काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फेसबुकमा सरकारको विरोध गरेकै आधारमा आफ्नो कार्यकर्ता पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीवार विज्ञप्ति जारी गरेर कांग्रेस सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर काठमाडौं ल्याइएको घटनाको निन्दा गर्दै तत्काल रिहाई गर्न माग गरेका छन्।
‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था छ। तर त्यो कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो।’
पूर्व प्रहरीसमेत रहेका चन्दले स्थानीय एक निजी क्षेत्रको कार्यालयमा सुरक्षा गार्डका रूपमा काम गरेर परिवार पालिरहेको भन्दै विज्ञप्तिमा सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बाँचेको नागरिकमाथि देखाउन खोजेको तुजुक निन्दनीय भएको उल्लेख छ। ‘कांग्रेस नागरिकप्रतिको यो ब्यवहार सच्याउन चेतावनी दिंदै चन्दलाई तत्काल रिहाई गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
