PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओलीलाई प्रचण्डको ललकारः 'ब्याटल हामीले जितिसक्यौँ, पत्तासाफ हुन तयार हुनुस्'



प्रकाश भण्डारी

ओलीलाई प्रचण्डको ललकारः 'ब्याटल हामीले जितिसक्यौँ, पत्तासाफ हुन तयार हुनुस्'

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको काठमाडौँको विरोध सभामा शीर्ष नेताले सम्बोधन गरेका छन्। राजधानी केन्द्रित आन्दोलनको रणनीति बनाएका प्रचण्ड-नेपालले थप सशक्त आन्दोलनको समेत तयारी गरेको छ। काठमाडौँमा सम्पन्न विरोध सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल मुख्य वक्ता थिए। सभाको अन्तिममा सम्बोधन गर्न आएका प्रचण्डले पौने २ घण्टा भाषण गर्न भ्याए। भृकुटीमण्डपमा बनाइएको मञ्चमा उभिएर प्रचण्डले कार्यकर्तालाई तत्कालीन राजनीतिक परिस्थितिबारे विभिन्न सन्देश दिएका छन्।

१. केपी ओलीको पत्तासाफ हुन्छ

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन रेपछि प्रचण्ड उनीविरुद्ध कडा रूपमा उत्रिएका छन्। ओलीको प्रवृत्तिदेखि उनको भविष्यवाणी समेत प्रचण्डले गरेका छन्। संसद् विघटनको दिन ओलीले आफूलाई कसरी छले भन्नेसम्म उनी आफ्ना कार्यकर्तालाई बुझाउन हरसम्भव कोसिस गरिरहेका छन्। मंगलबारको विरोध सभामा पनि उनले त्यो दोहोर्‍याएका छन्। 'मलाई बिहान साढे ५ बजे नै सूचना आयो। उज्यालो भएको थिएन। त्यसपछि सचिवालयका कमरेड सबैलाई मैले खबर गरे साढे ८ बजेतिर ओलीसँग फोनमा कुराकानी भयो। तपाई मसँग कुरा नगरी एक्सट्रिम डिसिजनमा नजानुहोला, 'पुस ५ को संसद् विघटनको दिन सम्झँदै उनले भने।

उनले आफूलाई सचिवालयमा ओलीले पेलेको त्यसमा पनि आफूले ओलीलाई धन्यवाद नै दिएको बताए। ओलीसँगको सम्बन्ध बिग्रिएपछि प्रचण्डले उनीसँगको तिक्ततालाई सार्वजनिक गर्दै आएका छन्। उनले कुर्सीको प्रसङ्गलाई समेत भाषणको अंश बनाउने गरेका छन्।

'मैलै केपी ओलीको आलोचना गर्न थालेपछि मसँग रिसाएर एक दिन त कुर्सी नै हटाइदिनुभयो। मेरो त कुर्सी नै छैन। म त लुसुक्क गएर बसे। पछि मैले केपी ओलीलाई भने तपाईंलाई धन्यवाद तपाईंसँग बस्न मलाई अटेसमटेस लागेको थियो। ७ जनाका मलाई पुर्‍याइदिनुभयो,' उनले भने।

भाषणका क्रममा उनले ओलीको राजनीतिक भविष्यवाणी समेत गरेका छन्। उनले ओली समूहमा पनि नगराउने नै सल्लाह भइरहेको दाबी गरे। 'मैले थाहा पाइसकेको छु। चुनाव गराउन त स्वयम उनीहरूको पनि मन छैन। पेलेरै जाने हो भन्ने सल्लाह छ। हेर्दै जानुहोला वैशाखमा चुनाव पनि हुँदैन। केपी ओली पनि रहँदैनन्। उनको उनको पत्तासाफ हुन्छ,' उनको दाबी छ।

२. ब्याटल जितेको घोषणा

प्रचण्डले ओलीसँगको संघर्षमा आफ्नो जित भइसकेको दाबी गरेका छन्। उनले ओलीको कदम प्रतिगामी भएकाले उनलाई कसैले साथ नदिने तर्क गरे। सबै राजनीतिक दलको समेत आफूलाई साथ भएको प्रचण्डको दाबी छ।

'कांग्रेसले हिजो र जसपाले अस्ति प्रदर्शन गरेको छ। अरू तमाम पेसागत, बुद्धिजीवी सबै सडकमा आइसकेका छन्। ब्याटल त हामीले जितीनै सक्यौँ। जब जनतासँग जोडिएका विषय हुन्छन् त्यति बेला जित हुन्छ,' उनले भने।

भृकुटीमण्डपमा सहभागी नेता कार्यकर्तालाई उनले ओलीले लगातार पार्टी फुटाउन खोजेको बरु आफूले अपमान सहेर भए पनि जोगाएको सन्देश दिए। ओली संविधान निर्माणका बेला पनि सकारात्मक नभएको त्योबेला पनि आफ्नो बलले मात्र उनी संविधान बनाउन सहमति भएको बताए।

'वैशाखमै पनि अध्यादेश ल्याएर आफ्नो र केही अरू पार्टीलाई फुटाउन चाहनुहुन्थ्यो। त्यसबेला पनि व्यापक जनदबाबले रोक्यौँ। त्यसपछि एमाले उनको प्रत्यक्ष निर्देशनमा दर्ता भएको छ। यो फुटाउनकै लागि थियो,' उनको दाबी छ।

३. ओलीलाई बुझ्न नसकेकोमा माफी

प्रचण्ड भाषणका क्रममा जति आक्रोशित देखिए उनी त्यति नै रसिलो पनि देखिए। बीच-बीचमा प्रयोग गर्ने उदाहरणले नेता कार्यकर्तालाई प्रचण्डले हसाए पनि। हसाइसकेपछि उनी फेरि आक्रोशित हुन्थे र जोसिलो गरी ओलीको आलोचना गर्थे। उनले पौने २ घण्टाको अवधिमा ओलीलाई गालीमात्रै गरेनन् उनलाई चिन्न नसकेकोमा माफी पनि मागे।

'मलाई आज अली कसो-कसो पनि लागेको छ। ओलीलाई नचिनेको त होइन। उनको बयलगाडावाला सिद्धान्त पनि थाहा नभएको होइन। उनले संघीयता र गणतन्त्र चाहेका छैनन् भन्ने थाहा नभएको पनि होइन। तर उनी सच्चिए होलान् भन्ने लाग्यो। यसर्थमा म क्षमा चाहन्छु,' उनले भने।

तर उनले ओलीलाई प्रधानमन्त्री बनाएकोमा आफूलाई पश्चात्ताप नभएको बताए। उनले पार्टी एकीकरणको प्रस्ताव गर्नु र ओलीलाई प्रधानमन्त्री बनाउनु दुवै आफ्नो भुल नभएको बताए। उनले समयको मागले ओलीलाई त्यो ठाउँमा पुर्‍याएको बताए। 'ओलीलाई प्रधानमन्त्री बनाउनु भुल भयो भन्ने पक्षमा छैन म। पार्टी एकताको प्रस्ताव गरेर गल्ती गरे भन्ने पनि मलाई लागेको छैन,' उनले सम्बोधनका क्रममा भने।

४. भारतको विरोध

अधिकांश समय प्रचण्डले ओलीसँगको दोस्तीबारे जानकारी दिए। उतारचढावका प्रसङ्ग पनि नेता कार्यकर्तालाई रमाइलोसँग सुनाउन भ्याए। तर उनले संविधानको बेला भारतले हस्तक्षेप गरेको र अहिले पनि त्यस्तै हस्तक्षेप भएको संकेत गरे। भारतको नामै नलिएर उनले भारतको भूमिकाको आलोचना गरेका छन्। 'अहिले बालुवाटारमा क-कसको राति-राति बैठक भएको छ। मलाई जानकारी छ। तर म त्यो अहिले भन्दिनँ। जसरी संविधान बनाउन नदिन सक्रिय थिए ती तत्त्व फेरि सलबलाएका छन्,' उनले भने।

ओलीले षडयन्त्रपूर्वक संसद् विघटन गरेको प्रचण्डको आरोप थियो। ग्राण्ड डिजाइन अन्तर्गत ओलीले संविधानमाथि प्रहार गरेको प्रचण्डले बताए।

'मित्रहरू ओलीले ठूलो षडयन्त्र, ग्राण्ड डिजाइनबाट संसद् विघटन गरेका हुन्। उनले त्यतिकै यो कदम चालेका होइनन्,' ओलीलाई आरोप लगाउँदै प्रचण्डले भने।

५. अदालत र निर्वाचन आयोगमा षडयन्त्र

संसद् पुनर्स्थापना पक्षमा नै अदालतले फैसला गर्ने प्रचण्डको दाबी छ। उनले संविधानमा भएको व्यवस्था विपरीत अदालतले फैसला गर्नु आफ्नो कल्पनाभन्दा बाहिरको विषय भएको बताए। उनले अदालतप्रति आसा र भरोसा गर्नेबाहेक अरू केही गर्न नसक्ने दाबी गरे।

'मलाई त संसद् विघटन भएको भन्ने नै लागेको छैन। हामीले त अदालतले फैसला नगरेसम्म गर्न सक्ने केही छैन। मलाई विश्वास छ। संविधान र लोकतन्त्रको पक्षमा नै फैसला गर्नेछ,' उनले भने।

निर्वाचन आयोगमा आफूले बहुमत सदस्यको हस्ताक्षर बुझाएर पार्टी आधिकारिकता लागि दाबी गरेको र त्यो आफ्नै पक्षमा हुने उनको भनाई छ।

'हामी केन्द्रीय कमिटीको बैठकपछि स-शरीर उपस्थित भएर निर्वाचन चिह्न र आधिकारिकता लागि भनेका छौँ। तर प्रतिक्रान्तिकारीले जहाँ पनि ढाँट र छल गर्छन्। षडयन्त्र गर्छन्,' उनले भने।

६. सकेको गर्नुस्

प्रचण्डले अबको केही महिना आन्दोलनको आँधीहुरी ल्याउनुपर्ने बताएका छन्। ओलीको कदमलाई सच्चाउन आन्दोलनको विकल्प नभएको प्रचण्डको तर्क छ। उनले अदालतप्रति भरोसा भए पनि सबैभन्दा ठूलो फैसला जनताले गर्ने बताए।

'अदालतको विषय छ। तर सबैभन्दा ठूलो फैसला कसले गर्छ भने जनताले नै हो। फेरि पनि हामी जनतासँगै आएका छौँ,' उनले भने।

उनले नेता कार्यकर्तालाई आन्दोलनको तयारी गर्न पनि निर्देशन दिएका छन्। अबको बाटो भनेकै आन्दोलन भएको उनको तर्क छ।

'सकेको गर्नुस्। तपाईंको ठाउँबाट तपाईंले गर्नुस्। आन्दोलनको तयारी गर्नुस्। फेरि एकपटक आन्दोलनको आँधीहुरी ल्याउनुपर्ने छ,' उनले कार्यकर्तालाई निर्देशन दिँदै भने।

७. आफ्नो मोर्चा क्रान्तिकारी

प्रचण्डले आफ्नो समूहलाई क्रान्तिकारी र ओलीको समूहलाई प्रतिक्रान्तिकारीको संज्ञा दिएका छन्। उनले रियल आन्दोलनकारी मोर्चा नै आफ्नो मोर्चा भएको दाबी गरे।

'क्रान्तिकारी भएकाले हामी यहाँ भयौँ। उनीहरू बालुवाटार भए। हामी क्रान्तिकारी हौँ। उनीहरू प्रतिक्रान्तिकारी हुन्,' उनले भने।

ओलीको कदम नेपालको राजनीतिक इतिहासमा कहिल्यै बिर्सन नसकिने घटना भएको उनको भनाई छ। आफू पुस ५ गते नै ओलीको कदमबाट विक्षिप्त भएको उनको भनाई छ। उनले ओलीलाई प्रतिगमनकारीको नेतृत्व गरेको भन्दै धेरै समय शासन नटिक्ने बताए।

उनले भएको बहुमत गुमाएर संसद् विघटन गर्न नेताले गर्ने काम भएको बताए। पार्टीले विश्वास गरेर उनलाई प्रधानमन्त्री बनाएको भए पनि त्यसमा तुसारापात गरेको प्रचण्डको भनाई थियो। 'पार्टीले त उहाँलाई विश्वास गरेको हो नि। प्रधानमन्त्री हुनुस् भनेको हो नि। तर पार्टीको कुरै नसुन्ने निरकुंश हो केपी ओली आज यो कुरा म खुलस्त भन्न चाहन्छु,' उनले भने।

८. केपी ओलीले कलङ्कको टीका लगाए

संसद् विघटन गरेर ओलीले कलङ्कको टीका लगाएको प्रचण्डको आरोप छ। इतिहासले ओलीलाई माफी नदिने प्रचण्डको भनाई छ।

'केपी ओलीले कलङ्कको टीका लाइसक्नुभो। उहाँलाई इतिहासले माफी दिने छैन। संविधानको बलात्कार गर्नु भएको छ,' प्रचण्डले भने।

गणतन्त्र धरापमा पार्ने राजसंस्थालाई समेत आफूले किनारा लगाएको दाबी गर्दै प्रचण्डले ओलीलाई सच्चिन आग्रह गरेका छन्। संविधानले जनतालाई सर्वोच्च बनाएकोले विघटन हुनै नसक्ने उनको भनाई थियो।

९. ओलीप्रति अझै आशा छ

प्रचण्डले ओलीको चर्को विरोध मात्रै गरेनन् उनले बेला-बेलामा ओलीप्रति आशा जनाए। अझै पनि सच्चिएर आएमा ओलीलाई स्वागत गर्न आफूहरू तयार रहेको उनको भनाई थियो।

'अझै पनि आशा छ। उहाँले संसद् विघटनको निर्णयप्रति पश्चात्ताप गर्नुभयो भने, संसद् पुनःस्थापनका लागि पहल गर्नुभयो भने। हामीले फेरि पनि स्वागत नै गर्नेछौँ,' उनले भने।

तर, ओली त्यसका निम्ति तयार नभएको प्रचण्डले बताए। भाषणका क्रममा उनले ओलीप्रति आक्रोशमात्रै व्यक्त गरेनन् सच्चिन समेत सल्लाह दिए।

१०. चुनाव नताक्न कांग्रेसलाई चेतावनी

प्रचण्डले कांग्रेसलाई चुनाव नताक्न समेत चेतावनी दिएका छन्। कम्युनिस्ट फुटेको अवस्थामा अबको दुई वर्षपछि पनि कांग्रेस नै ठूलो पार्टी हुने र त्यसबेलासम्म पर्खन प्रचण्डले आग्रह गरेका छन्। चुनावका लागि तयारी गरे मुलुक बर्वाद हुने प्रचण्डको भनाई थियो। वैशाखमा चुनाव गर्नका लागि घोषणा नै नभएको दाबी गरे।

'वैशाखमा चुनाव गर्नका लागि घोषणा गरिएकै होइन। दुई वर्षपछि हुने चुनावमा पनि कम्युनिस्ट फुटेका बेला कांग्रेस नै ठुलो पार्टी हुने हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell