काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने उल्लेख गर्दै चुनावको तयारी थाल्न प्रचण्ड-नेपाल समूहलाई निर्वाचनका लागि शुभकामना दिएका छन्।
सूदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्कवेटमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 'मेरो शुभकामना छ। उहाँहरु पनि केही सिट ल्याउनुस्। त्यसका लागि अहिले देखि नै तयारी थाल्नुस्,' उनले भने, 'कहाँ सडकमा गएर कपडा बिगार्या? उहाँहरु सिंगौरी खेल्दै हुनुहुन्छ। कहिले माइतीघरमा कहिले भृकुटीमण्डपमा। एक्लै सिंगौरी खेलेर केही हुन्न। चुनाव लड्दा थाहा हुन्छ। जनताले देखाइदिन्छन्। तर पनि मेरो शुभकामना छ उहाँहरु पनि केही सिट जित्नुस्।'
उनले प्रतिनिधिसभा पुन:स्थापना हुनै नसक्ने भन्दै संविधानले पुन:स्थापनाको परिकल्पना नगरेको दबाब दिए। 'प्रतिनिधिसभाको ६४ प्रतिशत बहुमतसहितको प्रधानमन्त्रीले विघटन गरेको हो। मैले प्रतिनिधिसभा विघटन गर्दा मसँग ६४ प्रतिशत बहुमत थियो,' उनले अगाडि भने, 'विघटन भएपछि अहिले को कता छ त्यता तिर नजाउँ। अनी ३६ प्रतिशतले विकल्प थियो भनेर हुन्छ। सरकार बनाउन ५१ प्रतिशत आवश्यक छ।'
