PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सुदूरपश्चिममा भीम रावल 'पीडित क्लबको पन्च': नेताहरुले धुलो चटाउने उद्घोष गर्दा कार्यकर्ताको हुटिङ र तालीको वर्षा



कमलराज भट्ट

सुदूरपश्चिममा भीम रावल 'पीडित क्लबको पन्च': नेताहरुले धुलो चटाउने उद्घोष गर्दा कार्यकर्ताको हुटिङ र तालीको वर्षा

काठमाडौं: संसद विघटनपछि कानुनी रुपबाहेक सत्तारुढ दल नेपाल कम्नुनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूह दुईतिर विभाजित भइसकेका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दुइटै समूह जनतामा आफ्ना कुरा लिएर अघि बढिरहेका छन्। कोही शक्ति प्रदर्शन र कोही आन्दोलनका नाममा अघि बढेका छन्।

यस्तैमा बुधवार ओली समूहले बबरमहलमा कार्यकर्ता भेला राख्यो। ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले राखेको भेलामा प्रदेशका कार्यकर्ताको उल्लेख्य सहभागिता थियो। त्यसमाथि प्रचण्ड-नेपाल समूहमा रहेका अछामका प्रभावशाली नेता डा. भीम रावलको जिल्लाका वृद्ध नेतादेखि उनका समकालीनसम्म भेलामा थिए। सुदूरपश्चिमका ४ जना मन्त्री लेखराज भट्ट, प्रेमबहादुर आले, गौरीशंकर चौधरी र गणेश ठगुन्ना थिए।

मन्तव्यका क्रममा यीमध्ये आले भीम रावलविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए। त्यसैगरी प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले पनि रावलमाथि हमला गरे। नेतृ निरुदेवी पालले पनि रावलको आलोचना गरिन्।

कार्यक्रम सञ्चालक थिए बझाङ घर भएका ऐन महर। उनले पनि उद्घोषणका क्रममा बेला-बेला रावललाई सुदूरपश्चिमको ठेकेदार भन्दै 'पन्च' दिइरहेका थिए।

ओलीले हालै विस्तार गरेको केन्द्रीय कमिटीमा परेका केन्द्रीय सदस्य हुन अछामका कृष्णप्रसाद जैसी। भीम रावलका समकालीन पनि। उनले रावललाई एमसीसी विरोध गरेकोमा पढ्न नजान्ने डिग्री होल्डर भनेर आलोचना गरे। मन्त्री नदिएपछि रावलले सरकारको खोइरो खनेको उनको आरोप थियो। एनजीओमा काम गर्न विदेश जान लागेका रावललाई आफूले नै राजनीतिमा ल्याएको उनले दाबी गरे। आफ्ना लागि आएको टिकट पनि रावललाई नै दिएको उनले जिकिर गरे। रावलमाथि गएर आफूलाई बिर्सेको र माथि आउन नदिएको उनले आरोप लगाए।

‘हामीले नै राजनीतिमा ल्याएको डाक्टर भीम रावल पछि हामीभन्दा ठूला भए। मन्त्री भएपछि सुदूरपश्चिममा एकलौटी गरे,’ उनले भने।

जैसीले रावलको सम्पूर्ण धरातल बताउँदै अब सक्किने चेतावनी दिए।

अर्का केन्द्रीय सदस्य बाजुराका सहदेव बोगटीले पनि रावलको आलोचना गरे। उनले लेखराज भट्टसँग मान्छे छैनन् भनेर प्रचार नगर्न रावललाई चेतावनी दिए। रावलबारे उनी धेरै बोलेनन्। मन्त्री गौरिशंकर चौधरी पनि रावलमाथि बोलेनन्।

भेलामा पूर्वमाओवादीभन्दा पूर्वएमालेका नेता रावलप्रति आक्रामक देखिएका थिए।

गौरीशंकरपछि बोलेका नवनियुक्त वनमन्त्री आलेले रावलमाथि भडास पोखे। आफूबारे रावलले ‘तस्करको हातमा चाबी’ भनेर गरेको टिप्पणीको कडा प्रतिवाद गरे।

‘२०५४ सालमा यस्तै खालको जंगल फडानी बुडर (डोटी) मा भयो। मैले विरोध गर्दा उल्टै मलाई मुद्दा लगाइयो। जिल्ला अदालतबाट १ वर्षमा सफाइ पाएँ। पुनरावदेनमा पुग्यो। त्यहाँबाट पनि सफाइ पाएँ। अहिलेसम्म कुनै मुद्दा छैन। मेरो आफ्नो स:मिल छैन। म कसरी तस्कर भए?’ उनले प्रश्न गरे।

आलेले रावलमाथि पदका लागि सुदूरपश्चिमलाई प्रयोग गरेको आरोप लगाए। ‘डाक्टर भीम रावल, तपाईंले सुपलाई गिरबन्‍दी गरेर, गिरबी राखेर नेताहरुको पाइला चाटेर चार-चार पटक उपप्रधानमन्त्री हुनुभयो। सुदूरपश्चिमले के पायो?’ उनले प्रश्न गरे।

बुटवलको एमाले महाधिवेशनमा ओली समूहबाट उपाध्यक्ष लडेर रावल हारेको र सम्झाउँदा पनि नमानेर माधव नेपाल खेमामा गएको भन्दै आलेले हारेपछि पनि आफूले झलनाथ, माधव र केपी ओलीको घर गएर रावललाई स्थायी कमिटीमा लान पहल गरेको पनि दाबी गरे।

