काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णय निरङ्कुशतावादी तथा फासीवादी कदम भएको निष्कर्ष निकालेको छ। पुस १४ गते सम्पन्न पार्टीको स्थायी कमिटीको बैठकले यस्तो निष्कर्ष निकालेको महासचिव मोहन वैद्य 'किरण'द्वारा जारी वक्तव्यमा उल्लेख छ।
पुस ५ गते गरिएको संसद विघटन र मध्यावधी निर्वाचन सम्बन्धी घोषणा सम्बन्धि छलफलका लागि क्रान्तिकारी माओवादीले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएको थियो।
'प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटनको यो कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम हो,' बैठकले निष्कर्ष निकालेको छ, 'साथै, यो गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासीवादी कदम पनि हो।'
त्यस्तै, बैठकले अहिलेको संकटको निकास मध्यावधी निर्वाचन हुन नसक्नेसमेत दाबी गरेको छ। 'वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यस प्रकारको सङ्कटको निकास मध्यावधी निर्वाचनद्वारा हुनै सक्दैन,' बैठक पछि जारी वक्तव्यमा अगाडि भनिएको छ, 'यस सङ्कटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, सङ्घीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्तछ।'
बैठकले देशमा आन्तरिक तथा वाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको चलखेल तीव्र रुपमा बढ्दै गएको निष्कर्ष समेत निकालेको छ।
'देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गंभीर खतरा उत्पन्न भएको छ,' अगाडि भनिएको छ, 'यस स्थितिमा हाम्रो पार्टी वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित विशेष अनुरोध गर्दछ।'
