स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले गेटाफेमाथि जित निकेलेको छ। स्टेडियो वन्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली एटलेटिको मड्रिड गेटाफेमाथि १-० गोलअन्तरले जित निकालेको हो।
घरेलु टोलको जितमा लुइस स्वारेजले निर्णायक गोल गरे। उनले याननिक कर्रास्कोको पासमा खेलको २० औं मिनेटमा गोल गरेका थिए।
त्यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिड एल्चेसँग बराबरीमा रोकियो। स्टेडियो म्यानुअल मार्टिनेज भालेरोमा भएको खेलमा रियल घरेलु टोलीसँग १-१ को बराबरीमा रोकिएको हो।
खेलको २० औं मिनेटमा लुका मोड्रिचको गोलमा रियलले अग्रता बनाएको थियो। पहिलो हाफमा रियल एक गोलले अघि रह्यो। तर दोस्रो हाफमा घरेलु टोलीले खेल बराबरीमा ल्यायो। जसका लागि खेलको ५२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै फिडेल छाबेसले गोल गरे।
गएरातिको खेलसँगै एट्लेटिको मड्रिडले अंकतालिकामा स्पस्ट २ अंकको अग्रता बनाएको छ। १४ खेल खेलेको एटलेटिकोले ३५ अंक बनाउँदै शीर्ष स्थानमा छ भने १६ खेलबाट ३३ अंक जोडेको रियल मड्रिड तालिकाको दोस्रो स्थानमा छ।
