कञ्चनपुर : अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।
चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
उनका अनुसार लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ।
अवैध काठसहित अटोरिक्सा चालक पक्राउ
यसैगरी प्रहरीले भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ। अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया (७ दशमलव ३९क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको हो।
अटोरिक्सामा काठसहित पक्राउ परेका सार्कीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए।