PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

महामारीमा नेपाली खेलकुदको जोडघटाउ, वर्ष दिनमा कोरोनाको ग्रहणले खेल क्षेत्रमा के भयो, के भएन?



मुकुन्द घिमिरे

महामारीमा नेपाली खेलकुदको जोडघटाउ, वर्ष दिनमा कोरोनाको ग्रहणले खेल क्षेत्रमा के भयो, के भएन?

गएको डिसेम्बरमा नेपालमा दक्षिण एसियाली खेलकुद साग आयोजना भयो। जसमा नेपालले राम्रै सफलता हात पार्‍यो। सन् २०२० सुरु हुँदै गर्दै नेपालमा खेलकुदको माहोल थियो। यो वर्षको खेलकुदलाई कोरोना महामारीअघिको खेलकुद र न्यु नर्मलपछिको खेलकुदका रुपमा विश्लेषण गर्दा उपयुक्त हुने देखिन्छ।

कोरोना अघि जमेको खेलकुद

साग सकियो। लगत्तै शहीदस्मारक ए डिभिजन लिग सुरु भयो। यो वर्षको फेब्रुअरी १५ मा इतिहासमै पहिलो पटक मछिन्द्र क्लबले पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगको उपाधि उचाल्यो। र लगत्तै एन्फाले बी डिभिजन लिग अघि बढायो। तर बी डिभिजन लिग नसकिँदै नेपालमा पनि कोरोनाको सङ्क्रमण देखिन थाल्यो। सरकारले लकडाउन गर्‍यो  र बाँकी रहेका खेलहरु रोकिए। जुन अझै सञ्चालन हुन सकेको छैन तर सञ्चालनका लागि तयारी भने अघि बढेको छ। रोकिएको लिग पुन सञ्चालनका लागि हाल अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव पठाएको छ।

त्यस्तै अवस्था रह्यो क्रिकेटको पनि। सागमा कास्य पदकमा चित्त बुझाएको नेपाली टोलीले यो वर्षको सुरुमै ओमन, अमेरिका र नेपाल बीचको त्रिकोणात्मक सिरिज भयो। त्यही सिरिजका क्रममा नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राष्ट्रिय टिमको प्रशिक्षकबाट राजीनामा दिए।

त्यस्तै यही वर्ष नेपालले पहिलोपटक घरेलु मैदानमा एकदिवसीय क्रिकेट ओडिआई खेल्ने मौका पायो। उक्त सिरिजमा २ जित र २ हार ब्यहोर्दै औसत प्रदर्शन गरेको थियो।

विश्वभर कोरोनाको कहर शुरु भइसकेपछि नेपाली क्रिकेट टिमले सहभागिता जनाएको पछिल्लो प्रतियोगिता हो एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता। प्रतियोगितामा च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्यान्ड पुगेको नेपाली टोलीले फितलो प्रदर्शन गर्दै चौथो स्थानमा चित्त बुझाएको थियो।

त्यस्तै विश्वका चर्चित खेलाडीहरुलाई लिएर आयोजना गरिन लागेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) पनि स्थगित भयो। मार्च १४ देखि २८ सम्मका लागि तय गरिएको ईपीएल अनिश्चित कालका लागि स्थगित भएको थियो र अझै सञ्चालन भएको छैन।

त्यसयता लकडाउन सुरु भयो र लामो समयसम्म क्रिकेट गतिविधि ठप्प रह्यो।

त्यस्तै अन्य विभिन्न खेलका खेलाडीहरु ओलम्पिकको तयारी गरिरहेका थिए। तर ओलम्पिक नै स्थगित भएपछि खेलाडीहरु अन्योलमा परेका थिए।

पोस्ट कोरोना: न्यु नर्मल

कोरोना महामारीका क्रममा खेलाडीहरुलाई सबैभन्दा ठूलो चिन्ता थियो फिटनेसको। महामारीकै बीचबीचमा पनि कराते, ब्याडमिन्टन लगायतका खेलहरुको अभ्यास सञ्चालनमा आउने र रोकिने चक्र चलिरह्यो। फुटबलमा पनि विश्वकप छनोट अन्तर्गतका खेलहरु हुने भएपछि खेलाडीलाई बोलाएर एन्फाले पीसीआर परीक्षण पनि गरायो। तर पछि एएफसीले खेल स्थगित गरेपछि अभ्यास भएन र खेलाडी घर फर्किए। त्यसैबीच एन्फाको राजनीति पनि निकै चर्किएको थियो। अध्यक्ष कर्माछिरिङ शेर्पाको विवादास्पद अभिब्यक्तिका कारण संसदमै उनको आलोचना भयो भने वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँग उनको दुरी बढेर गयो।

उता १३ औं सागमा विजेताहरुले अप्रिल महिनामा पुरस्कार पाए। उनीहरुले घोषणाको ४ महिनापछि पुरस्कार रकम पाएका थिए। त्यसअघि नै पाउनु पर्ने पुरस्कार रकम कहिले प्राविधिक कारण, कहिले बैङ्कको सर्भर जस्ता कारण देखाउँदै पुरस्कार बितरण पछि सर्दै आएको थियो।

त्यस्तै क्रिकेटमा लकडाउनको क्रममा केही खेलाडीहरु कीर्तिपुर टीयु मैदान गएर व्यक्तिगत अभ्यास गर्ने बाहेक अरु अभ्यासहरु भएन। यद्यपि क्यानको प्रशासनिक काम भने चलिरह्यो।

लकडाउनका क्रममा क्यानले प्रशिक्षकलगायत अन्य कर्मचारीको नियुक्तीका लागि विज्ञापन निकाल्यो। र, केही हप्ता अघिमात्र अस्ट्रेलियन प्रशिक्षक डेभ व्हाटमोर नेपाली टोलीको प्रशिक्षक बनेर आइसकेका छन्। त्यस्तै धुर्मुस सुन्तली फाउन्डेसनको आयोजनामा गौतमबुद्ध कप क्रिकेट सम्पन्न भयो भने क्यानले महिलातर्फ पीएम कप आयोजना गरिरहेको छ भने पुरुषतर्फ  सञ्चालनको तयारी अघि बढाइसकेको छ।

त्यस्तै यसैबीचमा नेपाली क्रिकेटरहरुको वर्गीकरण पनि भयो। यद्यपि त्यसमा असन्तुष्टिहरु आएपछि क्यानले त्यसमा पुनर्विचार गर्दै वर्गीकरण सच्याएको थियो।

खेलकुद विकास ऐन र सिलवालको पुनरागमन

यो वर्ष खेलकुदमा अर्को महत्वपूर्ण विषय भनेको खेलकुद विकास ऐन हो। जसले खेलकुदमा केही हदसम्म भए पनि परिवर्तन ल्याउने विश्वास गरिएको छ। ऐन आएसँगै सदस्यसचिव लगायत राखेप पदाधिकारीको पद जाँदा केही दिनका लागि राखेप पदाधिकारीविहिन भएको थियो। पछि जुलाईमा पुन सदस्यसचिवमा रमेशकुमार सिलवाल नै आए। त्यस्तै उपाध्यक्षमा शिव कोइराला आए।

बंगलादेश सिरिज

नोभेम्बर महिनामा नेपाली फुटबल फर्कियो बंगलादेशसँगको सिरिजबाट। कोरोना महामारी र लकडाउनको क्रममा लामो समय अभ्यासबिहीन बनेका फुटबल खेलाडीहरु एकहप्ताको छोटो अभ्यासपछि नोभेम्बरमा बंगलादेश गएका थिए। त्यसमा पनि केही पहिलो रोजाइकै खेलाडीहरुसमेत कोरोना र चोटका कारण टिममा नहुँदा पहिलो खेलमा केही नयाँ अनुहार पनि टिममा देखिएका थिए।

दुई खेलको सिरिजमा नेपाल पहिलो खेलमा पराजित भएको थियो भने दोस्रो खेल १/१ को बराबरीमा रोकिएको थियो। त्यस्तै विश्वकपको तयारीमा रहेको नेपाली टोली अहिले प्रशिक्षणमा छ।  

नोभेम्बर १२ सरकारले स्वास्थ्य मापदण्ड अपनाएर कोरोना संक्रमणले महिनौंदेखि ठप्प खेलकुद गतिविधि सञ्चालनको अनुमति दियो। त्यहीबेला नेपालगञ्जमा म्याराथन आयोजना गरियो। सागका स्वर्णपदक विजेतासमेत रहेका एपीएफका गोपीचन्द्र पार्कीले म्याराथन जित्दै ओलम्पिकमा स्थान सुरक्षित गरे। उता महिलातर्फ हाफ म्याराथनमा प्रथम भएकी थिइन् पुष्पा भण्डारी।

यो वर्ष सकिँदै गर्दा क्यानले प्रधानमन्त्री कप महिला क्रिकेट पनि आयोजना गरेको छ। नवौं राष्ट्रिय खेलकुद सर्ने निश्चत भइसकेको छ र यसका लागि अनुकल समय राखेपले हेरिरहेको छ। त्यस्तै युएईमा हुन टी १० लिगमा नेपालका करण केसी, कुशल मल्ल र सोमपाल कामी अनुबन्धित भएका छन्। यो वर्ष फर्कँदै गर्दा खेलकुद क्षेत्र फेरि पुरानो फर्ममा फर्किएला भन्ने आशा देखिन थालेको छ।

त्यस्तै डिसेम्बर महिनामा प्रधानमन्त्र केपी शर्मा ओलीले संसद विघटन गरे। र, राजनीतिक घटनाक्रममा मन्त्रीहरु पनि फेरबदल भए। जसमा जगतबहादुर विश्वकर्मा खेलकुद मन्त्रालयबाट हटाइए र उनको स्थानमा दावा लामा युवा तथा खेलकुद मन्त्रालय सम्हाल्न आइपुगे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell