PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

इल्या भट्टराई र रोशन मिश्रको ‘असाधारण लेखक’सँग जोडिएका सम्झना



पहिलोपोस्ट

इल्या भट्टराई र रोशन मिश्रको ‘असाधारण लेखक’सँग जोडिएका सम्झना

पोखरा :  आफ्ना पीताहरूसँग जोडिएका यादबारे बोले लेखक इल्या भट्टराई र चित्रकार रोशन मिश्र। तर, ती याद सामान्य जीवन बिताएका बुवा र सन्तानबीचको सम्बन्धका केन्द्रित मात्र भने होइन। कला र सीर्जनात्मक जीवनसँग जोडिएका अनुभूतिहरू हुन्।

लेखकहरू मदनमणि दीक्षित र मनुजबाबु मिश्रमाथि उनीहरूका सन्तानले साटेका सम्झना नेपाल लिटरेचर फेस्टिभलको पहिलो दिनको अन्तिम सत्र रह्यो। यी दुई असाधारण लेखकहरूका सन्तान इल्या र रोशनले आ-आफ्ना पिताको कला, साहित्य एवं लेखकको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे।

इल्याले दीक्षितको साहित्यक लेखनको सुरुवात प्रेमपत्र लेखनबाट भएको बताइन्। उनले एकतर्फी प्रेमिकालाई लेखेको ७ वटा पत्रनै आफ्ना बुवा दीक्षितको साहित्यिक लेखनको आधार भएको बताइन्। ती पत्र दीक्षितले कहिल्यै पनि आफूलाई मन परेकी युवतीलाई दिन भने सकेका रहेनछन्। तिनै पत्र पछि दीक्षितकी श्रीमती रीताले प्राप्त गरिन्। ती पत्रका कारण परिवारमा सीर्जना भएको माहोलबारे भनिन्,’घरमा हंगामा नै भएको थियो।‘  

उनले मदनमणिको राजनीतिक जीवन बारे पनि उनले चर्चा गरेकी थिइन्। राजनीतिले आफ्ना बुवालाई निकै माथि पुर्‍याएको तर कहिल्यै ‘नेता’ प्रवृत्ती हावी नभएको उनको तर्क रह्यो। भनिन्,’राजनीतिमा लाग्नु भयो। त्यसका कारण परिवारबाट टाढा रहनु भयो। छोराछोरी कति कक्षामा पढ्छन् भन्ने कुराको समेत जानकार हुनुन्थेन।‘

इल्याले आफ्ना बुवाको फोटोग्राफीको कुशलताबारे पनि कार्यक्रममा बोलिन्। कसैले उपहार दिएको सानो क्यामेराले फोटो खिच्न थालेका मदनमणिको फोटोग्राफीप्रतिको मोह समयसँगै बढ्दै गयो। भनिन्,’उहाँले खिचेक उत्कृष्ट फोटोहरू आज पनि छन्। तीनले बेग्लै कलात्मक महत्व राख्छ।‘

पत्रकारितामा पनि अब्बल ठहरिएका मदनमणि दीक्षीतबारे भट्टराईले भनिन्,’पीताजीका लेखहरू अझैपनि चर्चामा छन्। उहाँले लेख्नु भएका समीक्षाहरूलाई त्यस समय देखि नै बौद्दिक वर्गको खुराक मानिन्छ।‘  

धेरै क्षेत्रमा सक्रिय रहेका कारण आफ्ना बुवाले छोराछोरीलाई आवश्यक समय नदिएकोमा गुनासो गरिन्। भलै समयको हिसाबमा निकै कम क्षण बुवासँग बिताएपनि उनले घरमा सिर्जना गरेको वातावरणकै कारण आफू लेख्न र पढ्न प्रेरित भएको उनको कुरा छ। भनिन्,’उहाँले दिनुभएको माया र छायाले प्रत्यक्ष रुपमा नभएपनि प्रभाव पारेको छ।‘

भट्टराईले मदनमणिले भारतीय नागरिक बन्नुपर्ने डरले विद्यावारिधी छाडेर नेपाल फर्किएको प्रसङ्ग सुनाइन्। जसका कारण उनी वीरगंजको एक विद्यालयमा ‘हेडमास्टर’ बने र जीवनभर मास्टर साहबको नामले चिनिए।

त्यस्तै कलाकार एवं लेखक मनुजबाबु मिश्रबारे बोले कलकार रोशन मिश्र। उनले बुवाको कलात्मक चेत र असाधारण व्यक्तित्वबारे चर्चा गरे। करिव ३ दशक घरभित्रै बसेर चित्रकला र लेखनमा समय बिताएका मनुजबावुसँग सबैभन्दा धेरै समय बिताएको सन्तानका रुपमा चिनाए आफैलाई। ‘त्यसैले पनि बुवाका थुप्रै अस्वभाविक व्यवहार र जीवनशैलीलाई नजिकबाट देख्न पाएँ’, रोशनले भने।

मनुजबाबुले हरेक विहान उठेर आफ्नो स्टूडियोको ऐनामा हेर्दै आफ्नै चित्र कोर्ने रोचक प्रसङ्ग जोडेका थिए रोशनले। ती चित्रकलाहरूमा कहिले चाउरिएको गाला देखिन्थ्यो त कहिले कान। त्यस्तै उनले आफ्नो हरेक जन्मदिनमा आफ्नै चित्र कोर्ने र त्यसमा शुभकामना सन्देश लेख्ने गरेकोबारे जानकारी दिए। ८३ औं वसन्त पार गर्नुअघि भने उनले जन्मदिन आउनुभन्दा दुई साता अगावै चित्र कोरेर आफ्नै लागि सन्देश कोरेका रहेछन्। भने,’त्यो वर्ष अगाडि नै जन्मदिनमा गर्ने कर्म पूरा गर्नुभयो। हामी पनि अचम्मित भयौं। त्यही चित्र उहाँको अन्तिम कला बन्यो।‘ आफूलाई नाष्तिक बताउने मिश्रका चित्रकलाहरूमा भने देवताहरूको अनेक स्वरुप देख्न पाउने रोशनले बताए।

‘उहाँको अन्तिम चित्रमा गणेश देख्न सकिन्छ। हरेक कुराको शुभारम्भमा गणेश राखिन्छ। तर त्यो त अन्त्य अघिको चित्र थियो।‘

रोशनले बुवाले आफूलाई आवश्यक सामाग्री आफ्ना वरपर उपलब्ध वस्तुहरूको प्रयोगमा बनाउने र त्यसलाई कलात्मक रुप दिने खुबीको प्रशासा गरे। भने,’बुवाका कलामा वैज्ञानिक डिजाइन हुन्थ्यो।‘

दैनिक बाह्र घण्टा स्टुडियोको कुनामा बसेर बिताउने, कपाल पनि आफै काट्ने, अस्वस्थताका बावजुद ट्याक्सी लिएर कहिले मेलम्ची त कहिले कलंकी बाइपास घुम्ने मिश्रका अनेक रहरहरू बारे खुलाए रोशनले। भने,’बुवा आमा र मोनालिसा दुवैको चित्र आँखा चिम्लिएर बनाउन सक्नुहुन्थ्यो। त्यसैले उहाँले कोर्नु भएका मोनालिसाका चित्रहरूमा मेरी आमाले लगाउने धोती र गहना हुन्थे।‘

मिश्रले ५०/६० जना कलात्मक हस्तीहरूको चित्र बनाएको स्केचबुकबारे पनि रोशनले खुलाएका छन्। जसमा मदनमणि दीक्षितसहित नारायण गोपाल, पारिजात, गोपाल योन्जन, लैनसिंह बाङ्देललगायतको चित्र र मिश्रकोसँगै उनीहरूको पनि हस्ताक्षर रहेको बताएका छन्। ‘मलाई लाग्छ बुवाको जीवनको निकै महत्वपूर्ण कामहरूमध्य यो एक हो’, रोशनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell