पोखरा : कोरोना भाइरस महामारीका कारण प्रभावित बन्यो नेपाली सिनेमा क्षेत्र। विश्व सिनेमा बजारले कोभिड-१९ का कारण ६० प्रतिशतभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्दा नेपाली सिनेमा उद्योग पनि अछुतो छैन।
तर, नेपालको हकमा सिनेमा क्षेत्रलाई भएको नोक्सानी बारे नेपालमा यकिन तथ्याङ्क छैन। साथै महामारीपछि सिनेमा क्षेत्रमा थपिएका चुनौती र सम्भावनाबारे पनि वहस भने भएका छैनन्। यिनै विषय र सन्दर्भमा परपर रहेर पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा छलफल भयो। कार्यक्रमको पहिलो दिन निर्देशक मीन भाम, अभिनेत्री प्रियंका कार्कीसँग र निर्देशक तथा सिनेमा व्यवसायी भाष्कर ढुंगानाले आफ्ना विचार राखेका हुन्। अन्तर्क्रिया सहजिकरण गरेका थिए पत्रकार तथा समीक्षक यज्ञशले।
कोरोनाकालले नेपाली सिनेमा उद्योगलाई आर्थिक हिसाबमा कति असर पार्यो? भन्ने बारे आवश्यक तथ्याङ्क नभएको बताए। ‘हामी विज्ञान वा विश्लेषणमा चल्दैनौं। त्यसैले हामीसँग तपाईंले सोधेको प्रश्नको जवाफ दिने डाटा नै छैन’, उनले भने,‘हामी एकदमसँग अन्दाजमा चल्ने समाज हो।’
सिनेमा क्षेत्र गत फागुन ८ गतेदखि ठप्प रह्यो। सबैभन्दा सुरुमा बन्द हुने सार्वजनिक स्थल हो सिनेमाघर। हालसम्म सरकारले हल खुला गर्न कुनै आधिकारिक अनुमति दिएको छैन। जसका कारण हल व्यवसायीहरूले सीर्जनात्मक आन्दोलन स्वरुप अनुमति नपर्खी सिनेमा प्रदर्शन थालेका छन्। यसबीच सिनेमा क्षेत्रको ९५ प्रतिशत काम ठप्प भएको बताए। भने,’यस्तो स्थितिमा पनि सरकारले सिनेमा क्षेत्रलाई अति प्रभावितको सूचीमा नराख्नुलाई दु:खद् पक्षका रुपमा व्याख्या गरे।‘
निर्देशक मीन भामले ढुंगानाको कुरामा सहमती जनाउँदै भने,’ प्राविधिकदेखि व्यवसायीसम्मलाई महामारीले असर पारेको छ। तर यस अवधिमा सर्जकहरूले आफ्नो काममा परिस्कार ल्याउन पाएका छन्।‘
महोत्सवको यो सत्रमा प्रियंकाको मीनले जस्तै अप्ठ्यारो परिस्थितिलाई सिर्जनात्मक अवसरका रुपमा उपयोग गर्ने प्रयास गरेको बताइन्। अन्तर्क्रियामा भर्चुअल्ली सहभागी भएकी उनले कोरोनापछि दुईवटा पटकथा लेखेको र ४५ मिनेटको फिल्म छायांकन गरेको सुनाइन्। भनिन्, ‘चुप लागेर बसिनँ। आफूलाई सक्रिय र सकारात्मक राख्न सकेको गरें। सम्भावनाहरू धेरै रहेको थाहा पाएँ।’
कोरोनाकालपछि सिनेमा उद्योगको संकट डरलाग्दो भए पनि व्यवसायी भाष्करले पनि केही सकारात्मक कुराहरू महसुस गरेका रहेछन्। ‘फिल्म जगतमा जोडिएका व्यवसायीदेखि प्राविधिकलाई यो संकटले हामी कति धेरै एकअर्कामा अन्तर्निभर रहेछौं भन्ने बुझायो। नेपाली फिल्म उद्योग डुब्यो भने आफू पनि डुब्ने कुरा धेरैलाई थाहा दियो,’ उनले भने।
समीक्षक यज्ञशले छलफलका क्रममा कोरोना नआएको भए नेपाली सिनेमा क्षेत्रले फड्को नै मारिसकेको हुन्थ्यो त? भन्ने प्रश्न पनि उठाए।
मीन भामले जवाफमा भने- ‘हिजो कोभिड नआउँदा नै ९५ प्रतिशत सिनेमा बजारमा फ्लप थिए। सिनेमाको बजार र कलात्मक सौन्दर्यका हिसाबले एकदमै असफल थियौं हामी।’
आर्थिक हिसाबले मात्रै नभई ‘एस्थेटिक लस’लाई पनि ध्यान दिनुपर्नेमा मीनले जोड दिए। उनले यो सिनेमाको क्राफ्ट, कथावाचन शैली, अभिनय र बजार बिस्तार सबै पक्षबारे गम्भीर भएर सोच्ने यो उपयुक्त समय भएको बताए। मीनको कुरामा भाष्करले भने थोरै असहमति जनाउँदै सिनेमा उद्योग चल्न व्यवसायिक र कलात्मक सबै खालका सिनेमा चाहिने तर्क गरे। यसका लागि सिनेमा उद्योग फस्टाउनु पर्नेमा भने भाष्कर र मीनको मत एउटै थियो।
पछिल्लो समय सिनेमाको डिजिटल प्रदर्शन र दर्शक बढिरहेका बारे पनि छलफल भएको थियो। यसले सिनेमा हेर्ने दर्शकको रुचि र स्वादमा पनि तीव्र हेरफेर ल्याइरहेको बारे कुरा भयो। डिजिटल माध्ययमा नेपाली सिनेमाका दर्शक बढाउन र बजार बिस्तारमा कस्ता परिवर्तन होला? भन्ने प्रश्नमा मीनले भने, ‘हालसम्मको अभ्यास हेर्दा ओटिटी ले दर्शक र पहुँच त बढाउँला तर रेभिन्यू जेनेरेट भएको छैन। थोरै टेवा देला तर यसले सिनेमाको लगानी धान्न सक्दैन।’