सुर्खेत : ‘जनताको सेवा गर्न राजनीतिमा होमिए, सुरु गरे, जनताकै सेवामा अहोरात्र खटेको छु।’ अधिकांश राजनीतिक दलका नेताहरुको मुख बाट फुत्त निस्कने शब्द हुन्। हो पनि राजनीतिक भनेकै जनताको सेवा। तर, ठिक उल्टो छ देशमा।
नेपालमा जनतालाई जहिले पनि सत्ता र शक्तिमा पुग्ने भर्याङमात्र बनाए। राजनीतिक दलका नेताबाट जनताले कहिल्यै सेवा महसुस गर्नै पाएनन्।
पछिल्लो राजनीतिक घटनाक्रमले पनि यही चिहाईरहेको छ। विश्वलाईनै आक्रान्त बनाएको कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाममा करिबकरिब असफल बन्यो। संक्रमणको जोखिम कम गरी उपचार गर्नुपर्ने सरकारले प्रभावकारी कामै गर्न सकेन्। अहिले पनि कोरोना भाईरस फैलिन रोकिएको छैन भने अर्कातर्फ खतरनाक भाईरस सुरु भैसकेको छ। कोरोना नियन्त्रणका लागि खोप ल्याउने आवश्यक बन्दोबस्त र तयारी पनि खासै देखिदैन।
त्यत्तिमात्रै होईन्, वर्षौदेखि भुक्तानी नपाएका उखु किसान आफ्नो पसिनाको मूल्य पाउन ज्यानै गुमाउनु पर्यो। भोक न निन्द्रा, न रात न ठण्डि भनेरै सडकमा उत्रिदाँ आफ्नो पारिश्रमिक पाउन सकेनन्। विगतका वर्षहरुमा जस्तै उखु किसान भुक्तानी पाउने आशमा सम्झौतामै सीमित बने।
देशका विभिन्न जिल्लाका बाढीपहिरो पीडित खुला आकाशमुनि खाने गाँस र बस्ने बास नभएर गाँस, बास र कपास मागिरहेका बेला, सरकार छ छैन्, थाहै हुदैन। सिन्धुपाल्ञ्चोक, जाजरकोट, सुर्खेत, म्याग्दी, दोलखा लगाएत तराईका घरवार नभएका गरिव तथा विपन्न परिवार टाउको ओताउने टहरोको पर्खाइमा छन्। पुसको यो ठण्डीमा उनीहरुको अवस्था कहालिलाग्दो छ।
यसरी ज्याननै जोखिममा राखेर कष्टकर जिवन बाँचिरहेका दुखी, गरिव जनताका विषयमा यि नेताहरु बोल्दैनन्। ताँतिदैनन् पनि।
जनताका आवश्यकता, माग र जनताका घाउमा मलहम लगाउन नतातिएका राजनीतिक दलका नेताहरु यतिबेला कुर्सी हल्लिएपछि रनक्क तातिएका छन्।
गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि एकाएक राजनीतिक गतिविधि बढेको छ।
गएको निर्वाचन यता पहिलो पार्टी सावित गरेको नेपाल कम्यिुनिष्ट पार्टी (नेकपा) भित्र सत्ता र शक्तिको बाँडफाँडको भागबण्डा नमिलेकै कारण अहिले नेता देखि कार्यकर्तासम्म तातिएका छन्। सत्ता र शक्तिको भागबण्डा नमिल्दा एक अर्काविरुद्ध खनिएको घटनाको सत्य यति बेला कहि कतै छिपेको छैन।
दुखी, पीडित जनताको न्यायका लागि नभएर व्यक्तिगत स्वार्थका लागि हो भन्ने यथार्थ यति बेला राजनीतिक दलका नेताहरुले देखाईरहेकै छन्।
यतिबेला कोही पाएको शक्ति गुम्ने खतरामा आक्रोस देखाउँदैछन्। कोही भने आगामी दिन शक्ति केन्द्रमा पुग्ने दाउमा सडक ओर्लिएका छन्, जनताको नाउमा। यति बेला राजनीतिमा भागबण्डा नमिलेकै कारण प्रमुख दलका प्रमुख नेताहरु सडक संघर्षमा छन्।
‘साना भन्दा साना जनताका माग र आवश्यक पुरा गर्न ध्यान नै दिदैँनन् राजनीतिक दलका नेताहरु,’ नागरिक समाजका अगुवा यज्ञराज शर्मा भन्छन्,‘जब आफ्नो कुर्सीका लागि भाग दौड सुरु भो, तब मात्रै नेताहरु सडकमा ओर्लिएका छन्।’
उनी थप्छन्,‘यसलाई जनताको लागि सडक संघर्ष गरेका हुन् भनेर भन्नै सकिन्न, यदि जनताको लागि हो भने, जनताको दुःख, पीडामा कहिल्यै बोले? सडकमा देखिए त?’ प्रश्न गर्दै भने,‘उखु किसान वर्षौदेखिको भुक्तानी पाउनलाई सडकमा उत्रिदा नेताहरु भने, कुर्सीका लागि सडकमा उत्रिए।’
संविधानको परिपालना र नागरिक सर्वोच्चता कायम गर्ने, जनताको आधारभूत आवश्यकताको परिपूर्ति गर्ने विषयमा नेताहरु तै चुप मै चुप हुन्छन्। देशमा ठुला मानिएका राजनीतिक दलका नेताहरु जनताको पिर मर्का र पिडा कम गरेर लोकप्रियता कमाउने भन्दा पनि दलिय स्वार्थ पुरा गर्न यति धेरै कडाईका साथ लागि परिहेका छन्। सत्ता र शक्तिका लागि नेताहरु नमिल्दा जनता, कार्यकर्ता सडकमा भिडाउने र नेता मिल्दा जनताको पिडा प्रति वास्ता नगर्ने प्रवृत्ति अहिले राजनीति हो।
नेकपाका नेता कार्यकर्ता, प्रमुख प्रतिपक्ष कांग्रेस, राजपा, नागरिक अगुवाहरु सडकमा उत्रिदाँ राजनीतिक माहोवल त तातेकै छ। शक्ति संघर्ष पनि भैरहेकै छ। राजनीतिक दलको यो संघर्षले जनताको हितमा कति काम गर्छ, यसतर्फ भने कोही कसैको ध्यान पुगेको छैन।
अहिले जस्तोसुकै सैद्धान्तिक बहस छेड्न खोजिए पनि कुनै विन्दुमा हुने राजनीतिक सहमति नै यो सब भद्रगोललाई मिलाउन सकिने उपाय भएको राजनीतिक विश्लेषकको भनाई छ। ‘राजनीतिक सहमति, सत्ता र शक्तिको सन्तुलन नै मिलन विन्दु हो,’ विश्लेषक हरिप्रसाद पौडेल भन्छन्।