काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको भन्दै चिन्ता ब्यक्त गरेका छन्।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरामा काठमाडौंमा तेज–तीर्थ ट्रष्टले आयोजना गरेको कार्यक्रममा उनले प्रतिनिधि सभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए। उनले सरकारको कदमले देश अनिश्चितताको बाटो तर्फ गईरहेको भन्दै चिन्ता ब्यक्त गरे।
पूर्व राष्ट्रपति यादवले असंवैधानिक कदमलाई सच्याउन सबै देशबासीको जिम्मेवारी रहेको पनि बताए। अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा सबै लोकतन्त्रवादी र आफ्नो पनि आशा रहेको बताए।
यादवले २०३३ सालमा विपी कोईराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा प्रजातन्त्र, राष्ट्रियता र शान्तिको निम्ति मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए। नेपालको अहिलेको राजनीतिक अवस्थामा अन्तर्राष्ट्रिय ध्यान पनि केन्द्रीत रहेको भन्दै पूर्वराष्ट्रपति यादवले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह नगरे राष्ट्रलाई भलो नहुने बताए।
भु–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने उनको भनाइ थियो। पूर्वराष्ट्रपति यादवले राष्ट्र र राष्ट्रियताको दुरगामी प्रभावलाई विचार नगरी प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको आरोप लगाए। राष्ट्रिय शक्ति मिलेर सबै समस्याको निदान हुने भन्दै उनले मेलमिलापको नीति आजको दिनमा अझ सान्दर्भिक भएर गएको बताए।
