काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले बागमतीलाई २८ रनले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।
मौसमका कारण केही समय ढिला सुरु भएको खेला टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन जोड्यो। जसका लागि डोली भट्टले आक्रामक ब्याटिङ गर्दा अभिजित सर्वाधिक २८ रन जोडिन्। त्यस्तै कविता कुवँरले १९ रन बनाउँदा कविता जोशीले १२ रनको योगदान दिएकी थिइन्।
बलिङतर्फ बागमतीका लागी आरती बिडारीले ३ विकेट लिँदा निशा तामाङले १ विकेट लिइन्।
जवाफी ब्याटिङमा उत्रिएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रनमा सीमित भयो। जसमा सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
बागमतीलाई लक्ष्यसम्म पुग्न नदिन कविता जोशीले सर्वाधिक ५ विकेट तथा रितु कनौजिया, कविता कुँवर र लक्ष्मी साउदले समान १/१ विकेट लिए।
जितसँगै सुदूरपश्चिम प्रदेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै आजै जारी दोस्रो खेलमा सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको प्रदेश १ ले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गरिरहेको छ।
