PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

आजदेखि राष्ट्रियसभा बैठक सुरु हुँदै, प्रमदेखि गृहसम्म ४ मन्त्रीले पेश गर्दैछन् अध्यादेश



पहिलोपोस्ट

आजदेखि राष्ट्रियसभा बैठक सुरु हुँदै, प्रमदेखि गृहसम्म ४ मन्त्रीले पेश गर्दैछन् अध्यादेश

काठमाडौं : राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा संसद सचिवालयले राष्ट्रिय सभाको कार्यसूची सार्वजनिक गरेको छ।

अपरान्ह ४ बजे सुरु हुने राष्ट्रिय सभा सातौं अधिवेशनमा सभाका अध्यक्ष गणेश तिमिल्सेनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने पनि कार्यसूचीमा छ ।

भोलिको बैठकमा समिति गठन आदेश, राष्ट्रिय सभाका समितिहरुको गठन सम्बन्धी आदेश अनुमोदनको लागि पेश हुने छ।

बैठकको प्रारम्भमा संसदीय दलका नेताहरुले मन्तव्य राख्नेछन्।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश पेश गर्ने कार्यतालिका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी अध्यादेश पेश गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्नेछन्।

सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी, प्रतिनिधि सभाका पूर्व सदस्य ओमकारप्रसाद गौचन र राष्ट्रिय सभाका पूर्व सदस्यद्वय दिपकबहादुर गुरुङ र इन्द्रहाङ्ग लिम्बुको निधनमा शोक प्रस्तावहरु प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

राष्ट्रिय सभामा सामेल हुने सांसद तथा कर्मचारीहरुको बिहीवारै कोभिड-१९ परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell