PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

संसद पुनर्स्थापनाको माग दिवास्वप्नमात्रै : अर्थमन्त्री पौडेल



राधेश्याम पटेल

संसद पुनर्स्थापनाको माग दिवास्वप्नमात्रै : अर्थमन्त्री पौडेल

वीरगंज : अर्थमन्त्री विष्णु पौडेलले मुलुक दुर्घटनातर्फ गइरहेको बेला राजनीतिक स्थिरता ल्याउन संसद विघटन भएको बताएका छन्। नेकपाको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले मुलुक सही दिशातर्फ अगाडि बढ्दै गइरहेको बेला पार्टीले सहयोग गर्नुको साटो सरकारलाई महाभियोग लगाएर असक्षम बनाउने रणनीति अपनाएपछि संसद विघटन भएको जिकिर गरे

बुधवार वीरगंजमा ओली पक्षको प्रदेशस्तरीय भेलामा वीरगंजमा उनले पार्टीको आन्तरिक जीवन अस्तव्यस्त भएको बेला जनतालाई तदारुकताका साथ अगाडि बढ्न आग्रह गरे। दुई अध्यक्ष प्रणालीमध्ये एकजना सरकार र अर्को अध्यक्षले पार्टी चलाउने सहमति भए तापनि अहिलेसम्म केन्द्रीय समितिको बैठक नभएको तथा सरकारलाई सहयोग गर्नुको साटो केही नेताहरुले भित्रभित्रै षडयन्त्र गरी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राष्ट्रपतिसमक्ष लगेपछि पार्टी र देशको राजनीति स्थिर बनाउन प्रधानमन्त्रीले संसद विघटन गरेको बताए।

नेकपाका महासचिवसमेत रहेका मन्त्री पौडेलले पार्टीका केही नेताहरु अहिले सडकबाट संसद पुनर्स्थापना माग गर्नु दिवास्वप्नजस्तै रहेको बताए। ताजा जनादेशको लागि संसदीय निर्वाचनको मिति तय भएको र तोकिएको समयमा निर्वाचन हुने उनले बताए। पार्टीका अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गरेको आरोपपत्र विभाजनकारी रहेको र सो आरोपपत्र फिर्ता लिएमा पार्टीको एकता हुने सम्भावना रहेको बताए। मन्त्री पौडेलले समयमा संसद विघटन नभए प्रचण्डले मुलुक र पार्टीको सत्तासमेत कब्जा गर्ने उद्देश्यले अगाडि बढेको बेला प्रम ओलीले बाध्यात्मक कदम चालेको बताए।

शहरी विकास निर्माणमन्त्री प्रभु साहले दुश्मनले गर्ने काम पार्टीभित्रका जिम्मेवार व्यक्तिहरुले लामो समयदेखि गर्दैआएकोले अन्ततः प्रम ओलीले संसद विघटन गर्नुपरेको बताए। टीका लगाएर आएका पार्टीका केही नेताहरुका कारण पार्टीका सांगठनिक काममा अपेक्षाकृत प्रगति हुन नसकेको बताए। 'सडकमा कुद्नेहरुको भविष्य छैन, धमिलो पानीमा माछा मार्ने काम भइरहेको बताए,' उनले भने।

मन्त्री साहले चुनाव प्रक्रिया कहिले पनि असंवैधानिक नहुने र चुनाव लोकतन्त्रको हितमा रहेको बताए। पार्टीलाई मजबूत बनाउन पार्टीभित्र रहेका केही अवसरवादी नेताहरुलाई निकाल्न जरुरी रहेको बताए।

प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलको सभापतित्वमा भएको प्रदेशस्तरीय भेलामा महिला विकासमन्त्री जुली महतो, कानूनमन्त्री लीलानाथ श्रेष्ठ, पूर्वमन्त्री रघुवीर महासेठ, पर्सा अध्यक्ष प्रभु हजरा, प्रदेश सभासद ज्वाला साहलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन रामचन्द्र मण्डलले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell