काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको बताएका छन्। नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले प्रचण्डले जहिल्यै पदका लागि लफडा गर्दै आएको बताए। ‘एमालेसँग पार्टी एकता गर्दा पनि प्रचण्डले छलफल गर्नुभएन। विभाजन हुने अवस्था आउँदा पनि वैचारिक, सैद्धान्तिक, सांगठनिक छलफल केही भएन। एकता गरेर ओलीलाई चिनाउने प्रचण्ड नै हुन्। ममाथि वैचारिक विचलन भयो, विश्वासघात गर्यो भन्ने आरोप छ। एकताबाट भागेर प्रचण्डले विश्वासघात गरे। कसको वैचारिक विचलन भयो? केका लागि फुट?’ भट्टले प्रश्न गरे।
भट्टले प्रचण्ड एकताबाट भागेर भए पनि फर्काउने दायित्व आफूहरुको भएको बताए। ‘माइतीघर मण्डलमा गएर हामी यहाँ छौं भनिरहेका छन्। अब हामीले खोज्न जानुपर्ने हो उहाँहरुलाई। यहीँ पार्टीमा ल्याउनुपर्ने दायित्व छ,’ उनले भने।
प्रचण्डले जहिल्यै महाविपत्ति ल्याउने गरेको भट्टको आरोप छ। ‘अहिले सडकमा ल्याउनुभयो। देशलाई विपत्तिमा हाल्नुभयो,’ उनले भने, ‘कोभिड महामारी, समृद्धि, पार्टी नीति निर्माणमा नेताहरु हुनुपर्नेमा कुर्सीकै छटपट्टि भयो।’
भट्टले पदकै लागि माधव नेपाल पनि प्रचण्डसँग मिलेको आरोप लगाए। ‘वरिष्ठ नेतालाई पनि दोस्रो अध्यक्ष हुनैपर्ने रहर रहेछ। अनि कार्यकारी अध्यक्ष महाधिवेशन गराएर आउनुपर्ने ठाउँमा प्रधानमन्त्री पनि चाहियो भनेर हुन्छ?’ उनले प्रश्न गरे।
प्रचण्ड र माधव नेपालले केटाकेटीपन देखाएको भट्टको टिप्पणी छ। ‘प्रधानमन्त्री चाहियो चाहियो भनेर माइतीघरमा लडिबुडी गर्दै हुनुहुन्छ,’ उनले भने।
अहिले विभाजनमा पूर्वएमाले र पूर्वमोवादीको कुरा गर्ने प्रचण्डले घाइते, बेपत्ता, शहीदहरुलाई सम्झिन नसकेको र अहिले पूर्वसमूह एक हुनुपर्छ भनेर नहुने उल्लेख गरे। ‘अहिले पूर्वसमूह एक हुनुपर्छ भन्ने हो भने माधव नेपाललाई यता पठाइदिनुपर्यो नि। पूर्वहरु एक हुने भएपछि।’
भट्टले प्रचण्ड नेपाल समूहले सुखी नेपाली समृद्ध नेपालको सपनालाई असफल पार्ने प्रयास गरेको आरोप लगाए। ‘सपना जब मर्छ खतरनाक हुन्छ,’ उनले भने।
प्रतिगामी कदम ओली नभई प्रचण्ड-नेपालले चालेको भट्टको टिप्पणी छ। ‘प्रतिगमनकारी कदम कसले चालेको छ? समाजवाद ल्याउन खोज्या हो कि सडक भाँड्न खोज्या? गर्न खोज्या के?’ उनले प्रश्न गरे।
प्रचण्ड समूह दृष्टिविहीन, विचारहीन भइसकेको उनको भनाई छ। ‘उहाँहरुले सुत्दा पनि प्रधानमन्त्री देख्नुहुन्छ। उहाँहरुलाई त्यो अहिल्यै चाहियो। प्रधानमन्त्रीले युवालाई हस्तान्तरण गरौँ भनेका छन्। युवालाई हस्तान्तरण गर्न तयार हो?’ भट्टले प्रश्न गरे।
भट्टले प्रचण्डको १९ बुँदे आरोप वैचारिक विलचनको नमूना भएको टिप्पणी गरे। प्रधानमन्त्री र राष्ट्रपतिका बारेमा गलत टिप्पणी गरिएको भन्दै उनले असन्तुष्टि पनि जनाए। ‘यता (ओली) को जीवनमा आफ्नो जीवन (भविष्य) नदेख्ने। यता (ओली)को मृत्युमा जीवन देख्नेहरुको मृत्युमा पनि अरुले जीवन देख्नेछ।’
प्रधानमन्त्रीले गरेका कामको प्रशंसा त कहाँ हो प्रधानमन्त्री ताक्ने भन्दै भट्टले प्रचण्डको चिन्तनमै गडबड छ भने। प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्नमा तागत लगाएको आरोप लगाए। ‘मोहन वैद्यलाई गुरु भन्नुहुन्छ। तर उनैलाई सेक्टर काण्ड लगाएर हटाए। जसले गुरुलाई अपमान गर्छ अरुलाई के गर्ला?’ भट्टले प्रश्न गरे।
‘आजको दिनमा प्रचण्डले मलाई एक नम्बर दुस्मन देख्नुभएको छ। ५ हजारको जिम्मा म लिन्छु भन्नु हुन्छ। १२ हजारको कसले लिन्छ? जनयुद्ध हामीले गर्ने, जिम्मा अरुले लिइदिनुपर्ने? प्रचण्डमा नैतिकता छैन। टीकापुरको ८ महिने बालकलाई सामन्त देख्नुहुन्छ,’ उनले भने।
आफूहरु मुल नेतृत्वमा दृढतापूर्वक उभिएको भन्दै भट्टले थपे, ‘सानो झिल्का फुटेर गएको छ। विस्तारै हराउँछ,’ उनले भने।
मन्त्री भट्टले जनादेश लिन जान्छु भनेर प्रधानमन्त्रीले आँट गरेको बताए। ‘उहाँहरुमा जानदेशमा जाने आँटै छैन,’ उनले भने, ‘सिरहामा मतगणनामा ब्यालेट बक्स बदलेर जिताइएको प्रचण्डले कहाँ आँट गर्न सक्छ। जनतामा विश्वास भएमा पो जान्छन्। वरिष्ठ नेता दुई दुई ठाउँमा हार्दा पनि ल्याइयो। प्रधानमन्त्री बनाइयो। त्यस्तो बानी परेकाहरु जनादेशमा जान कहाँ मान्छन्।’
मन्त्री भट्टले प्रचण्ड शक्तिशाली सरकारमा हुँदा समेत केही गर्न नसकेको आरोप लगाए। ‘पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डलाई छाङरु र तिंकरमा सुरक्षाकर्मी राख्न आग्रह गर्यौँ। अँ अँ भने। तर कहिल्यै गरेनन्। प्रधानमन्त्री ओलीजीले कूटनीतिक नोट पठाउनुभयो। नक्सा प्रकाशित गर्नुभयो। सुरक्षाकर्मी राख्नुभयो। प्रचण्डपछि माधव र झलनाथहरु प्रधानमन्त्री भए। तर उहाँहरुले कहिल्यै आँट गर्नुभएन। कालापनीबारे ५८ वर्षसम्म कसैले भनेन। गरेन। यो पक्षलाई बुझ्न जरुरी छ।’
भट्टले फर्किएर, आत्मालोचना गरेर आएमा प्रचण्ड नेपाल समूहलाई स्वागत गर्न तयार रहेको पनि स्पष्ट पारे। उनले यसका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रहसमेत गरे। ‘सुदूरपश्चिममा मात्र होइन देशभर तलसम्म जाऔँ। भोलि पार्टीलाई एक बनाएर समाजवादमा जाऔँ,’ भट्टले भने।
