PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फुटबलको कोरोना वर्ष : खेल थोरै, महत्वकांक्षा धेरै



मुकुन्द घिमिरे

फुटबलको कोरोना वर्ष : खेल थोरै, महत्वकांक्षा धेरै

कोरोना महामारी नफैलिँदासम्म नेपालले विश्वकप छनोट खेल्ने तयारीमा रहेकाले फुटबलको माहोल बन्दै थियो। सागको उपलब्धिले हौसिएको नेपाली फुटबलमा सिनियर टोलीले पनि लामो समयपछि घरेलु मैदानमा खेल्न पाउँदै गर्दा उत्साहित थियो। तर कोरोनाका कारण महामारी फैलिदियो। शहीद स्मारक बी डिभिजन लिग त आधामै रोकियो। र, अन्य मुख्य प्रतियोगिताहरु पनि सँगसँगै प्रभावित बने।

नेतृत्वमा देखिएको फाटो

महामारीका क्रममा लकडाउन चलिरहँदा फुटबलमा विश्वकप छनोट अन्तर्गतका खेलहरु हुने भएपछि खेलाडीलाई बोलाएर एन्फाले पीसीआर परीक्षण पनि गराएको थियो। तर पछि एएफसीले खेल स्थगित गरेपछि अभ्यास भएन र खेलाडी घर फर्किए।

यसैबीच एन्फाको राजनीति पनि निकै चर्किएको थियो। अध्यक्ष कर्माछिरिङ शेर्पाको विवादस्पद अभिब्यक्तिका कारण संसदमै उनको आलोचना भयो भने वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँग उनको दुरी बढेर गयो।

एन्फा नेतृत्वमा रहेका असन्तुष्टिहरु सामाजिक सञ्जालमा प्राय छरपस्ट देखिने गर्छन् यसबीचमा एन्फाको लफडा सामाजिक सञ्जालमै छरपस्ट भयो। यसको औपचारिक शृङखला सुरु भएको थियो एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको ‘नोट अफ डिसेन्ट’ बाट। नेम्बाङले माघ २६ गतेको वैठकमा असहमति राख्न खोज्दा अध्यक्ष र महासचिवले ‘लिखित रुपमा दिनू’ भनेपछि १३ वुँदामा विभिन्न असहमति राखेका थिए।

त्यस्तै ललितपुर एन्फाका अध्यक्ष पुरुषोत्तम थापा माथिको कारवाही पनि विवादित बन्यो। यसक्रममा अध्यक्ष शेर्पाको विवादस्पद अभिव्यक्ति लगायतलाई जोडेर उजुरी फिफासम्मै पुगेको थियो।

त्यस्तै एन्फाले कोरोनाको सङ्क्रमणसँग लड्न आफ्नोतर्फबाट केही सकारात्मक भूमिका पनि खेल्यो,  आफ्ना श्रोत साधनहरु सहयोग गरेर। पछिल्लो समय एन्फाले आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई सहयोग गर्‍यो भने एन्फाका विभिन्न संरचनाहरु केन्द्र, प्रदेश र स्थानीय तहले प्रयोग गर्न सक्ने गरी उपलब्ध गराएको छ। जसमा ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टल र रौतहटको महिला फुटबल एकेडेमीको होस्टल रहेका थिए।

यसैबीचमा नेपाली फुटबलर अभिषेक रिजाल र राजेश परियार आइलिग क्वालिफार्सका लागि भारत गए। जसमा रिजाल आबद्ध मोहम्मेडन आईलिगका लागि छनोट हुँदा उनले दुई गोल गरेका थिए।

बंगलादेश सिरिज

नोभेम्भर महिनामा नेपाली फुटबल फर्कियो बंगलादेशसँगको सिरिजबाट। कोरोना महामारी र लकडाउनको क्रममा लामो समय अभ्यासबिहीन बनेका फुटबल खेलाडीहरु एकहप्ताको छोटो अभ्यासपछि नोभेम्बरमा बंगलादेश गएका थिए। त्यसमा पनि केही पहिलो रोजाइकै खेलाडीहरुसमेत कोरोना र चोटका कारण टिममा नहुँदा पहिलो खेलमा केही नयाँ अनुहार पनि टिममा देखिएका थिए।

दुई खेलको सिरिजमा नेपाल पहिलो खेलमा पराजित भएको थियो भने दोस्रो खेल १/१ को बराबरीमा रोकिएको थियो। त्यस्तै विश्वकपको तयारीमा रहेको नेपाली टोली अहिले प्रशिक्षणमा छ। 

त्यस्तै रोकिएका लिगहरु सञ्चालनका लागि एन्फाले पछिल्लो समय भटाभट मिति तोकिरहेको छ। एन्फाले शहीद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट सुरु गर्ने तयारी अघि बढाएको छ भने बी डिभिजन लिग फागुन ११ बाट सुरु गर्ने तयारी गरेको छ। त्यस्तै माघबाट प्रदेश लिग गराउने तयारी एन्फाको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell