काठमाडौं : वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिन सक्ने छन्।
भोलि देखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए। यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ थियो।
एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशल्क सेवा लिन सकिने व्यवस्था गरिएको दहालले जानकारी दिए।
नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको समेत दहालले बताए।
अबको दुई महिना भित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइन मार्फत दिन सक्ने गरी काम भइराखेको उनले जानकारी दिए। बैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्नेछन्।
अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हटने पनि दहालले बताए।
