विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीका बालसखा बताउने चन्द्रप्रसाद नेपाल यतिबेला बेसाहरा छन्। बुढेसकालमा कसैको साहरा नपाएपछि उनी सडकमा ओर्लन बाध्य भएका हुन्। १२ वर्षअघि श्रीमती गुमाएसँगै आफ्नो थातथलोमा अडिन पाएनन्।
‘खान र बस्नको ठेगान नभएको म १२ वर्षदेखि सडक र पेटीमै भौतारिरहेको छु,’ निरास सुनिए उनी। काम गर्न नसक्ने भएपछि घरबाट अपहेलित भएको र भौतारिएर हिंड्न बाध्य भएको उनको दाबी छ। यही क्रममा उनी कहले कालेबुङ पुगे त कहिले नेपाली कुटीमा।
घरमा एक छोरा, बुहारी र नाति छन्। छोरा विदेशमा। बुहारीसँग घरमा टिक्न नसकेपछि आफू झन्डै घर निकालामा परेको बताउँछन् उनी। झापाको बिर्तामोड घर भएका उनै नेपाल अहिले विराटनगरस्थित मानवसेवा आश्रमको शरणमा आइपुगेका छन्।
आश्रममा आइपुगे पछि उनी भन्दै थिए, 'म बाँचुन्जेल यही बस्न चाहन्छु।’ तेह्रथुमको आठराइमा जन्मिएका नेपाल गत पुस ९ गते बिहीवारबाट यहाँ आश्रय लिइरहेका छन्।
कनकाइ नगरपालिकास्थित सतासीधाम माइको मन्दिरबाट उनलाई उद्धार गरिएको थियो। त्यहाँ उनी मन्दिरको पेटीमा मागेर आफ्नो दैनिकी गुजारा गर्थे।
बाल्यकालको साथी प्रधानमन्त्री ओली
संयोग भनौ, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल एकै गाउँमा जन्मिएका रहेछन्। 'केपी र म मिल्ने साथी। हामीबीच तँतँ र मम चल्थ्यो,' उनले दाबी गरे।
१० वर्षको उमेरमा ओलीसँगै स्कुल टेकेको उल्लेख गर्दै नेपालले ओलीसँगको बाल्यकाल पनि सम्झे। आफ्नो साथी प्रधानमन्त्री भएकोमा दंग छन् नेपाल। नेकपाका अध्यक्षसमेत रहेका ओली पढाइमा पनि तीक्ष्ण भएको उनको अनुभव छ। भने, 'ओली पढ्नमा ट्यालेन्ट थिए।'
गट्टागुच्चा ओलीसँगै खेलेको उल्लेख गर्दै ओलीसँग कहिलेकही गाला पड्काइसमेत हुने गरेको उनले बताए। त्यसो त स्कुलबाट बेलाबेला पढाई नै छाडेर भाग्ने गरेको उनी बताउँछन्। 'हामी स्कुलबाट कक्षा छाडेर भाग्थ्यौं। खुब भाग्थ्यो स्कुलबाट केपी ओली। म पनि भाग्थें। चोर्न भाग्थ्यौं। सँगै खेल्थ्यौ,' नेपाल सम्झन्छन्, 'गट्टागुच्चा खेल्थ्यौं। एकले अर्काको गाला पड्काउँथ्यौ।'
आफ्नोभन्दा ओलीको आर्थिकस्तर त्यतिबेलादेखि नै अलि बलियो भएको नेपालको भनाई थियो उनको। 'हामीभन्दा हुनीखानी नै थिए,' नेपालले भने।
'के चिन्नुहुन्थ्यो? उहाँ त राजा भएर जानुभयो'
प्रधानमन्त्री ओलीले बालुवाटारबाट मानवसेवा आश्रमको टोलीलाई बिदा गर्दै भनेका थिए‘म देशको प्रधानमन्त्री हुँदा मेरा जनता सडकमा आश्रित हुनु अशोभनिय हुन्छ।'
प्रधानमन्त्री ओलीको सन्देश सुनेपछि उनी खुसी देखिए। 'खुसी छु, केही भन्नु छैन ओलीलाई,' उनले भने।
तीन वर्षको हुँदा उनको बुबा गुमाएका उनी ओलीको प्रगति देखेर अचम्ममा पनि परेका छन्। 'मेरो बाल्यकालको साथी अहिले प्रधानमन्त्री भएछन्। म यहाँ आश्रममा बल्ल आइपुगें,' उनी भन्छन्, 'म भने खान र बस्नको ठेगान नभएर सडक र पेटीमै भौतारिरहेको छु।' यसमा केही गल्ती आफ्नै भएको उनले स्विकारे। सानैमा बुवा गुमाएकोले आफूले सही मार्ग समात्न नपाएको नेपालको गुनासो थियो। उनी भन्दै थिए, 'बिना बाउको छोरो र बिना विषको सर्प काम लाग्दैन भन्थे। हो रहेछ।'
बाँचुञ्जेल यतै अडिने बताए पनि घरबाट कसैले लिन आए फर्कने चाह पनि रहेछ उनको। 'छोराले लिन आए त जान्छु नि। छोरा त मेरो हो। घर पनि बनाएको छ छोराले,' केही आशावादी देखिए उनी।
७७ वर्षको बताउने नेपालको आँखा कमजोर हुन थालेका छन्। तैपनि आफूले ओलीलाई चिन्ने उनी बताउँछन्। त्यसो त उनले ओलीलाई आफूभन्दा जेठो भएको दाबी गर्छन्। तर मन्त्रिपरिषद्को वेबसाइटमा राखिएको जानकारीअनुसार ओली यो फागुनमा ६८ वर्ष पुग्दैछन्।
तपाईलाई पनि त चिन्नुहुन्छ होला नि प्रधानमन्त्री ओलीले?
जवाफमा अन्कनिए उनी, 'चिन्नुहुन्थ्यो….। उहाँ त राजा भएर जानुभयो।'