काठमाडौंः १२ वर्षअघि काठमाडौंका व्यापारी बाबुराज रावल अपहरण गर्न संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रावललाई सर्लाहीका सोले भनिने ३८ वर्षीय दुर्गाकुमार बुढाथोकीलाई नियन्त्रणमा लिएको हो। उनी लामो समयदेखि भारतको दार्जिलिङ बसेर नेपालभित्र अपराधिक गतिविधि गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
'भारतमै बसेर नेपालमा अपहरण केसहरु गरेको पाइएको छ। यो समूहले अहिलेसम्म नेपालमा १७/१८ वटा अपहरण गरेको देखिएको छ। थप अनुसन्धान भइरहेको छ,' ब्युरोका डिआइजी सहकुल थापाले भने।
भ्याली कोल्ड स्टोरका सञ्चालकसमेत रहेका रावलको २०६५ पुस अपहरण भएको थियो। पाँच दिनसम्म उनलाई नियन्त्रणमा लिएर अपहरणकरीले १ करोड ५० लाख रुपैयाँ फिरौती लिएर छाडेको थियो। अपहरणको अनुसन्धानको क्रममा भारतीय अन्डरवर्ल्ड समूहका एक सदस्यको समेत संलग्नता खुलेपछि नियन्त्रणमा लिएको थियो।
प्रहरीले नियन्त्रणमा लिए पनि उनीहरुले जेलबाट नै अपराधिक गतिविधि गर्ने गरेको देखिएको छ। दार्जिलिङमा बसेर बुढाथोकीले नाम परिवर्तन गरी व्यापारसमेत गर्दै आएका थिए। प्रकास क्षेत्री नाम परिवर्तन गरेर उनले प्रकास स्टोरको कपडा पसल संचालन गरेका थिए।
बानेश्वरको एभरेष्ट होटलमा पार्कीङ गरि राखेको मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ गरेको थियो। २०६४ बैशाख २५ गते उनी हिरासत फोडेर फरार भएका थिए।