजनीतिमा आफ्नो प्रवेशको पर्खाइमा रहेका र आफ्नो पार्टीमा सहभागी हुन चाहनेहरुसँग रजनीले माफीसमेत मागेका छन्।

रजनीले डिसेम्बरको सुरुवातमा भने ३१ डिसेम्बरमा आफ्नो पार्टीको नाम सार्वजनिक गर्ने बताएका थिए। ट्वीटमा भनेका थिए, ‘अहिले गरिएन भने कहिले पनि हुनेछैन।’ तर पार्टीको नाम सार्वजनिक हुने मितिको दुई दिनअघि आज रजनी राजनीतिमा आउने निर्णयबाटै पछि हटेका छन्।

रजनीले २०१७ डिसेम्बर ३१ मा चैन्नईको श्री राघवेंद्र कल्याण मंडपममा आफ्ना फ्यानका अगाडि राजनीतिमा आउने घोषणा गरेका थिए। राजनीतिमा आउनुलाई उनले समयको आवश्यकता भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell