PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रचण्ड-नेपाल समूहको वीरगंजमा शक्ति प्रदर्शन : प्रधानमन्त्रीविरुद्ध लागे यस्ता नारा



राधेश्याम पटेल

प्रचण्ड-नेपाल समूहको वीरगंजमा शक्ति प्रदर्शन : प्रधानमन्त्रीविरुद्ध लागे यस्ता नारा

वीरगंज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहले मंगलवार वीरगंजमा विरोध प्रदर्शन तथा कोण सभा गरेको छ। साढे ११ बजे वीरगंज रानीघाटस्थित नेकपाको पार्टी कार्यालयबाट निस्केको र्‍याली मकालु चोक, कैलाश चोक, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते हतारमा असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको कदमलाई लोकतन्त्र सिध्याउने काम भएको भन्दै प्रचण्ड-नेपाल समूहले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत विरोध प्रदर्शन गरेको हो। अगामी पुस २५ गते सम्म जिल्लाको टोलटोल र वडावडामा प्रचण्ड-नेपाल समूहले विरोध प्रदर्शन तथा जुलुसका कार्यक्रम जारी राख्ने बताएको छ।

प्रदर्शनका क्रममा कार्यकर्ताहरुले ‘प्रतिगमनवादी कदम फिर्ता गर’, ‘संसद पुनर्स्थापन गर’, ‘केपी ओली मुर्दाबाद’ लगायत नाराबाजी समेत गरेका थिए। कोण सभामा पर्साबाट नेतृत्व गर्ने तीन जना केन्द्रीय सदस्यहरुले मन्तव्य व्यक्त गरेका थिए।

नेकपा वीरगंज नगर कमिटि अध्यक्ष रहबर अन्सारीले सहजीकरण गरेको कार्यक्रममा केन्द्रीय सदस्य नागेन्द्र चौधरीले ओलीले संविधानको बलात्कार गरेको आरोप लगाए।

उनले भने, ‘केपी ओलीले संविधानको बलात्कार गरी संसद विघटन गरेका छन्, उनले आफनो कदम नसच्याएसम्म हाम्रोको आन्दोलन जारी रहने छ।’

त्यसैगरी, स्वेच्छाचारी सोचका कारण ओलीले संसद विघटन गरेको अर्का केन्द्रीय सदस्य तथा प्रचण्ड नजिक मानिएकी उर्मिला अर्यालले आरोप लगाइन्।

उनले भनिन्, ‘सबै कुरा म नै हुँ भन्ने सोचको कारण ओलीजीले गल्ती गर्नु भयो, राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रको अभिभावक हो, उहाँले पनि कसैसँग राय सल्लाह लिनु भएन, सिफारिसको केही मिनेटमै अनुमोदन गरी संसद विघटनको मतियार बन्नु भयो।’

जनताको नजरमा उनीहरुको पद समाप्त भइसकेको भन्दै उनले जनताले उनीहरुलाई अवश्य दण्डीत गर्ने बताइन्।

नेकपाका अर्का केन्द्रीय सदस्य रामचन्द्र साह तेलीले जसरी जनताले राजालाई गद्दिबाट फाले, त्यसरी नै ओली र विद्यालाई पनि फालेर सडकमा पुर्‍याउने ठोकुवा गरे। उनले ओलीको कदम नसच्चिएसम्म नेकपाका नेता कार्यकर्ता तथा जनता एकजुट भएर विरोध जारी राख्न अपिल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell