काठमाडौंः निर्मला पन्त प्रकरणमा सेवाबाट हटाएका एसपी दिल्लीराज विष्टको पुनर्वहाली भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो।
२०७५ कार्तिक ८ गते कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले कारबाही गरी सेवाबाट हटाइएको थियो। गत साउन १५ गते निर्मला प्रकरण अनुसन्धान तथा जिल्ला कमाण्ड गरेका प्रहरीमा लागेको मुद्धामा सफाइ पाएसँगै सेवामा फर्किने बाटो खुलेको थियो।
घटना अनुसन्धान गरेका विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट गएका डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर यकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो।
एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको हकमा भने मन्त्रिपरिषद्ले नै पुनर्वहाली गर्नुपर्ने भएकाले सेवामा फर्किन सकेका थिएनन्।