आलेले मन्त्री नबनाएपछि रावल नियोजित रुपमा सरकारविरुद्ध उत्रिएको आरोप लगाए। ‘डाक्टर रावल कमरेड उपप्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर बालुवाटार जानुभयो। प्रधानमन्त्रीजीले तपाईंलाई कतिपटक हुने भनेर अस्वीकार गरेपछि छोड्नुहुन्छ भनेर उता (प्रचण्ड-माधव समूह) उचाल्ने काम गरे।’

नवनियुक्त मन्त्री आलेले सुदूरपश्चिममा रावलको शीर निहुरिने गरी काम गरेर देखाउने घोषणा समेत गरे।

‘चार-चार पटक उपप्रधानमन्त्री भएर उहाँले एउटा माखा मार्न सक्नुभएन। विकास थाहा छैन उहाँलाई। उहाँ नगरपालिकाको १० लाखको रिबन काट्न जाने। मैले २ अर्ब २० करोडको योजना हालेर प्रधानमन्त्रीलाई बोलाउन खोज्दा रोक्नुहुन्छ। डाक्टर भीम रावलजस्तो तुच्छ मान्छे आजसम्म देखेको छैन। अवसरवादी हो। यो डाक्टर ठिक छैन। उहाँसँग संगत गरेर जति समय धेर फालेँ, धिक्कार गरेको छु। डोटीमा ९० प्रतिशत जनता ओली पक्षमा छन्। पर्सी १० हजारको जुलुस निस्किँदैछ। आँखा खोलेर हेर्नुस् डाक्टरजी,’ आलेले भने।

आलेले डाक्टरको पछाडि नलाग्न आग्रह गर्दै प्रचण्ड र नेपाल समूहका कार्यकर्तालाई सद्बुद्धि आओस् भने। ‘म मन्त्री भएन भनेर गाली गर्ने, सुदूरपश्चिममा दादागिरी गर्ने भीम रावलको अब पतन हुन्छ। अन्त्य सुनिश्चित छ। भीम रावललाई छोडेर ओलीको पछाडि आउनुस्। आउने चुनावमा ओलीको पार्टीले दुई तिहाइ ल्याउँछ,’ सुदूरपश्चिमका कार्यकर्तालाई उनले आह्वान गरे।

आलेपछि बोलेका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पनि भीम रावलको कडा आलोचना गरे। उनले आफू पनि केही समयपछि डाक्टर बन्न लागेको भन्दै धेरै विद्धता नदेखाउन चेतावनी दिए। ‘डाक्टर भीम रावल पार्टी एकताको पक्षमा थिएनन्। ठूल्ठूला पदका लड्डु घ्यूसँग मनमनै खाइरहेका थिए। अहिले पार्टी एकताबाट भागे। उनी कसैलाई नेता नमान्ने मान्छे हुन्। कुनै राजनीतिक मतलब छैन। स्वार्थ सिद्धीका लागि मात्रै मरिमेट्छन्। आफूभन्दा माथि चाकरी गर्ने र आफूभन्दा तल शासन गर्ने उनको शैली हो। पार्टी एकताले त्यो अन्त्य गर्‍यो। तै पनि पद प्राप्त गर्न प्रयास गर्नुभयो। भित्रभित्रै प्रधानमन्त्रीको चाकडी गर्नुभयो बाहिर विरोध गरे। भित्र अनुनय विनय गरे। एकै मान्छेलाई कतिपटक मन्त्री बनाउने भन्दै ओलीले पद नदिएपछि सरकारको विरुद्धमा लागे। प्रचण्डलाई ओलीविरुद्ध उचाले। १९ बुँदे आरोपपत्रमा डाक्टर भीम रावल संलग्न छन्। उनी षडयन्त्रमा ख्यातिप्राप्त छन्।’

उनले सुदूरपश्चिममा अब भीम रावलको चुरीफुरी अन्त्य हुने बताए। ‘बाजुरामा ९५ प्रतिशत हामीसँग छन्। दार्चुलामा ९० प्रतिशत छन्। कैलालीमा सबै हामीसँग छन्। बझाङको खड्का, कञ्चनपुरका फैरु तामाङ, डोटीका रामबहादुर ऐर हामीसँग यहाँ छन्। सुदूरपश्चिममा भीम रावल र झपट रावलबाहेक सबै हामीसँग छन्। बहुमतमा छौं,’ उनले दाबी गरे, ‘भीम रावलले कार्यालय बनाउन दिएनन्। संगठन बनाउन दिएनन्। अब गाउँ गाउँ जान्छौं। अब बन्छ। त्यसका लागि तपाईं कार्यकर्ताहरु सेनाका रुपमा खटिनुपर्छ।’

थापा अन्तिममा फेरि रावलमाथि खनिए, ‘डाक्टर भीम रावलमात्र त्यहाँको नेता होइन। अब राम्रैसँग धुलो चटाउँछौं। सुपका सयौं मान्छेभन्दा पनि जुनियर हुन्छ। कहिल्‍यै गाउँ जिल्ला कमिटीमा बसेनन्। टुप्पोबाट पलाए। गाउँ थाहा छैन। अब हिसाब किताब हुन्छ।’

पूर्वमाओवादी पृष्ठभूमिका मन्त्री लखेराज भट्टले भने रावलबारे कुनै टिप्पणी गरेनन्। पूर्वमाओवादीहरुले प्रचण्डको भने कडा आलोचना गरेका थिए।

भेलामा भीम रावलविरुद्ध वक्ताहरु बोल्दा कार्यकर्ताले हुटिङ र तालीको वर्षा गरेका थिए। रावल भने अहिले प्रचण्ड नेपाल समूहको नेतृत्व गर्दै सुदूरपश्चिममा कमाण्ड सम्हालिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell