PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रचण्ड-नेपाल समूहले पार्टीको बैंक खाता रोक्का गर्न बैंकहरूलाई लेख्यो पत्र, बैंकहरु भने अलमलमा



पहिलोपोस्ट

प्रचण्ड-नेपाल समूहले पार्टीको बैंक खाता रोक्का गर्न बैंकहरूलाई लेख्यो पत्र, बैंकहरु भने अलमलमा

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा बाँडिएर बढेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को विवाद बैंक खाता रोक्कासम्म पुगेको छ।

नेकपाको एउटा समूह (माधव नेपाल-प्रचण्ड) ले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई बुधबार पत्र लेख्दै पार्टीको खाताहरू रोक्का गर्न आग्रह गरेको छ। एमाले र माओवादी केन्द्र एकीकृत भएपछि दुवै पार्टीको सम्पत्ति एउटै बनाउने प्रक्रिया अघि बढेको थियो।

दुई गुटमा विभाजित पार्टीमा चुनाव चिन्ह सूर्यमा दुवै पक्षले दाबी गरिरहेका बेला सम्पत्तिमा पनि दाबी परेको हो। दुवै गुटहरू बीच पार्टी कार्यालयमा आआफ्नो दाबी सुरू भए पनि राजधानीमा दुई गुटको बैठक-भेला गर्ने ठाउँ प्रष्ट छुट्टिइसकेको छ।

पार्टीको एउटा गुटको पत्र आएपछि खाता रहेका बैंकहरू भने अलमलमा छन्। एउटाको आग्रहमा खाता बन्द गर्दा अर्को समूहको प्रतिक्रिया कस्तो हुने भन्नेमा उनीहरूलाई लागेको छ।

'ओली समूहले पार्टीको सम्पत्ति र आर्थिक कारोबार कब्जा नगरोस्' भन्दै बैंकलाई पत्राचार गरिएको प्रचण्ड-नेपाल समूहका एक नेताले दाबी गरे। 'पार्टीको चुनावचिन्ह र सम्पत्तिको विषयमा अधिकारको कुरा निर्वाचन आयोगको निर्णयले कहिले टुंग्याउला भनेर हामीले पर्खिनै परेको छ,' उनले भने, 'त्यो बेलासम्म ओलि समूहले पार्टीको आर्थिक कारोबार आफ्नो हातमा लिन नपाओस् भनेर बैंकलाई पत्र लेखेका हौं।'  

नेकपाको चल-अचल सम्पत्ति कहाँ के कति छ भन्ने तथ्य एकीकृत गर्न केन्द्र र प्रदेशस्तरमा समिति बनाएरै पार्टीमा काम भएको थियो। नेता-कार्यकर्ताबाट लेवी उठाउने नेकपाको सम्पत्ति २०७५ असारको तथ्यांकअनुसार तीन अर्बभन्दा बढी देखिएको थियो। काठमाडौंमै नेकपाको करोडौं मूल्यका पाँच वटा भवन छन्। भारतको नयाँ दिल्लीमा पनि एक करोड मूल्य पर्ने जग्गा छ।

दुई वर्षअघि सम्पत्ति छानबिनका क्रममा तयार पारिएको विवरणमा एकीकृत माओवादी ऋणमा देखिएको थियो भने एमालेको आर्थिक कारोबार सुदृढ थियो। सम्पत्ति एकीकरणसँगै खाता एउटैबाट कारोबार थालिएको पार्टी दुई समूहमा बिभाजनपछि यतिबेला खर्च कसरी चल्दैछ भन्नेबारे नेताहरू प्रष्ट छैनन्।   

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। दुई भागमा बाँडिएको नेकपालाई ओलीले आफ्नो दाबी गरिरहेका छन् भने प्रचण्ड-नेपाल समूहले आफ्नो दाबी गरिरहेका छन्। ओलीले साबिक नेकपाको सम्पत्तिमा प्रचण्ड-नेपाल समूहले दावी गर्न पाउँदैनन् भनिरहेका छन्। यहीबीच प्रचण्ड-नेपाल समूहले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र लेख्दै खाता रोक्का राख्न भनेका हुन्।

अहिले प्रचण्ड-नेपाल समूहले नेकपा आफ्नो भएको भन्दै त्यसको अर्को अध्यक्षमा माधवकुमार नेपाललाई नियुक्त गरेको छ। यो समूहले ओलीलाई अध्यक्षबाट हटाएको छ। ओली पक्षले भने प्रचण्डलाई अध्यक्षबाट हटाएको छ।

पार्टीको विवादका कारण बैंक तथा वित्तीय संस्थाहरुलाई समस्या भएको केही प्रमुख कार्यकारीहरुले बताएका छन्। 'अहिले प्रचण्ड-नेपाल समूहको पत्र आएको छ, फेरि ओली पक्षको आउला,' ती बैंकरले भने, 'कम्पनी रजिष्ट्रारमा दर्ता भएको भए आधिकारिकता हेरेर बैंकले खाता रोक्का गर्न सक्थे। अहिले त्यो अवस्था पनि होइन।'

ती बैंकरका अनुसार, प्रचण्ड-नेपाल समूहको कुरा मानेर खाता रोक्का गर्दा सरकार सञ्चालन गरिरहेको ओली पक्ष रिसाउने डर छ। ओली पक्षको कुरा मान्दा दुई पूर्व प्रधानमन्त्रीको आग्रह नटेरेजस्तो हुन्छ।

प्रचण्ड र नेपालले बैंक तथा वित्तीय संस्थालाई छोटो पत्र लेखेका छन्। पत्रमा भनिएको छ- 'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न विशिष्ट परिस्थितिका कारण त्यस बैंकमा हाम्रो पार्टीको नाममा वा साबिक नेकपा एकीकृत मार्क्सवादी लेनिनवादीको नाममा कुनै खाता रहेको भए उक्त खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिदिनु हुन अनुरोध गर्दछौं।'

पत्रमा अध्यक्षको हैसियतमा प्रचण्ड र नेपालको हस्ताक्षर छ। पार्टी एकीकरण हुँदा तयार पारिएको एक लगत अनुसार, तत्कालिन एमालेसँग २ अर्ब रुपैयाँ बराबरको सम्पति थियो भने माओवादीतर्फ कम्तिमा एक अर्बको सम्पति थियो।

तत्कालिन एमालेको काठमाडौं उपत्यकामा ५ वटा भवनसहितका कार्यालय छ भन्। एमालेका ६६ जिल्लामा र माओबादीका १२ जिल्लामा कार्यालय छन्। एमालेको भारतको नयाँदिल्लीमासमेत जग्गा छ। अहिले यी सबै सम्पति एकिकृत पार्टीमा आएको छ। यो सम्पतिमा ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले आफ्नो रहेको दाबी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell