PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

क्रिस गेल आउने भनेर जगमगाएको क्रिकेटको क्रेज बिथल्यो कोरोनाले : प्रि कोभिड ‍औसत, पोस्ट कोभिड आशाको किरण



मुकुन्द घिमिरे

क्रिस गेल आउने भनेर जगमगाएको क्रिकेटको क्रेज बिथल्यो कोरोनाले : प्रि कोभिड ‍औसत, पोस्ट कोभिड आशाको किरण

सन् २०२० मा खेल क्षेत्र ठप्प बन्यो। पछि जति खेल भए प्राय: दर्शक बिहिन मैदानमा भए। सालको अन्त्यतिर विश्वभर क्रिकेटका खेलहरु भए। तर खाली दर्शक स्टेडिएममा अटाएनन्। मैदानमा खेलाडीमा देखिए। उनीहरुलाई हौसला दिन दर्शकहरुको हुटिङ स्पिकरमा बजाइयो। विश्व क्रिकेटले विस्तारै गति लिँदै गर्दा नेपाली क्रिकेट क्षेत्रभने अझै कोरोनाकालबाट माथि उठन् सकेको छैन।

क्रिकेट नेपाली क्रिकेट टीम सहभागी हुने तालिकाहरु आउँदै गर्दा बल्ल अभ्यासमा जुटेको छ नेपाली क्रिकेट टीम। यो वर्षको क्रिकेट गतिविधिलाई हेर्न कोरोना काल अघिको वातावरण र कोरोना महामारी र लकडाउनसँगै सिर्जित वातावरणको विश्लेषण गर्नुपर्ने हुन्छ।

प्रि कोभिड क्रिकेट

प्रशिक्षकको राजीनामा

फ्रेब्रुअरी ५ बाट त्रिकोणात्मक सिरिज सुरु हुँदै थियो। त्यसको दुईदिन अघि नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएको विषयले चर्चा पायो।

आइसिसीबाट क्यान निलम्बन फुकुवा नहुँदै नियुक्त भएका मुख्य प्रशिक्षक पटवालले यो त्रिकोणात्मक सिरिज सकिएसँगै प्रशिक्षकबाट बाहिरिने निर्णय गरे। त्यसकारण पनि नेपाली टिमको प्रशिक्षकका रुपमा पटवालको यो अन्तिम सिरिज बन्यो।

पटवालको राजीनामाको कारणबारे धेरै चर्चा पनि चलेको थियो। उनी क्यान व्यवस्थापनसँग असन्तुष्ट भएको अड्कलबाजी सँगै ट्याक्सको कुरामा पनि उनी असन्तुष्ट रहेको हल्ला चलेको थियो। पटवाल आँफै भने यस विषयमा खुल्न चाहेनन्। उनले आफू करार अवधि नसकिँदै जानुमा आफ्नो व्यक्तिगत कारण भएको बताएका छन्।

घरेलु मैदानमा पहिलो ओडिआई

नेपालले एक दिवसीय खेल 'ओडिआइ' स्टाटस पाएको दुई वर्ष पुग्यो। सन् २०१८ को मार्चमा ओडिआइ राष्ट्र बनेको नेपालले त्यसपछि नेदरल्यान्डससँग पहिलो सिरिज खेलेको थियो। पहिलो एक दिवसीय सिरिजमा नेपालले बराबरी खेल्यो।

त्यसपछि युएईसँग पनि नेपालले ओडिआइ खेल्यो। तर, घरेलु मैदानमा नै एक दिवसीय खेल खेल्न भने नेपाली क्रिकेट टोलीले २ वर्ष पर्खनु परेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदै नेपाल ओडिआइ राष्ट्र बनेको थियो। निलम्बन फुकुवासँगै पहिलो पटक घरेलु मैदानमा पहिलो ओडिआइ खेल्ने अवसर नेपालले मौका पायो।

गत वर्ष माघ २२ गते कीर्तिपुरमा भएको पहिलो खेल नेपाल ओमनसँग पराजित भयो। दोस्रो खेलमा अमेरिका माथि जित निकाल्न नेपाल सफल रह्‍यो। यससँगै घरेलु मैदानमा नेपालले पहिलो ओडिआइ जित हासिल गर्‍यो।

'सशर्त' निलम्बनबाट फुकुवा भएको क्यानले पनि आफूलाई सिरिज आयोजना गरेर प्रमाणीत गर्ने अवसर पायो।

कुशल मल्लको अर्धशतक

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको पहिलो खेलले नेपाली मात्र नभएर विदेशी सञ्चारमाध्यममा पनि राम्रै चर्चा पायो। कारण थियो कुशल मल्लले बनाएको कीर्तिमानी अर्धशतक।

मल्लले ५१ बलमा ५० रन बनाउँदै नेपालको खस्कँदो पारीलाई त सम्हालेका थिए। यससँगै उनी ओडिआइ इतिहासमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने। त्यो पनि डेभ्यु खेलमै।

अझ रोचक त यो छ भने रोहित पौडेलको स्थानमा आएका मल्लले पौडेलकै रेकर्ड तोडेका थिए। मल्‍लले ५० रन बनाउँदा आफ्नो ब्याट दर्शक सामु उठाएनन्। कारण थियो – खेलमा अझै ठूलो स्कोर बनाउने महत्वकांक्षा। उनको त्यही अर्धशतकले नेपाललाई जित दिलाउन सफल भयो।

रोहित पौडेलले १६ वर्ष १ सय ४६ दिनको हुँदा बनाएको ओडिआइ रेकर्ड कुशल मल्लले १५ वर्ष ३ सय ४० दिनको उमेरमा तोडे। रोहितले युएई विरुद्धको खेलमा यो रेकर्ड बनाएका थिए।

कीर्तिमानी जित

सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पार्‍यो। ३५ रनको सानो स्कोरमा अमेरिकालाई समेट्न सन्दीप लामिछानेले ६ विकेट र सुशन भारीले ४ विकेट लिए। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा पनि यसले राम्रै चर्चा पायो।

नेपालले १२ ओभरमा नै अमेरिकालाई ३५ रनमा रोकेपछि अमेरिकाले १६ वर्ष अगाडी बनेको रेकर्डको बराबरी गर्‍यो। सन् २००४ अप्रिल २५ मा हरारेमा भएको एकदिवसीय खेलमा श्रीलंकाले जिम्बाबवेलाई ३५ रनमा नै रोक्न सफल भएको थियो। १८ ओभरको चलेको खेलमा बनेको उक्त रन हालसम्मकै सानो योगफल थियो।

यस्तै, अमेरिकालाई १२ ओभरमा मात्रै ३५ रनमा रोक्दा नेपालले एक दिवसीय क्रिकेटमा विपक्षी टोलीमाथि सबै भन्दा कम ओभर बलिङ गरेको थियो। सन् २०१७, २६ फेब्रुअरीमा अफगानिस्तानले जिम्बाबवे विरुद्ध सबै भन्दा कम ओभर बलिङ गरेको थियो। अफगानिस्तानले १३.५ ओभर बलिङ गर्दै जिम्बाबवेलाई ५४ रनमा नै रोक्न सफल भएको थियो।

इस्टर्न रिजन

विश्वभर कोरोनाको कहर शुरु भइसकेपछि नेपाली क्रिकेट टिमले सहभागिता जनाएको पछिल्लो प्रतियोगिता हो एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता। प्रतियोगितामा च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्यान्ड पुगेको नेपाली टोली फितलो प्रदर्शन गर्दै चौथो स्थानमा चित्त बुझाएको थियो। प्रतियोगितामा थाइल्यान्डमाथि जित निकालेको नेपालले मलेसिया र हङकङसँग पराजित भएको थियो। त्यस्तै अन्तिम खेलमा सिंगापुरसँग वर्षाका कारण खेल रद्द भएको थियो।

कोरोनाका कहर

कोरोनाले विश्व क्रिकेटलाई नै प्रभावित पारिरहँदा नेपाली क्रिकेट अछुतो रहन सकेको छैन। राष्ट्रिय खेलकुद परिषदको निर्देशन बमोजित क्यानले सम्पूर्ण खेल गतिविधिहरु स्थगित गरेको छ। मोटामोटी रुपमा कोरोनाले नेपाली क्रिकेटमा प्रभाव पारेका मुख्य दुई क्षेत्रहरु हुन्, एभरेस्ट प्रिमियर लिग (इपीएल) र नामिविया सिरिज।

चैत १ गतेबाट शुरुहुने भनिएको इपिएलले साग पछिदेखि नै चर्चा बटुलेको थियो। जसको कारण हो इपिएलमा भित्र्याउन चाहेका विदेशी खेलाडी। क्रिस गेल, मोहम्मद सेहेजाद, ड्वेन स्मिथ लगायतका विश्व क्रिकेटका चर्चित क्रिकेटर भित्र्याएको इपिएल निर्धारित मितिमा आयोजना हुन सकेन। जसको मुख्य कारक बन्यो कोरोना।

त्यस्तै नेपालले नामिबियामा खेल्ने भनिएको एक दिवसीय सिरीज स्थगित भयो। कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित हुन पुग्यो।

पोस्ट कोरोना क्रिकेट

कोरोना महामारीका क्रममा लकडाउन र निषेधाज्ञा चलिरहँदा नेपाली क्रिकेट मैदानमा गतिविधि भएन तर क्यानले भने आफ्नो अन्य गतिविध गरिरह्यो। बीचमा केही खेलाडीहरु व्यक्तिगत अभ्यासका लागि कीर्तिपुर मैदान पुगेपनि त्यो औपचारिक अभ्यास थिएन।

सन्दीप लामिछानेले भने यसबीचमा क्यारेवियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दा दिल्ली क्यापिटल्सबाट अनुबन्धित उनले आईपीएलमा टिम फाइनलमा पुग्दा पनि अवसर पाएनन्। हाल उनी अस्ट्रेलियामा बिगब्यास लिग खेल्न पुगेका छन्।

यसबीचमा क्यानले खेलाडीको वर्गीकरण गरेको थियो। यद्यपि यसमा विवाद देखिएपछि वर्गीकरणमा पुनर्विचार गर्नु परेको थियो। त्यस्तै महिला क्रिकेटरहरुको पनि यसपाला 'सेन्ट्रल कन्ट्र्याक' भयो।

त्यस्तै यसबिचको सबैभन्दा महत्वपूर्ण विषय भने नेपाली टिमको प्रशिक्षक रह्यो।

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नियुक्त भए। क्यानले ह्वाटमोरसँगै जेनेरल म्यानेजरमा रौनकबहादुर मल्ल, चिफ फाइनाइन्स अफिसरमा रमेश कुमार न्यौपाने र क्रिकेट म्यानेजरमा विनोद कुमार दासलाई नियुक्त गरेको छ।

त्यस्तै पछिल्लो समय युएईको टी १० लिगका लागि नेपाली क्रिकेटर करण केसी, सोमपाल कामी र कुशल मल्लले अवसर पाएका छन्। त्यस्तै पूर्वकप्तान पारस खड्का टीम अबुधावीमा मेन्टरको भूमिकामा देखिने छन्।

प्रतियोगितामा सोमपाल मराठा अरबियन्स, करण केसी पुणे डेभिल्स र कुशल टीम अबुधावी क्रिकेटबाट खेल्ने भएका हुन्।

त्यस्तै क्यानले प्रधानमन्त्री कप महिला क्रिकेट दाङको लमहीमा संचालन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell