PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वामदेवलाई आफ्नो समूहमा ल्याउन नेकपाभित्रै दौडधुप, वामदेव भने 'पार्टी एकता राष्ट्रिय अभियान' घोषणाको तयारीमा



प्रकाश भण्डारी

वामदेवलाई आफ्नो समूहमा ल्याउन नेकपाभित्रै दौडधुप, वामदेव भने 'पार्टी एकता राष्ट्रिय अभियान' घोषणाको तयारीमा

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्र देखिएको दुई समूहबीच आफ्नो कित्ता क्लियर गरेका छैनन्। गाउँ गाउँसम्मका नेता कार्यकर्ता आ-आफ्नो गुटमा लागिसक्दा वामदेव भने पार्टी एकताकै अडानमा रहेको दाबी गरिरहेका छन्। प्रतिनिधिसभा विघटनपछि नेकपा व्यवहारिक रुपमा विभाजित भइसकेको छ। कानूनी रुपमा नेकपा र सूर्य चिह्न आफ्नो बनाउन भने नेताहरुको गुट भेला जारी छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड -माधवकुमार नेपाल र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेकपाको नाममै अलग अलग पार्टी अभ्यास गरिरहेका छन्। पार्टीको वैधानिकताका लागि यी दुई समूहबीच कानुनी लडाइँ सुरु भएको छ।

प्रचण्ड-नेपाल समूह सडक तताउने रणनीतिमा लाग्दा ओली भने चुनावको विकल्प नभएको भन्दै आफ्नो समूहका नेतालाई तयारीमा लाग्न निर्देशन दिइरहेका छन्।

कता खुल्दैछन् वामदेव?

कुन समूहमा लाग्ने भन्ने निर्णय गर्न गौतमले सकेका छैनन्। यसबीच शुक्रवार बिहानै उनले प्रचण्डलाई भेटेका छन्। करिब आधा घण्टा प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। उनले पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको बताए।

'पछिल्लो राजनीतिक अवस्थाबारे नै कुराकानी भयो,' उनले भने।

भेटमा वामदेवले प्रचण्ड समूहमा लाग्ने नलाग्नेबारे केही निर्णय नगरेको सापकोटाले बताए। 'उहाँले त्यस्तो केही निर्णय गर्नु भएको छैन्। अडान जे छ त्यही हो,' उनले भने।

केही दिन अघि कान्तिपुरको फायर साइडमा कुरा गर्दै गौतमले आफूलाई नै साथ दिने प्रचण्डले दाबी गरेका थिए। प्रचण्डले वामदेवलाई एकता सम्भव भए त्यसको तयारी गर्न आफूले भनेको बताएका छन्।

ओली समूह पनि वामदेवलाई आफ्नो कित्तामा ल्याउन प्रलोभन देखाइरहेको छ। ओली समूहका नेतापनि गौतम आफूलाई नै साथ दिने दाबी गरिरहेका छन्।

के गर्दै छन् वामदेव?

शुक्रवारको राष्ट्रियसभा बैठक सुरु हुनु अघि प्रचण्डलाई वामदेवलाई गरेको भेट महत्वपूर्ण भएको गौतम निकट नेताहरुले बताएका छन्। गौतम राष्ट्रियसभा सदस्य हुन्। भेटमा वामदेवले आफू पार्टी एकता राष्ट्रिय अभियान घोषणाको तयारीमा लागेको जानकारी दिएका थिए। यसबारे प्रचण्ड भने मौन बसे।

गौतम निकट मानिने नेकपाका केन्द्रिय समदस्य हरी पराजुलीले गौतम अझै एकताको पक्षमा रहेको बताए।

उनले अहिलेको विवाद सिद्धान्तको नभइ मनमुटाव भएको दाबी गरे। 'हामीले त अझै पनि एकता गर्नुपर्छ भनेका छौं। यस्तो अवसर फेरी कहिल्य आउदैन। यो विवाद सिद्धान्तको होइन,' उनले भने।

पराजुलीले पार्टी एकता राष्ट्रिय अभियानको तयारी भइरहेको जानकारी समेत दिए। उनका अनुसार गौतमले सोमबार अभियानको घोषणा गर्दैछन्।

'सोमबार सम्म पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछौं। हामीले त यता उता कतै नलाग्ने अडान राखेका छौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell